सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

जुम्लाका धुर्ब बुढाले उठाए धनगढी हाफ म्याराथनको उपाधि

दैनिक नेपाल २०७५ वैशाख १ गते १६:५७

धनगढी, १ बैशाख । धनगढी जेसिजद्वारा आयोजित ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि जुम्लाका धुर्ब बहादुर बुढाले प्राप्त गरेका छन् । निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पूरा गरेका हुन् ।

उपाधीसँग बुढाले नगद ५१ हजार प्राप्त गरेका छन् । फेसबुकमार्फत बैशाख १ गते धनगढी दौडने सुचना पाएका बुढाले निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो बनाएको बताए । ‘जुम्ला निकै विकट छ, प्लेन मार्फत आउन निकै खर्चिलो छ’ उनले भने, ‘गाडीबाटै दुःख गरेर आएको, अहिले सबै दुःख बिर्सेको छु । यो जित निरन्तरको प्रयास र दृढ विश्वासले दिलाएको हो ।’

बुढाले एसिएन गेमको छनोटमा भागिलिने इच्छा रहेको बताए । ‘सन् २००८ देखि निरन्तर दौडिदै आएको छु, एसियन गेमको छनोटमा पनि दौडन चाहान्छु’ उनले भने, ‘सुचना नै पाइएन र आउने जाने भाडा नै भएन भने मात्रै रोकिन्छ होला नत्र छनोटमा दौडने धोको छ ।’

नेपाली सेनाका हरि रिमालले १ घण्टा ८ मिनेट १ सेकेण्ड र नेपाली सेनाकै लालबहादुर थापाले १ घण्टा ८ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै क्रमशः द्वित्तीय र तृतीय भए । रिमालले २५ हजार तथा थापाले १५ हजार रुपैयाँ हात पारे । रिमाल अघिल्लो संस्करणका विजेता समेत हुन् । त्यस्तै कर्पोरेट तर्फको पाँच किलोमिटर दौडमा भीम चौधरी प्रथम, सिद्धराज जोशी द्वित्तीय र मनमोहन विष्ट तृतीय हुनुभयो । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ हात पारे ।

अघिल्ला संकरणमा विभागीय टोलीको बर्चस्व रहदै आएको उक्त दौड प्रतियोगितामा यस पटक भने जुम्लाका बुढाले बर्चस्व तोड्न सफल भए । उनी हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका म्याराथन धावक हुन् ।

प्रतिक्रिया
सम्बन्धित