सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

बालुवाटारमा एमालेको स्थायी समिति बैठक जारी

दैनिक नेपाल २०७५ वैशाख ३ गते १८:४७

काठमाडौँ, ३ बैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विशेष गरेर एमाले–माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा माओवादी केन्द्रसँग अहिलेसम्म भएको पार्टी एकीकरण प्रक्रिया र प्रगतिका विषयमा छलफल हुनेछ । वैशाख ९ गते पार्टी एकीकरणको कुरा भएकाले सो विषयमा ठोस निर्णय लिनका लागि स्थायी समितिको बैठक बोलाएको नेताहरुले बताएका छन् ।

बैठकमा केही दिनभित्रै बस्ने पोलिट व्युरोको बैठकका एजेण्डाका विषयमा पनि छलफल हुनेछ । साथै सरकारको कामकारबाही र भावी योजनाका बारेमा पनि छलफल हुनेछ ।

सोमबार बिहान मात्र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २ घण्टा लामो छलफल भएको थियो । दुई नेताको छलफलमा भोली बिहान ९ बजे एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमालेको स्थायी समिति बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित