मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

एमाले सांसद किसान श्रेष्ठलाई कस्ले फसायो ?

दैनिक नेपाल २०७५ जेठ १ गते १९:३४

काठमाडौँ, १ जेठ । तपाईं कत्तिको फेसबुक चलाउनुहुन्छ ? फेसबुक चलाउँदा धेरै फाइदा छन्, तर त्यसले कहिलेकाँही अनेक झमेलाहरु सिर्जना गरिदिन्छ ।

यस्तै भएको छ, तनहुँका एमालेका सांसद किसान श्रेष्ठलाई ।

सबैभन्दा उनी र उनका साथीबीच भएको यो संवाद पढौँ,

एमाले सांसद किसान श्रेष्ठको फेसबुकबाट उनका साथीलाई एक्कासी म्यासेज आयो – भाई, तपाईंको मोबाइल नम्बर दिनुस् न !

साथीले नम्बर दिएपछि फेरि श्रेष्ठबाट म्यासेज आयो– भाई एउटा सहयोग गरिदिनुपर्यो !

साथी – कस्तो सहयोग भन्नुस न् !

किसान – ९८०४००६५३३ एनसेल नम्बरमा आज ५ हजार रुपैँया रिचार्ज गरदिर्यो, म भोलि फिर्ता गर्छु भाई !

साथी – हुन्छ दाई !

किसान – छिटो ल भाई !

अब किसानका साथीलाई शंका लाग्यो । उनले ट्रयू कलर नामक एपबाट जाँच गर्दा किसानको फेसबुबाट आएको नम्बरको कलरआइडी चोर भन्ने पो देखायो । साथी झस्किए ।

उनले किसान श्रेष्ठलाई फोन गरे । तर, फोन उठेन ।

अनि फेरि साथीले फेसबुकमा म्यासेज पठाए – दाई, फोन उठाउनुस् न, मैले तपाईंको पोष्टपेडमा फोन गरेको उठेन । पैसा रिचार्ज गर्दैछु ।

किसान – म रिचार्ज भएपछि फोन गर्छु नि भाई, अहिले अलि व्यस्त छु ।

साथी – खोई तपाईं किसान दाई नै होइन् भन्ने लाग्यो ।

किसान – हिही मेरो फेसबुक कस्ले चलाउँछ र ? त्यसो भए ठीक छ म अरु कोहीलाई सम्पर्क गर्छु

यो बीचमा किसान श्रेष्ठको फोन उठ्यो । उनी बैठकमा रहेछन् । जब उनका साथीले फेसबुकमा भएको संवाद बारे सुनाए, किसान आफै झसंग भए ।

तनहुँका संघीय सांसद किसान श्रेष्ठ आर्थिक रुपमा आफैमा सम्पन्न व्यक्ति हुन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका उनी राजनीतिक र सामाजिक रुपमा पनि निकै लोकप्रिय छन् । किसानले ५ हजार रुपैँयाको मोबाइल रिचार्ज गरिदिनु भन्दा नमान्ने को हुन्छ र ? झन् सांसद जत्तिको व्यक्तिले भनेपछि साथीले विश्वास नगर्ने कुरा पनि भएन् । तर, कुरा अर्कै रहेछ ।

किसानको फेसबुक ह्याक गरेर कसैले चलाइरहेको रहेछ । जब उनलाई सबैले फोन गर्न थाले, तब मात्र आफ्नो फेसबुक ह्याक भएको किसानले थाहा पाए ।

‘लौ न मलाई त सबैतिरबाट यस्तै फोन आएर हैरान भयो, के गर्ने होला ? तत्कालै प्रहरीमा खबर गर्छु ।– किसानले टेलिफोनमा भने ।

फेसबुक ह्याक गरेर कसैले चलाएका कारण तनावमा परेका किसान यतिबेला कानुनी उपचारको खोजीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित