बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

पुनका मुख्य सहयोगी मल्ललाई सार्वजनिक

दैनिक नेपाल २०७५ वैशाख ७ गते १३:४९

बुटवल, ७ वैशाख । प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा बुधबार राति काठमाडौँमा पक्राउ परेका मल्ललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मल्लले आपराधिक गतिविधि र रकम असुलीका लागि पुनलाई विभिन्न व्यक्तिको सूचना उपलब्ध गराएको तथ्य फोन संवादबाट पाइएको प्रहरीले बताएको छ । युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र नेता वसन्त पौडेल बलुको हत्या तथा हत्यापश्चात् आन्दोलनका सूचनासमेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ ।

यस्तै प्रहरी मुठभेडमा मारिएका गुन्डा नाइके पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेल बलुको हत्या पुन समूहले गरेको थियो । रुपन्देही प्रहरीका अनुसार पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ ।

यसअघि प्रहरीले बुधबार बिहान इलाका प्रहरी कार्यालय बुटवलमै पत्रकार सम्मेलन गरी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका रुपन्देही देवदह–४ का लेखनाथ न्यौपाने, युथ फोर्स रुपन्देहीका पूर्व नेता बुटवल–७ का उत्तम आचार्य, मोहिनी हाइजिन मदिरा उद्योगका अध्यक्ष बुटवल–४ का हरिप्रसाद श्रेष्ठ, देवदह–५ का तुल्सी न्यौपाने र देवदह–६ का रोशन खड्कालाई प्रहरीले सार्वजनिक गरेको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित