सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

अप्पा भिल्लाको कथा– आउला त नेपालमा विदेशी लगानी ?

दैनिक नेपाल २०७५ वैशाख १ गते ११:५२

‘वोऊ! दिस इज इट ।’ नगरकोटको डाँडाबाट सुनौलो सूर्योदय हेर्दै उत्तरका हिमश्रृंखला तर्फ नजर दौडाउँदा हान्सको मुखबाट एक्कासी वाक्य निस्कियो । हान्स होफर जर्मन नागरिक हुन् । सन् १९६९ मा उनी पहिलो पटक नेपाल घुम्न आए । काठमाडौं, ललितपुर र भक्तपुर घुमेर उनी नगरकोट पुगे । विहान सबेरै होटलको वेटरले ढोका ढकढक्याएपछी उनी सूर्योदय हेर्न निस्किए । सुनौलो क्षितिजबाट विस्तारै माथि आएको कलिलो सूर्य र घामको किरणले चाँदीका हिमालमा सुनको टोपी लगाइदिए झैँ झलल्ल झल्केको दृष्यले उनी आफू कहाँ छु भन्ने विर्से । फेरि नीलो आकास मुनी सगरमाथा देखि धौलागिरी सम्म हिमालको पानरोमिक दृष्यले उनलाइ यस्तरी लठ्यायो कि उनले संसारको सबैभन्दा सुन्दर ठाउँ यहि हो भनि ठाने । जति हेरे पनि त्यो दृष्यले उनको आँखा अघाएन । अन्तमा उनी यति भावुक बने, तत्क्षण उनले अब यै रमणीय ठाउँमा बस्छु, यहीँ केहि गर्छु र बाकी जीवन यहीँ विताउँछु भनि घोषणा गरे ।

अर्जुन पाण्डे, लेखक

नेपालमा बस्ने प्रवन्ध मिलाउन आफ्नो भक्सवागन राजपरिवारका एक सदस्यलाइ बेचेर अन्य काम टुंग्याउन उनी सिंगापुर गए । त्यतिबेला उनी इनसाइड गाइड (पर्यटकीय बर्णन) लेख्दै थिए । उनी पर्यटन गाइड लेख्ने सिद्धहस्त लेखक पनि हुन् । सो पुस्तकको नेपाली संस्करण (१९७०) सबैभन्दा बढी बिक्री हुने पुस्तकमा गनियो । यसमा सुन्दर नेपालको धक फुकाएर बर्णन गरका छन् उनले । नेपालको पर्यटन विकासमा उक्त पुस्तकको भूमिका उल्लेख्य रहेको पनि छ । सिंगापुरमा प्रकाशनको कामलाइ विट मारेर उनी फेरि नेपाल आए ।

अप्पा भिल्ला रिसोर्ट

नगरकोट, घुलिखेल र नमोबुद्ध पटक पटक पदयात्रा गर्दा बाटोमा पर्र्ने फूलबारी गाउँ हान्सलाइ सबै दृष्टिले मन पर्यो र यहि ठाउँलाइ आफ्नो कर्मथलो बनाउने अठोट गरे । आफ्ना सपनाहरू सजाउँदै उनी आफ्नी जीवन साथी सिन्थीयाका साथ बसोबासको तैयारीमा जुटे । हान्स पर्यटन प्रवद्र्धनका अभियन्ता थिए भने सिन्थीया अर्गानिक तरकारी खेतीका पारखी थिइन् । अब सुरू भयो यो जोडीको स्वप्निल परियोजना अर्र्गाीनक फार्म र रिसोर्ट । यस बीच धेरै पटक जर्मनी, सिंगापुर जाने आउने काम भयो र अन्तमा १९९६मा विधीवत स्थापना भयो, अप्पा भिल्ला रिसोर्ट र अर्गानिक हिमालय फार्म । अब यो युगल जोडीले दिन रात केही भनेन । छिट्टो लक्ष प्राप्त गर्ने महायज्ञ सम्पन्न गर्ने यात्रामा दुःख कष्ट झेल्न र परिश्रम गर्न कुनै कसर बाँकी राखेन । अथक परिश्रम र लगनले उनीहरू केहि बर्ष मै फुलबारी गाउँको त्यो ठाउँलाइ साँच्च्ीकै फूलबारी बनाउन सफल भए । २ । ३ बर्षमै फूलबारीको त्यो सानो थुम्को धर्तीमा खसेको स्वर्गको एक टुक्रा देखिन थाल्यो ।

अप्पा भिल्ला अर्गानिक फर्म रिसोर्ट इको टुरिजमको एउटा अनुपम नमूना थियो । पर्यटकहरू के मा रमाउँछन् र कस्तो ठाउँमा खान, बस्न मनपराउँछन् भन्ने कुरा हाँँन्सलाइ कसैले सिकाउनु परेन । 

अप्पा भिल्ला अर्गानिक फर्म रिसोर्ट इको टुरिजमको एउटा अनुपम नमूना थियो । पर्यटकहरू के मा रमाउँछन् र कस्तो ठाउँमा खान, बस्न मनपराउँछन् भन्ने कुरा हाँँन्सलाइ कसैले सिकाउनु परेन । आफै विज्ञ थिए उनी र अनुभवी पनि । रूची अनुसार पाहुनाहरूलाइ तीन किसीमका सुत्ने कोठाहरू बनाइए । फार्म हाउसः हरियो तरकारी बारीले घेरियो । केभ हाउसः भित्ता खोपेर कोठाहरू बनाइयो । सन हाउसः संपूर्ण घाम लाग्ने शिसाको घर बनाइयो । बाहिरबाट हेर्दा स्थानीय शैलीका चिटिक्क परेका कटेजहरू तर भित्र सबैमा आधुनिक सुविधाले सम्पन्न ।

टाढा देखि पानी ल्याएर स्विमीड पुल बनाए । पोखरीमा माछा, अर्गानिक तरकारी बारी, स्याउ, भोगटे, अम्बा, नासपाती, कागती, आरू, आरूबखडा तथा स्थानीय बेली चमेली, चुवा देखि सुनाखरी र गुराँसको फूल…के के थिए ? भन्नु भन्दा पनि के थिएनन् भन्नु पर्ने….साँच्चैको नमुना, नेपालको पहिलो एकिकृत पर्यटनको स्वरूप बन्यो । अब जर्मनी, फ्रान्स, इङ्ल्याण्ड र समग्र यूरोपबाट पर्यटकहरू आउने, रमाउने क्रम बढ्यो भने अर्कातिर विषदी रहित तरकारी सिंगापुर सम्म बिक्री हुन थाल्यो । विहान ५ बजे यहाँ टीपेका तरकारी ९ बजे एयरपोर्ट ल्याइपुराएर भोलिपल्टको विहान सिंगापुरको भान्छामा पुगिसक्ने व्यवास्था मिलाएको दिन सम्झििन्छीन् सिन्थीया । उनी भन्छिन् हवाइजहाजको भाडा थोरै कम गर्न सके सिंगापुर, मलेसिया र इन्डोनेसीया सम्म नेपाली तरकारी पुराउन सकिन्छ । उच्च पहाडी भेगमा उब्जेका तरकारीको स्वाद विश्वमै अनुपम छ । एक पटक यो तरकारी चाखेको ग्राहक पून त्यहि तरकारी खोज्छन् । नेपाली तरकारी विश्व बजारमा लान सकिन्छ ।

काला रातहरू

५० को दशकमा देशमा चलेको द्वन्द्वले हान्स र सिन्थीयाको सपना माथि यस्तो बज्र प्रहार भयो, शायद उनीहरूले यस्तो दिन आउला भनि सोचेका थिएनन् । एक रात पर्यटकहरूले भरिभराउ रिसोर्टमा एक हुल हतियारधारी आए र पर्यटकका क्यामरा, व्याग, साथमा रहेका पैसा सबै लुटेर लगे । पछिल्ला रातहरूमा झनै आतंकित पार्ने कामहरू भए । जब रात पर्दथ्यो, हान्स सिन्थीया आँत्तिन्थे ।

उनीहरू आफ्नो कोही नभएको असहाय भए । र एक रात, करोडौंको लगानी, बर्षाैंको मेहनत पसिना र आफ्ना सारा अधुरा सपनाहरूलाइ अलपत्र छाडेर, भारी मन र आँखाभरी आँसु लिएर, आशंका पीडा र अनिश्चित भविष्यको कालो बादल भित्र पसे ।

द्वन्द्वका दुबै पक्षबाट उनीहरू नराम्ररी सताइए । पटक पटकका यस्ता घटनाहरूले बास बसेका पाहुनाहरू आतंकित मात्र पारिएनन्, हान्स र सिन्थीयालाइ आफ्नै जीउ ज्यान पनि असुरक्षित भएको महसुस हुन थाल्यो । अब के गर्ने ? त्यो गाउँमा उनीहरूको पीडा र आत्माको आर्तनाद न त कसैले सुन्यो न त ढाडस दिने नै कोही भयो ।

न कसैबाट सुरक्षा पाए न त कुनै निकायबाट सहयोग र संरक्षण नै । उनीहरू आफ्नो कोही नभएको असहाय भए । र एक रात, करोडौंको लगानी, बर्षाैंको मेहनत पसिना र आफ्ना सारा अधुरा सपनाहरूलाइ अलपत्र छाडेर, भारी मन र आँखाभरी आँसु लिएर, आशंका पीडा र अनिश्चित भविष्यको कालो बादल भित्र पसे । उनीहरू फुलबारी छाडेर काठमाडौं आइ बसे । यहाँ रहँदा पनि आतंकित पार्ने काम भैरह्योे र अन्तत उहिरू पुनः सिंगापुर तर्फ उडे । एउटा अथक कर्मी मौरीको जोडीले रूँदै रूँदै नेपाल छाड्यो ।

मैले जे देखेँ

पर्यटन क्षेत्रमा काम गर्दा अप्पा भिल्लाको बारेमा अनि हान्सले छोडेर गएको केहि समय पछी यो पीडादायी घटनाको बारेमा मैले सुनेको थिएँ । रिसोर्टको संरचना लथालिंग हुनु भन्दा अगाडी नै कसैले सम्हाल्न सके यत्रो मेहनत र संरचना खेर जाने थिएन । यस्तै खबर म कहाँ पनि आइपुग्यो र म हेर्न गएँ । हान्सले छाडेको डेढ बर्ष भएको रहेछ । परिसर हेर्दा लाग्दथ्यो, कलिलैमा अभिभावक गुमाएका लालाबालाको जस्तै हालत भएछ अप्पा भिल्लाको । बर्षौं लगाएर बनाएको भवन भुइँचालोको एकै धक्कमा गल्र्याम गुर्लुम ढलेझैं दश बर्ष लगाएर बनाएको संरचना डेढ बर्षमै भताभुंग भएछ ।

अर्गानिक तरकारीबारी गाइ चर्ने चउर बनिरहेको, स्वीमीड पुलको पानी सुकेर स्थानीय गाउँलेले दिसा पिसाप गर्न प्रयोग गर्ने ठाउँ बनेको, फलफुलका बोटहरू ठुटा मात्रै बाँकी रहेको, माछा पोखरीहरू सुख्खा खोपिल्टा मात्रै, जताततै घाँस उम्रेर खण्डहर बनेको रिसोर्टको हालत मन थामेर हेरिसक्नु खालकै थिएन । त्यत्रो लागनी र दशौं बर्षको त्याग तपस्या र दुःखले श्रृजना गरेको बस्तुको बेहालत देख्दा जोसुकैको पनि मन रहँदैन नै । रिसोर्ट देखभाल, संरक्षण गर्ने स्थानीय एक बासिन्दा भेटिए जो सशंकित, मलिन र निरास देखिन्थे । उनीसंग लामो कुराकानी पश्चात हान्सको संपर्क ठेगाना दिन राजी भए । अन्तमा उनले भने, “यसलाइ कसैगरि सम्हालीदिने व्यवस्था भए हुन्थ्यो हजुर, हान्स सर र म्याडमको त्यत्रो दुःखले बनाएको यो बर्बाद हुने भयो ।”

हान्स र सिन्थीयासँगको भेट

त्यहि बर्ष (२०१०) मा एउटा मिशनसंग यो विषय पनि मिलाएर सिंगापुर गएँ । हान्सले अप्पा भिल्ला बिक्री गर्ने मन गरेको चर्चा पनि सुनेको थिएँ त्यसैले त्यहाँ उनीहरूसंग भेट्ने योजना थियो मेरो । भोलिपल्टै फोन संपर्क गरेँ । पहिले त उनले भेट्न चाहेनन् । नेपालबाट आएका कोहीसंग भेट नगर्ने गरेका रहेछन् उनले तर मैले आफू पनि पर्यटन क्षेत्रमा काम गर्ने बताएपछी, लामो सोधपुछ गरेर भेट्ने समय मात्र मिलाएनन् लन्चको निम्तो पनि दिए उनीहरूले । हामी (बलराम सुवेदी र म) उनले भनेकै रेष्टुरेण्टमा पुग्यौं । हार्दिकता पूर्वक परिचय साट्यौं । आफूले कथा जस्तै सुनेका हान्स र सिन्थीयालाइ अगाडी पाउँदा एक किसिमको रोमान्चकता भरिएको थियो शरीर र मनभरी ।

लन्च पछी मैले अप्पा भिल्लाको कुरा सुरू गरेँ । मैले भिल्ला हेरेर आएको कुरा मात्र के गरेको थिएँ, सिन्थीयाले एकैचोटी कैयौँ प्रश्नका बर्षा गरिनः ए हाम्रो तरकारी बारी कस्तो छ हँ ? अनि माछा के भयो होला ? फलफूल कस्ले टिप्यो के के भयो ? फुलका बोटमा पानी हालेकाछन् कि नाइ ? कुनै चेलीले आफ्नो माइती गाउँबाट आएको कोहि भेट्दा अनेकन अबोध र स्नेही भाव देखाएर एकोहोरो सोधे झैं प्रश्न गरिरहेथिइन् उनी । तर अफसोच, उनका एक एक प्रश्नले मेरो मस्तिष्कलाइ तीरले झैं रोपिइरहेका थिए । ति सबै प्रश्नका उत्तरहरू मेरो क्यामरामा कैद भएकै थिए तर मैले ति तस्बीरहरू उनलाइ देखाउन सकिन । म कसरी भनुँ तिम्रा माछा पोखरी सुकिसके भनेर, कसरी म भनुँ तिम्रो स्विमड पूल फोहरको कन्टेनर बनेको छ भनेर, गोठालाले खुला सौचालय बनाएका छन् भनेर, तिम्रा फलफूलका बोट मरिसके, अब ठुटा मात्र बाँकी छन् भनेर । मेरो लरबरीएको जवाफले उनको अनुहार मलिन र गला अवरूद्ध हुन थाल्योे ।

हामी अहिले संविधान बनाउँदैछौं, आजको नयाँ पुस्ताले देश निर्माणको मर्म बुझेका छौं । उनी कड्किए, कसरी गर्छन काम नेपालीहरू ? तिमीहरूको एउटा हातमा चियाको गीलास हुन्छ, आर्को हातमा पत्रिका । दुबै हात बन्द, अनि मुख चाहिँ चलेको हुन्छ । यही हो तिमीहरूको काम गर्ने मोडल । यसरी हुन्छ काम ? 

फेरि हान्सको पालोे, के अपराध गरेका थियौं हामीले र हामीलाइ यत्रो सजाय दियौ तिमीहरूले ? धुलिखेल देखि नमोबुद्ध सम्म दुइ सय वटा त्यस्ता भील्ला निर्माण गर्ने, युरोपका रिटायर्ड धनाढ्यहरूलाइ पालै पालो हिमालको दृष्य र प्राकृतिक मनेरम बासस्थानमा बसाउने योजना थियो मेरो । लगानी गर्नेहरू तैयार थिए, नक्साहरू बनिरहेका थिए, नमुना कामको थालनी मैले गरेको थिएँ । उच्च पहाडी गाउँहरूमा उब्जेको ताजा अर्गानिक तरकारी सिंगापुर, मलेसिया, इन्डोनेशीया सम्म पुगिसकेका थिए र थप सहज ठाउँहरूमा पुराउने प्रवन्ध मिलाउँदै थिएँ म । सिंगै किताब लेखें मैले मेरो योजनाको बारेमा ।

आज मानिसहरू सोधिरहेछन् । के जवाफ दिने मैले ? हालत यस्तो बनाइदियौ मेरो तिमीहरूले । मेरो उर्जाशिल समय खर्च गरेको छु तिम्रा डाँडा पाखामा । तर आज …..? उनका आँखा पुनः भरीए । अग्लो बाँध फुटेर एक्कासी बाढी आए जस्तै पोखिए उनी हामी माथि । कहिले भक्कानिन्थे त कहिले सम्हालिएर सम्झाउन खोज्थे । मैले थोरै प्रष्ट पार्ने पयत्न गरें, वास्तवमा त्यस्तो होइन । अब नेपालमा त्यस्तो दिन छैन । हामी अहिले संविधान बनाउँदैछौं, आजको नयाँ पुस्ताले देश निर्माणको मर्म बुझेका छौं । उनी कड्किए, कसरी गर्छन काम नेपालीहरू ? तिमीहरूको एउटा हातमा चियाको गीलास हुन्छ, आर्को हातमा पत्रिका । दुबै हात बन्द, अनि मुख चाहिँ चलेको हुन्छ । यही हो तिमीहरूको काम गर्ने मोडल । यसरी हुन्छ काम ? फेरि उनी सम्हालिँदै भन्छन्, हेर तिम्रो देश स्वर्ग जस्तै सुन्दर छ । त्यसलाइ सक्छौ अझ राम्रो बनाउ, नसके पनि नराम्रो बन्नबाट चाहिँ रोक । प्लिज ।

हामीसंग कुनै तर्क र कुरा थिएनन् जसले हान्स र सिन्थियाको दुखेसो र सिकायतलाइ टाल्न सकोस । अन्तमा उनीहरू सामु मैले बाचा गरेँ, तपाइँहरूमाथि जे जस्तो दुःख आइलाग्यो त्यसको लागि हामी क्षमा चाहन्छौं । त्यो हाम्रो देशको अति असामान्य र विशेष परिस्थिती थियो साथै यति कुरा विश्वास दिलाउन चाहन्छु कि अब नेपालमा त्यस्ता दिन आउने छैनन् । नेपालको डाँडाकाँडामा अर्गानिक खेतीसंग जोडेर नबीनतम पर्यटनको विकाश गर्ने तपाइहरूले जुन मिशन बनाउनुभयो त्यसलाइ पुनर्जिवीत गर्न हामी लाग्नेछौ । तपाइँहरूलाइ ससम्मान नेपाल बोलाउने छौं । तपाइँहरूको सोच र सपना पूरा गराउन हामी पनि साथमा हुनेछौं । यति भनेर हामीले उनीहरूसंग विदाइका हात मिलायौँ ।

धेरै बर्ष अघिको नभए पनि ती दिनहरू आज मेरा मनसपटलमा ताजै छन् । तत्पश्चातका दिनहरूमा हामीले धेरै बशन्तहरू पार गरिसकेका छौं । देशका गणतन्त्र, नयाँ सम्बिधान आइसकेको मात्र होइन तीनै तहको निर्वाचन समेत सम्पन्न भै स्थायी सरकार बनिसकेको छ । मेरो मनमा उहि प्रश्न दोहरिरहेको छ, के अपा भिल्ला फेरि उठ्ला ? के हान्स र सिन्थियालाइ ससम्मान फिर्ता ल्याउन सकिएला ? के हाम्रो त्यो बिगतलाइ सम्बोधन नगरि देश विकाशका लागि लगानी भित्राउन सकिएला ?

आज २०७५ बैशाख १ गते नयाँ बर्षको उमंगले सबैतिर तरंग ल्याएसँगै देशका प्रधानमन्त्री कर्णालीलाई पर्यटनको केन्द्र बनाउने उद्घोष गर्न रारा ताल पुग्नुभएको छ । विश्वास गर्न सकिन्छ स्थायी सरकारको वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्ने मन्त्री पनि अत्यन्त उर्जावान हुनुहुन्छ । हाम्रो पर्यटन बिकासका पूर्वाधारहरू चुस्त हुनेछन् र यो हिमाली देश सन्सारका पर्यटकको रोजाइ हुनेछ । हामी गर्वले भन्न सकौं, आउ हान्स सहकार्य गरौं । हाम्रो रमणीय हिमाली देशमा पुनः त्यस्ता भिल्लाहरू बनाउन बनाऔं । आउ सिन्थिया हाम्रा उच्च पहाडी पाखामा अर्गाीनक खेति गरौं । आशा गरौं त्यो दिन आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित