मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

डिल्लीबजार मालपोतमा लालबाबुको छड्के

दैनिक नेपाल २०७५ वैशाख ९ गते १८:०१


काठमाडौँ, ९ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन् ।

मन्त्री पण्डित, संघीय मामिला मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्री पण्डितका स्वकीय सचिव वासिम आलम सम्मिलित टोली बिहान १०.२० बजे मालपोत कार्यालय डिल्लीबजारमा पुग्दा ९ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री छड्केमा पुगिसकेपछि २ जना कर्मचारी आइपुगेका थिए ।

जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती गरेको गुनासो आउन थालेपछि मन्त्री पण्डितले आइतबार मालपोत कार्यालय डिल्लीबजारको छड्के गरेका हुन् ।

अनुगमनका क्रममा ३० जना कर्मचारीमध्ये नौ जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ । मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए । अनुगमनपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए ।

मन्त्री पण्डितले कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कामकाज सन्तोषजनक नदेखिएकाले आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिएका छन् ।

उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । राष्ट्रसेवक र जनता दुवैको गुनासो सुनेर सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने आवश्यकता रहेकाले सार्वजनिक रुपमा आएका गुनासालाई परीक्षणका रुपमा छड्के अनुगमन गरिएको मन्त्री पण्डितले प्रष्टाए । उनले जनतालाई ठगेर खाने जो कोही कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए ।

अनुगमनका क्रममा डिल्लीबजार मालपोत कार्यालयका कामु प्रमुख केशव न्यौपानेले कर्मचारी अपुग भएको गुनासो र सर्भर बिग्रिरहने भएकाले अनलाइन सिष्टमले काम नगर्दा ढिलासुस्ती हुने गरेको बताएका थिए ।

अनुगमनमा सहभागी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले अनुगमनका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्न आवश्यक प्रकृया अगाडि बढाइने बताए ।

प्रतिक्रिया
सम्बन्धित