बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

युवा क्रिकेटर सन्दिप तीन विधाको मनोनयनमा

दैनिक नेपाल २०७५ वैशाख ३१ गते १६:३९


काठमाडौँ, ३१ बैशाख । युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् ।

पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् ।

उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका छन् ।

उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनबाट शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ परेका छन् ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटा, क्रिकेटबाटै बिनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ परेका छन् ।

यी हुन् स्पोर्टस् अवार्डमा परेकाहरु :

पारस खड्का, क्रिकेट(वर्षको उत्कृष्ट पुरुष खेलाडी)
–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान
–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी
–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक
–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान

सन्दीप लामिछाने, क्रिकेट(वर्षको उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडी)
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

जगत टमाटा, क्रिकेट (वर्षका उत्कृष्ट प्रशिक्षक)
–नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्षक
–आईसीसी विश्वकप छनोटमा आठौं स्थान
–विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता
–२०७४ सालका १५ खेलमध्ये ६ खेलमा नेपालको जित

विनोद दास, क्रिकेट (वर्षका उत्कृष्ट प्रशिक्षक)
–नेपाल पहिलोपटक एसीसी यू १९ एसिया कपको सेमिफाइनल पुग्दाका प्रशिक्षक
–कुनैपनि स्तरको प्रतियोगितामा भारतमाथि पहिलो जित निकाल्ने प्रशिक्षक
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको पहिलो उपाधि दिलाउन सफल
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा नेपाल दोस्रो हुँदाका प्रशिक्षक

अवार्डको मनोनयनमा परेका अन्य खेलाडी तथा अफिसियलहरु र वर्ष २०७४ मा तिनको प्रदर्शन

वर्षका उत्कृष्ट पुरुष खेलाडी

दीपेश धामी, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभागौचनसँगै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली
–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक
–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक

इन्द्र बहादुर श्रेष्ठ, जुडो

–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक
–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी
–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

टंक बहादुर कार्की, गल्फ
–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता

 

वर्षका उत्कृष्ट खेलाडी खेलाडी

विमला श्रेष्ठ, बक्सिङ

–इन्डियन ओपन बक्सिङमा ५४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन वुमेन्स बक्सिङ च्याम्पियनसिपमा सहभागि

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

ज्ञानु अवाले, आर्चरी
–दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप, बंगलादेशमा तिलक पुन मगरस“गै रिकर्भ मिक्स टिममा कांस्य पदक
–३ पल्ट राष्ट्रिय कीर्तिमान
–लक्ष्मण श्रेष्ठ स्मृति इन्डोर च्याम्पियनसिपमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा रजत पदक

सावित्रा भण्डारी, फुटबल
–मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा १ गोल
–प्रधान सेनापति कपमा एपीएफलाई च्याम्पियन बनाउँदा ५ खेलमा २८ गोल । मध्यमाञ्चल विरुद्ध १२, पश्चिमाञ्चल विरुद्ध ८, सुदूरपश्चिम विरुद्ध ५, आर्मी विरुद्ध १, पुलिस विरुद्ध २ गोल
–अन्तर जिल्ला राष्ट्रिय फुटबलमा स्याङ्जाको क्वाटरफाइनल यात्रामा १० गोल
–माल्दिभ्सको फुटसल लिगमा उत्कृष्ट प्रदर्शन

नविता श्रेष्ठ, टेबलटेनिस
–वुमेन्स सिंगल्समा ३ सहित ५ स्वर्ण पदक
–कीर्तिमानी सातौंपल्ट राष्ट्रिय टेबलटेनिस च्याम्पियन
–पूर्णमान बज्राचार्य स्मृति, ठमेल ओपन च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा सफलता

वर्षका उत्कृष्ट युवा खेलाडी

दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड

मनिता श्रेष्ठ प्रधान, जुडो

–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक ।
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी

पुनम रावल, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि

वर्षका उत्कृष्ट प्रशिक्षक

छिरिङ लोप्साङ गुरुङ, फुटबल

–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका प्रशिक्षक
–मनाङ मर्स्याङ्दी क्लबले दुहवी गोल्डकप जित्दाका प्रशिक्षक
–इटहरी गोल्कडप र मदन भण्डारी स्मृति गोल्डकपको उपविजेता

प्रकाश थापामगर, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा पुनम रावल र विमला श्रेष्ठले कांस्य पदक जित्दाका प्रशिक्षक
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक
–एसियन पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपाली टिमका मुख्य प्रशिक्षक

जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टिमका मुख्य प्रशिक्षक
–योनेक्स सनराइज नेपाल सिरिजमा १ रजत र १ कांस्य पदक विजेता नेपाली टिमको ३ मध्येका १ प्रशिक्षक

प्रतिक्रिया
सम्बन्धित