बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

दुई सय महिला बेचेका सुनबहादुर साधारण तारेखमा रिहा !

दैनिक नेपाल २०७५ वैशाख ६ गते १५:३६


काठमाडौँ, ६ बैशाख । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वाेच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गएको चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो ।

पटक–पटक पक्राउ परेपनि पैसा र पावरका कारण छुट्ने गरेका तामाङ यो पटकपनि जेल बस्नु नपर्ने भएको छ । नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो ।

त्यो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो । पक्राउपछि उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ ।

तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । उनी विरुद्ध २०७२ कात्तिक १८ गते दर्ता भएको मानव बेचबिचन तथा ओसारपसार मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ । पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो ।

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन् । २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनी विरुद्ध मुद्दा दायर भएको थियो । २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यो मुद्दामा समेत उनी धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित