सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गीत, ६ हजार बढीले अवलोकन गरे महोत्सब

दैनिक नेपाल २०७५ वैशाख ३ गते १८:२०


-भरत प्रधान

लिस्बन, ३ बैशाख । पार्क वरपर नेपालका झण्डाहरु सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्वीरहरु टांगिएका छन् ।

नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । दर्शकदीर्घाबाट हजारौं नेपाली तथा विदेशीहरु त्यहाँ भइरहेका गतिविधि हेरिरहेका छन् ।

छातीमा हात, साथमा नेपाली राष्ट्रिय झण्डा । ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’, बोलको राष्ट्रिय गीत गुञ्जिरहँदा देशप्रेमले सहभागीको मुटु ढक्क फूलेको महसुस हुन्थ्यो । एकपछि अर्को गर्दै नेपाली राष्ट्रियतासँग जोडिएका गीतहरु घन्किरहँदा दर्शकदीर्घामा सहभागीहरु कहिले नाचिरहेका देखिन्थे त कहिले गीतको तालमा ताल मिलाइरहेका देखिन्थे । यो दृश्य त्यसभित्रको कुनै कार्यक्रममा हुँदो हो त सामान्य जस्तै लाग्ने थियो होला । तर, यो दृश्य सात समुद्रपारि युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आइतबार देखिएको हो ।

नेपालीको परिचयसँग जोडिएका विभिन्न वेशभूषामा सजिएकाहरु लिस्बनस्थित मार्तिम मुनिज पार्कमा भेला भएर नेपाली महोत्सव मनाइरहँदा प्रवासमा रहेर पनि नेपाल मै भए जस्तै धेरैले अनुभूत गरे । नेपाली मात्रै होइन विदेशी नागरिकहरु समेत दर्शकदीर्घामा रहेर नेपाली महोत्सव नियालिरहँदा आयोजक संस्था भने यो कार्यक्रमले नेपाल र नेपालको परिचय विदेशीमाझ चिनाउन केही भएपनि योगदान दिन सकेकामा मख्ख देखिन्थे । महोत्सव वरपर राखिएका स्टलहरुमा विदेशीहरुले चासोका साथ नेपाली उत्पादन र नपाली पर्यटनको अध्ययन तथा अवलोकन गरिरहेका थिए ।

उक्त महोत्सवमा दौरा सुरुवाल, गून्यू चोलो, चौबन्दी चोलो, सारीमा मात्र हैन मगर, तामाङ, शेर्पा, नेवारी, गुरुङ वेशभूषालगायतका थरिथरिका वेशभूषामा सजिएका नेपालीहरु देखिन्थे ।

यो दृश्य नेपालीहरुका लागि सामान्य जस्तै लाग्ने भएपनि विदेशीहरुका लागि भने फरक र अनौठो दृश्य थियो । नेपालीहरु जस्तै विदेशी नागरिकहरु पनि चाख लाग्दो तरिकाले यी र यस्ता थुप्रै दृश्यहरु मुग्ध हेरिरहेका देखिन्थे ।

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ पोर्चुगलले पहिलोपटक आयोजना गरेको नेपाली महोत्सवमा विदेशीहरुले उत्साहका साथ अवलोकन गरेका हुन् । नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले विदेशी भूमि पोर्चुगलमा नेपाली महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा ‘यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ’ र ‘बिर्सेको छैनौं हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौंला’ भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरु नेपाली झण्डा फहराउंदै नाचिरहेका देखिन्थे ।

यस्तै, ख्यातिप्राप्त लोकदोहोरी गायक जेबी वलीले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरुलाई छमछमी नचाएका थिए । महोत्सवमा तामाङ सेलो, कौडा, किराँती , नेवारी र थारु नृत्य लगायतका मौलिक नेपाली लोक सँस्कृती झल्कने खालका नृत्यहरु प्रस्तुत गरिएको थियो । भने हातमा पूजाको थाली र वाद्यवादनको धुनसँगै दर्शकदिर्घाबाट मञ्चमा प्रवेश गरि पूजा सँगै शुरु भएको मारुनी नृत्यले सबैको ध्यान खिचेको थियो ।

विदेशीहरुलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको संघका अध्यक्ष कुबेर कार्कीले बताइ । महोत्सवको नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ ।

महोत्सवको उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले नेपाली कला र लोक संस्कृति र पर्यटन प्रवद्र्धनका लागि विदेशी भूमिमा नेपाली महोत्सव आयोजना हुनु नेपालीहरुका लागि गर्वको विषय भएको बताए ।

महोत्सवले नपालको पर्यटन उद्योग प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन दूत रमेश कुमार गुरुङले बताए । महोत्सवमा पोर्चुगलबाट नेपालका लागि वाणिज्यदूत एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमालल सँघका उपाध्यक्ष गोबिन्द सापकोटा, महिला उपाध्यक्ष बिष्णु लुईटेल, महासचिव निराजन सुवेदी लगायतले नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित