मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सेयर बजार निरन्तर उकालो, एक हप्तामा ४ अर्बको कारोबार

दैनिक नेपाल २०७५ वैशाख ६ गते १९:२४


काठमाडौं, ६ बैशाख । आइतबार १२७७.५५ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन १३८८.३१ अंकमा पुगेको छ । साताभरमा नेप्से परिसूचक एक सय दश अंकले उकालो लाग्दा कारोबार रकम पनि उल्लेख्य बढेको छ ।

अघिल्लो हप्ता ५ दिनमा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि हुँदा यस हप्ताका अन्तिम २ दिनमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

साताभरमा भने ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । बुधबार र बिहिबार अर्ब माथिको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम उकालो लागेको हो ।

बिहिबार आधा घण्टामा १७ अंकले उकालो लागेको सेयर बजार अर्को आधा घण्टा भित्र १८ अंकले घटेको थियो । तर अन्तिम तिन घण्टा बजार उकालो लाग्दा नेप्से परिसूचक २५.३० अंकले बढेर १३८८.३१ अंकमा पुग्यो ।

बिहिबारको बजारको वृद्धिलाई अन्य उपसूचकले लिड ग¥यो । नेपाल टेलिकमको सेयर ५.६० प्रतिशतले उकालो लाग्दा अन्य उपसूचक सबैभन्दा धेरै ३.९७ प्रतिशतले उकालो लाग्यो ।

सेयर बजारको वृद्धिलाई सोमबार र मंगलबार इन्स्योरेन्स र माईक्रोफाइनान्सले उचाल्दा बुधबार हाइड्रोपावर र होटेलले उचालेको थियो । बिहिबार इन्स्योरेन्स ०.७४ प्रतिशत, माईक्रोफाइनान्स ०.८५ प्रतिशत, होटेल १.०४ प्रतिशत र हाइड्रोपावर २.७ प्रतिशत उकालो लाग्यो ।

यस्तै साताको अन्तिम कारोबार दिन उत्पादनमुलक ०.३४ प्रतिशत, फाइनान्स ०.४६ प्रतिशत, बिकास बैंक १.०३ प्रतिशत, बैंकिङ उपसूचक २.०८ प्रतिशतले उकालो लाग्दा ट्रेडिङ उपसूचक १.०६ प्रतिशतले ओरालो लाग्यो ।

प्रतिक्रिया
सम्बन्धित