सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

ओली र प्रचण्डको मौनतामा लुकेको छ अर्को ‘सरप्राइज’

बाम एकताको धमिरा हल्ला बन्यो ‘जनयुद्ध’ र ‘संख्या’ समानता

दैनिक नेपाल २०७५ वैशाख २ गते ११:३५

काठमाडौं, २ वैशाख । अर्को साता घोषणा गरिने भनिएको बामपन्थी एकतामा मार्ग निर्देशक सिद्धान्त र संख्याको धमिरा हल्ला चलाइएको छ ।

नेकपा एमाले र नेकपा माओवादीले ९ वैशाखमा एकता घोषणाको तयारी गरिरहँदा मिति सर्नसक्ने बताउन थालिएको छ । खासगरी एकता संयोजन समितिमा रहेका नेताहरूको विरोधाभाषपूर्ण प्रतिक्रियाका कारण यस्तो हल्ला चलेको हो ।

एकता घोषणा गर्ने मितिमा कुनै कठिनाई भने छैन । एकता संयोजन समितिको बैठक बस्न नसक्दा मात्र यस्तो हल्ला भएको एउटा कार्यदलका सदस्य वेदुराम भुसालले बताइसकेका छन् । उनले भनेका छन्,‘संयोजन समितिको बैठक बस्न नसकेका कारणले ९ वैशाखमा एकता घोषणामा समस्या पर्ने हो की भन्ने मात्रै हो ।’

यता एकता पछि आफ्ना हैसियत र नेतृत्वमा समस्या आउन सक्ने भएपछि विभिन्न कोणबाट संशयको काम भइरहेको छ । ठूला भ्रातृ संगठनको अवस्था कस्तो हुने भन्ने चिन्ताले पनि विभाग इञ्चार्जहरू र संगठनका प्रमुखहरूमा संशय पैदा भएको हो ।

एकतापछि आफ्नै भविष्य धरापमा रहेको माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले जनयुद्धलाई मार्ग निर्देशक सैद्धान्तिक कडी बनाउनुपर्ने दबाब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु राखेको छ । यसका लागि युवा विभाग हेरिरहेका पार्टीका नेता मणि थापा र वाइसीएल अध्यक्ष दिपशिखाले प्रचण्डको आइतबार ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने, केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । उनी भन्छन्,‘माओवादीको सान र इतिहास नामेट हुनेगरी गरिने एकताको औचित्य हुँदैन भन्ने सन्देश दिएका छौं । संख्यामा पनि बराबरी चाहिन्छ ।’

माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय कमिटीमा रहने संख्यामा अहिले कुरा मिलेको छैन । एकता संयोजन समितिको बैठक बस्न नसक्दा विवाद कायम रहेका छन् । एकता संयोजन समितिलाई विवाद टुंगो लगाउनका लागि बनेको कार्यदलले भने प्रस्ताव तयार पारिसकेको छ । उक्त प्रस्तावमा जनयुद्धलाई पनि उल्लेख गरिएको छ ।

के छ ओली-प्रचण्डको अर्को सरप्राइज ?
यता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले एकताका विषयमा पनि सरप्राइज दिने तयारी गरेका छन् । चाँडो भन्दा चाँडो एकता संयोजन समितिको बैठक डाकी एकै दिनमा सबै टुंगो लगाएर ९ वैशाखमै पार्टी एकीकरण घोषणाको तयारी ओली–प्रचण्ड लागेका छन् ।

बालुवाटार स्रोतका अनुसार सबै विषयमा प्रचण्डसँग मौखिक सहमति भइसकेको छ । जनयुद्धलाई सिद्धान्त भन्दा पनि कम्युनिष्ट आन्दोलनको मुख्य कडी बनाउनका लागि एमाले तयार भइसकेको छ । संख्यात्मक हैसियत भने चुनावी तालमेलका आधारमा नै तय हुनेछ ।

‘जिल्ला, प्रदेश र केन्द्रको हैसियतका आधारमा केन्द्रीय कमिटिको संख्या निर्धाणको गृहकार्य भएको छ । लगभग कुरा मिलिसकेको छ । नयाँ सरप्राइज सबैले देख्न पाउने अवस्था छ ।’, बालुवाटार स्रोतले भन्यो,‘एमाले र माओवादीले चुनावमा पनि त्याग गरेरै सहमतिका आधारमा जसरी अगाडी बढ्ने आधारविन्दु भेट्यो, एकता संयोजन समितिको बैठकमा पनि त्यसरी सहमति जुट्नेछ ।’

प्रधानमन्त्री ओलीको व्यस्त सेड्युल र प्रचण्डको स्वास्थ्य अवस्थाका कारणले एकता संयोजन समितिको बैठक बस्न नसकेको उल्लेख गर्दै खुमलटार स्रोतले भन्यो,‘एकताका खाकाहरू आइसकेका छन् । त्यसमा सहमति जुटाउनका लागि लामो समय लाग्नेछैन ।’ एकता घोषणामा एमाले र माओवादीका सबैजसो शिर्षस्त नेताहरूको उपस्थितिलाई अनिवार्य गर्नका लागि गृहकार्य भइसकेको छ । स्रोतले भन्यो, ‘एकीकरण ९ वैशाखमै गर्न ओली–प्रचण्ड सहमत छन् ।’

यता एकता घोषणा गर्ने मितिका विषयमा भने ओली र प्रचण्डले मुख खोलेका छैनन् । उनीहरू निकट नेताहरूका अनुसार ‘दुवैको मौनतामा फरक सरप्राइज’ लुकेको हुनसक्छ । ‘हल्ला जे चले पनि भनेको समयमा एकता घोषणा गरेर लोकलाई छक्क पार्नसक्ने योजन पनि हुनसक्छ’, उनीहरू भन्छन् ।

प्रतिक्रिया
सम्बन्धित