बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले आफ्नै खर्चले गराइ दिए

दैनिक नेपाल २०७५ वैशाख ६ गते २२:३८

तस्वीर: सृजा थापा/रासस

बारा, ६ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीलाई आफ्नो व्यक्तिगत खर्चबाट बिहीबार विवाह गराइदिएका छन् ।

महागढीमाई–५ स्थित कवहीजब्दीमा यही वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा, नगद र खाद्यान्न सामग्री जलेर नष्ट भएपछि दुलहीको परिवार बिचल्लीमा परेको थियो । स्थानीयवासी रामविश्वास रामकी १९ वर्षीया छोरी रेखाकुमारीको विवाह कलैया उपमहानगरपालिका–१६ का २१ वर्षीय शिवपूजन रामसँग धार्मिक परम्परानुसार विवाह भएको हो । नयाँ वर्षको दिन अपराह्न भएको आगलागीबाट स्थानीय २८ जनाको घरमा भएको अन्नपात, लत्ताकपडा र नगद जलेर नष्ट भएको थियो ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवले कार्यपालिका सदस्यको बैठक बोलाई करीब रु पाँच लाखमा विवाहको चाँजोपाँजो मिलाइदिनुभएको थियो ।
आगलागी पीडितको विवाह गर्न पाउँदा आफ्नै छोरीकै विवाह गर्न लागेको जस्तो महसुस भएको नगर प्रमुख यादवले बताउनुभयो । आफ्नो सम्पूर्ण सरसामान आगलागीबाट नष्ट भएपछि नगर प्रमुखलगायत जनप्रतिनिधिले गरेको सहयोग आफूले कहिल्यै नर्बिसिने बेहुलीका बुवा रामविश्वासले बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित