सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

निजी क्षेत्रद्वारा पहिलो पटक टायर उत्पादन, चार प्रकारका टायर उत्पादन

दैनिक नेपाल २०७५ वैशाख ३ गते ६:५४

विराटनगर, ३ वैशाख । नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगको साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ ।

मोरङको कटहरी गाउँपाकिलामा भारतीय कम्पनीको साझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।

कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेकाछन् । तत्काल ट्रयाक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका टायर उत्पादन गरिरहेको छ ।

पूर्णतः ट्युवलेस रहेको ग्रिन टायरका उत्पादनहरूमा ‘लिक्विड’ पनि हाल्नु पर्दैन । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुन्छ ।

सुरुमा कम्पनीले ४ प्रकारका टयुवलेस वार्षिक २ लाख थान उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका प्रबन्धक बिनित सिँघानियाले बताए । २ वर्षमा ४ र पाँच बर्षमा ६ लाख र त्यसपछि २० लाख थान उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको उनले जानकारी दिए ।

देशभरिका विभिन्न स्थानमा १ सय २० मोटर साइकल तथा त्यत्तिकै सङ्ख्यामा ट्रयाक्टर, स्कुटी र थ्री ह्विलर्समा टायर जडान गरेर तीन महिनासम्म सबै प्रकारका परीक्षण सम्पन्न गरेपछि मात्र टायरलाई बजारमा पठाइएको छ ।

प्रबन्धक विनीतका अनुसार ग्रीन टायरले डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गर्नेछ । जसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याई सकिएको छ ।

उद्योगले उत्पादन थालेका टायरहरु औपचारिक रुपबाट बजारमा डेल्टा ब्राण्डबाट बिक्रि बितरण हुन थालिसकेका छन् । प्रबन्धक सिँहानियाका अनुसार हाल मोटरसाइकल, तीन चक्के र चार चक्के सवारी साधानका टयुवलेस टायरहरु नेपालका बिभिन्न बजारमा पुगिसकेका छन् ।

निजी क्षेत्रबाट पहिलो पटक खुलेको ग्रीन टायर उद्योगमा भारत गुजरातको फयुचर टायर उद्योगको ३५ र नेपालको औधोगिक घराना विशाल ग्रुपको ६५ प्रतिशत लगानी रहेको छ । सेन्चुरी बैंकको सहयोगमा उक्त्त उद्योग ५० करोडको लगानीमा स्थापना भएको हो । उत्पादन बढेसँगै लगानी बिस्तार गरेर पाँच बर्ष भित्रमा दुई सय ५० करोड पु¥याउने उद्देश्य कम्पनीको छ ।

अर्ध स्वचालित मेसिन रहेको ग्रीन टायर उद्योगमा हाल नेपालका ६५ कामदार कार्यरत छन् । उत्पादन बढेसँगै उद्योगमा दुई वर्षभित्र कामदारको संख्या एक सय २५ पुग्ने प्रबन्धक सिँघानियाले बताए ।

ग्रिन टायरले कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ । तर सिङ्गापुर, मलेसिया र अफ्रिकाको ग्याभोनबाट पनि कच्चा पदार्थ पैठारी गर्न सकिन्छ । यसैले कच्चा पर्दाथकालागि भारतको मात्र भरपर्नुपर्ने बाध्यता उद्योगलाई छैन । सस्तोमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्न सकेमा उत्पादित टायरहरु भारतीय बजारमा पनि निर्यात गर्न सकिने संभावना उच्च छ ।

प्रतिक्रिया
सम्बन्धित