बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

तपाईको जीवनबाट खुसी हर्ने यी हुन् प्रमुख कारणहरु

दैनिक नेपाल २०७५ वैशाख ३० गते १४:१२

काठमाडौँ । हरेक मानिस खुसीका साथ जीवन बिताउन चाहन्छ । आफ्नो जीवनलाई सुखी बनाउन नै मानिसहरु दिनरात तल्लीन हुन्छन् । धेरै मानिसहरुले विलासितालाई खुसीसँग दाँज्छन् । तर निकै गरिब मानिस पनि खुुसी हुन सक्छ र निकै सुखमय जीवनयापन गर्ने मानिस दुःखी पनि हुन सक्छ । मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवनयापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धीत हुन्छ ।

फिनल्याण्ड विश्वमा सबैभन्दा बढी खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँका मान्छेहरु भने पूर्णरुपमा खुसी छैनन् ।

हामी भित्र रहेका सकरात्मक र नकारात्मक पक्षले हाम्रो खुसीलाई प्रभाव पार्छ । प्रेम, आदर, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवन खुसी लयाउँछ भने नकरात्मक भावनाहरु जस्तै घृणा, रिस, इर्श्या, इख, गुनासो आदिले हामीलाई दुःख दिन्छ ।

मानिसलाईृ दुखी बनाउने प्रमुख कारणहरु

महत्वाकांक्षा

लक्ष्मी प्रसाद देवकोटाले हामीलाई चन्द्र छुने लक्ष्य लिनको लागि प्रेरणा दिएका छन् । जसको अर्थ हामीले जीवनमा ठूला इच्छा चाहना तथा लक्ष्य राख्नु पर्छ भन्ने हो । वास्तवमा त्यसले नै जीवनमा प्रगतितर्फ लैजान्छ । तर कतिपय अवस्थामा मानिसहरुमा आफ्नो लक्ष्यमा पुग्न नसक्दा निराश हुने तथा दुःख लाग्ने हुन्छ । यो सामान्य पनि हो तर यो लामो समयसम्म रहन हुँदैन । असफलतालाई आत्मसाथ गर्न नसक्दा जीवन दुखी हुन जान्छ ।

अहम्

खुसीको ठूलो शत्रु हो, अहम् । अहमले मानिसको व्यक्तित्व विकासमा असर पुर्‍याउँछ । यसले व्यक्तिको छविलाई पनि खल्बल्याउँछ । यसले मान्छेलाई डिप्रेशनमा धकेल्छ । अहम्ले व्यक्तिलाई म मात्रै सही र अरु सबै गलत भन्ने भावना ल्याउँछ । अन्ततः यसले आत्मग्लानी महशुस गराउँछ । जसले दुखी बनाउँछ ।

गुनासो

गुनासो गर्ने बानीले मनलाई अस्वस्थ बनाउँछ । गुनासा गर्नेले सधैँ अरुलाई नै दोष दिने गर्छ । हरेक कुरामा गुुनासो गर्ने मानिसले प्रगति गर्न सक्दैन । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । यसले उसलाई एक्लोपनतिर धकेल्छ । जसले अन्ततः कुरा खेलिरहने, टाउका दुख्ने हुँदै डिप्रेशनसम्म पुग्छ ।

इख

एउटा उखान छ, ‘विष नभएको सर्प र इख नभएको मानिसको काम हुँदैन’ भन्ने । हो मानिसमा केही गर्ने इख हुनुपर्छ तर त्यो ईर्श्यामा परिणत हुनुहुँदैन । यस्तो प्रकारको इखले पनि आफैँलाई समस्यामा पार्छ । कसैले निरुत्साहित बनाउने प्रयास गर्‍यो भने उसलाई देखाउनकै लाथि इख लिइयो भने चाहीँ त्यसले सकारात्मक रुप लिन सक्छ । तर यसले व्यक्तिको मन दुख्नु हुँदैन । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आएमा भने त्यसले रिस बढाउँछ । र हामीलाई खुसी हुनबाट रोक्छ ।

रिस

रिस उठ्नु स्वाभाविक प्रतिकृया हो । तर अनावश्यक रिसाउने मान्छे भने जीवनमा सधैँ दुखी भएको पाइन्छ । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौँ । तर, ऊ आफैँसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहीँ ठोक्काउनु भएको थियो होला अन्जानमा । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो ।

खुसी हुन के गर्ने ?

असफलतालाई आत्मसाथ गर्ने

दुखी भइन्छ भनेर जीवनमा महत्वाकांक्षा नराख्ने गर्नु हुँदैन । तर कुनै पनि लक्ष्य प्राप्तिको बाटोमा असफलता हुन पुगेमा निराश हुनु हुँदैन । जीवनमा सधैँ सफल भइदैँन भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्छ । र असफलताको पाठ सिकेर त्यसलाई सामर्थ्यमा बदल्नु पर्छ ।

सहयोगी बन्ने

जीवनमा एकपटक कसैलाई निश्वार्थ रुपमा केही सहयोग गरेर हेर्नुहोस् त्यसले एक प्रकारको खुसी ल्याउँछ । सहयोग पाउने भन्दा सहयोग गर्ने मानिस बढि खुसी हुन्छ । अझ कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैँलाई भएको हुन्छ । सहयोगले आत्मबल बढाउने र खुसी ल्याउँछ ।

माफ गर्ने

जसले कसैले माफ गर्न जानेको हुन्छ त्यसले नै माफि पाउँछ । गल्ती जीवनमा हरेक मानिसहरुबाट हुन्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर भएका गल्तीले दोस्रो व्यक्तिको मन दुखेको हुन्छ । आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहोर्‍याउने गरी माफी दिने गर्नुपर्छ । माफि दिने मानिसमा गल्तीको आत्मग्लानी कम हुन्छ । यसले अझ जिम्मेवार पनि बनाउँछ । यसले मनलाई हल्का बनाउँछ ।

सन्तुष्ट हुने

सन्तुष्टि नै खुसीको प्रमुख मुल हो । आफूले प्राप्त गरेका कुरामा धन्य हुँदा मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौँ होला मनैदेखि धन्य हुन भने छाडेका छौँ । धन्य भएमा खुसी भइन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

उदारता

मनलाई जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ । उदारता भएको व्यक्तिमा माथिका सबै गुण हुन्छन् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित