सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

सुराकीका नाममा यति ठूलो रकम खर्च, गृह मन्त्री र सचिव मालामाल

दैनिक नेपाल २०७५ वैशाख २ गते ७:५७

काठमाडौं, २ वैशाख । सुरक्षा निकायमा हुने असीमित खर्चले गर्दा राज्यको ढुकुटीमा ठूलो नोक्सानी हुन पुगेको छ । महालेखा परीक्षककको प्रतिवेदनले देखाएको तथ्याङ्कले सुरक्षा निकायमा सुराकीका नाममा हुने अपादर्शी खर्चले ठूलो प्रश्न उब्जाएको हो ।

महालेखाको प्रतिवेदनअनुसार गृह मन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसनधान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षभित्र २ करोड १७ लाख खर्च गरेका छन् । यो रकमले के कति परिणाम आयो त्यो भने देखाइएको छैन ।

गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । २२ वर्षअघिको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुराकी खर्च हुँदै आएको छ । यो रकमका बारेमा बेलाबेलामा कुरा उठे पनि सुनुवाई हुन सकेको छैन ।

गृह मन्त्रालय अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ । सुरक्षा अवस्था देखाएर उनीहरूले सो रकम आफूअनुकूल खर्चंदै आएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को ०५० साल जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृह मन्त्रीले एक पटकमा ५० हजार, गृह सचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो ।

त्यही निर्णयलाई टेकेर आर्थिक वर्ष ०७३÷७४ मा सुराकीको नाममा गृह मन्त्रीले ६१ लाख, गृह सचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेको महालेखा प्रतिवेदनले औंल्याएको छ । गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित