मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

‘विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ’

दैनिक नेपाल २०७५ वैशाख ६ गते २३:०३

विराटनगर, ६ वैशाख । प्रदेश नं. १ को बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताउनुभयो ।

सरिता थापाले संंखुवासभाका तीन स्थानीय तहलाई राष्ट्रिय सडक यातायातको सञ्जालसँग जोड्नुपर्नेमा जोड दिनुभयो । वसन्त बानियाँले मेची नदीमा तटबन्ध निर्माण गरी छेउमा सडक विस्तार गर्नुपर्ने तथा झापामा हात्ती नियन्त्रणका लागि दीर्घकालीन व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभयो ।

नारायणबहादुर मगरले सप्तरीको भेडिया–उदयपुर–नाम्चे सडकलाई राष्ट्रिय योजना आयोगमा राख्नुपर्ने तथा नदी नियन्त्रण व्यवस्थापन गर्र्नुपर्ने बताउनुभयो । शिवनारायण गनगाईले रतुवा तथा बक्राहा नदीको बाढी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

रामचन्द्र लिम्बूले धनकुटाको सुन्तला खेतीका किसानलाई अनुदान दिनुपर्ने र झापाको गौरादह वडा नं १ र ६ सडकलाई कालोपत्रे गर्नुपर्ने बताउनभयो । विष्णु तुम्बाहाम्फेले युरोपियन संघले निर्वाचन सम्बन्धमा दिएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ । –रासस

प्रतिक्रिया
सम्बन्धित