शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

‘गजकेशरी’ देउवाले कसलाई देलान् उपसभापति र महामन्त्री ?

श्रेष्ठ, निधि, गच्छादार उपसभापतिको दौडमा, कार्की र खड्का महामन्त्रीको लिगलिगमा

दैनिक नेपाल २०७५ वैशाख ७ गते १२:५७

काठमाडौं, ७ वैशाख । स्थगित नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबारका लागि डाकिएको बैठक आइतबारका लागि सारियो । बैठक सानेपामा सुरु हुनुअघि मनोनित गर्नुपर्ने पदाधिकारीका लागि नेताहरूले लिगलिग दौड थालेका छन् । चाबी सभापति शेरबहादुर देउवाको हातमा छ ।

कांग्रेसको विधानले यसै पनि सभापतिलाई शक्तिशाली बनाएको छ, त्यहाँमाथि देउवा ‘गजकेशरी’ योग लिएर जन्मिएका कारण उनको निर्णयमा विपत्ति आउने संकोच छैन । तर चुनावअघि एकीकरणमा आएका तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारको व्यवस्थापन देउवाका लागि चुनौति बनिरहेको छ ।

गच्छादारले उपसभापतिमा दाबेदारी गरेका छन् । देउवा सोही पदमा आफ्ना प्रिय र सँधै सँगै रहेका नेता विमलेन्द्र निधिलाई नियुक्तिको तयारीमा छन् । प्रतिनिधि सभाको चुनावमा गठबन्धन गरेको दल राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई धनुषा–३ मा हटाउने निधिको अनुरोध रोक्दै देउवाले उपसभापतिको पद उपहारका रूपमा दिएका थिए ।

यता वरिष्ठताको हिसावले उपसभापतिमा गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । लामो समयसम्म देउवासँगै रहेको र अन्य भन्दा उमेरमा पनि पाको भएकाले उपसभापति आफुले पाउनुपर्ने उनको दाबी छ । बुढानिलकण्ठको वैकल्पिक निर्णय आफुलाई मान्य नहुने श्रेष्ठले बताउँदै आएका छन् । निकटवर्तीसँग उनले भनेका छन्,‘अबको उपसभापति मैले पाउनुपर्छ । आगन्तुक र भाईहरूले यो पद लिने बेला भएको छैन ।’

उपसभापति र एक महामन्त्री देउवाले आफ्ना गुटबाट नियुक्त गर्ने प्राधिकार बाँडफाँटमा नै पाइसकेका छन् ।

उता महामन्त्रीमा पनि एक जना चयन गर्नका लागि देउवालाई फलामको च्युरा चपाउनु सरह बनेको छ । अघिल्लो पटक सह–महामन्त्री रहीसकेका पूर्णबहादुर खड्का क्याम्पमा आइसकेका छन् । यो क्याम्पबाट महामन्त्री आफु बन्नुपर्ने खड्काको दाबी रहेको छ । तर नेपथ्यमा बसेर देउवाको दुनोलाई भ्वाङ पर्न नदिने ज्ञानेन्द्रबहादुर कार्की सभापतिका प्रिय हुन् । यहाँ पनि नेताको पदीय व्यवस्थापनमा देउवालाई चुनौति छ ।

सह–महामन्त्री भने पौडेल पक्षलाई दिनुपर्ने दाबी गरिए पनि देउवालाई आफ्नै सम्हाल्न कठिन बनेको छ । आफ्ना बनाउँदा डा. प्रकाशशरण महत कि मिनबहादुर विश्वकर्मा भन्ने दुविधामा उनी रहेका छन् ।

‘पदाधिकारी नियुक्ति यहि बैठकले गर्ने हो । अहिले नेताहरूको बोल्ने क्रम नै नसकिएका कारणले कहिले हुन्छ भन्ने मुस्किल छ ।’, देउवानिकट केन्द्रीय सदस्यले भने,‘चुनावी समिक्षा, पार्टीको कमजोरी र नेतृत्वलाई अझ कसरी सबल बनाउने भन्ने विषयमा बहस जारी हुनेछ ।’

चुनावको समग्र परिणाममा कांग्रेस बामपन्थी गठबन्धनको नेक टु नेक आउन नसकेपछि अल्पमतमा पर्नुको कारणबारे बैठकमा छलफल जारी छ ।

प्रतिक्रिया
सम्बन्धित