मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

सरकारी ठूला अस्पतालमा शल्यक्रिया गर्न एक वर्षको ‘लाइन’

दैनिक नेपाल २०७५ वैशाख ६ गते १०:५०

काठमाडौं, ६ वैशाख । वीरसहितका अस्पतालमा सामान्य शल्यक्रियाका लागि छ महिनासम्म बिरामीले कुर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्रका लागि ठूलो रकम छुट्याए पनि सर्वसाधारणहरूले छिटो छरितो तरिकाबाट सेवा पाउन नसकेका हुन् । कर्मचारी र राजनीतिक नेतृत्वको लापरबाहीका कारण यस्तो अवस्था आएको हो ।

चिकित्सकको सिफारिस बमोजिम शल्यक्रिया गर्नुपर्ने बिरामीको समयमा नै उपचार हुनुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

‘केही अस्पतालको शल्यचिकित्सासम्बन्धी विवरण माग गरी विश्लेषण गर्दा कान्तिबाल अस्पतालमा हर्निया, हाइड्रोसिलको शल्यक्रिया गर्न १२ महिनासम्म, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाठेघरको शल्यक्रिया गर्न ३ महिनासम्म, वीर अस्पतालमा सामान्य शल्यक्रिया गर्न ६ महिनासम्म, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको शल्यक्रिया गर्न २ महिनासम्म पर्खनुपर्ने स्थिति छ’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

भौतिक पूर्वाधारको तुलनामा बिरामीको चाप अधिक रहेकाले यस्तो स्थिति रहेको अस्पतालले जनाएका छन् ।

अस्पतालले समयमा नै सेवा दिन नसकेका कारण बिरामी उपचारको लागि निजी अस्पताल जानुपर्ने अवस्था रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले सुधार गर्नु जरुरी रहेको सुझाव दिएको छ ।

यसैबीच, वीर अस्पतालभित्रको बेथित रोक्न माग गरेर कर्मचारीहरूले प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन् ।

उनीहरूले बुधबार सबै निकायमा वीर अस्पतालभित्रका चरम आर्थिक अनियमितता र बेथिती रोक्न माग गरेर ज्ञापन पत्र बुझाएका हुन् ।

वीर अस्पतालभित्र राजनीतिक संरक्षणमा केही कर्मचारी र ट्रेड युनियनका नेताहरूले ठूलो आर्थिक चलखेल गर्दै आएको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित