सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

कुञ्जना भन्छिन्– आमाको करङ भाँच्चिएपछि समाज सेवा थाल्यौं

विवाह गर्दिन भनें, बुवाले घरको तला थप्नुभयो

विनोद ढकाल २०७५ वैशाख १ गते ११:२४

विनोद ढकाल/दैनिक नेपाल

काठमाडौं, १ वैशाख । ‘तपाईहरू धमाधम काभ्रे र सिन्धुपाल्चोकको बस्ती सम्पन्न गर्न लाग्नु भएको छ । अब सीताराम कुञ्जनाको योजना कस्तो छ ?’ करिब २ वर्षअघि कुञ्जना घिमिरे (सुन्तली)लाई यो प्रश्न सोध्दा उनको उत्तर थियो,‘अहिले हामी बस्ती निर्माणमा व्यस्त छौं, भविष्यमा कस्तो काम गर्ने भन्ने योजना बनाएका छैनौं । माइन्ड इज टोटल्ली ब्ल्याङ्क !’

वास्तवमा त्यस्तो योजना बनाइएको भए न महोत्तरीमा मुसहरका लागि बन्थ्यो नमूना बस्ती न रौतहटमा गरिब र दलितका लागि आवासको काम । योजनाले कामको मेसो नदिने भएकाले थालेको काम पुरा गरी अर्को योजनामा सक्रिय हुने गरेका छन्, यो जोडी । मंसिरमा पाकेको धान काट्ने गराको मेलोजस्तै ।

समाजसेवाको तस्बिर दुनियाँले देखेकै हुन् । तर यहि जोडीको कमेडी पनि चलिरहँदा मेलोडी पनि चलेको थियो । लाइफ इज ब्युटिफुल ! भनेजस्तै जीवनका नीजि भोगाई पनि सुन्दर थिए, छन् ।

ललितपुरको चापागाउँमा जन्मिएकी कुञ्जनाको जीवनसँग मात्र होइन, हरेक कर्मसँग जोडिन्छन् उनका फिल्मी र जीवनकै जोडी सीताराम कट्टेल (धुर्मुस) । कलाकारिता यात्राका क्रममा बनेकोे जोडी समाजसेवाको दृष्टिले झन् चर्चामा छ ।

महाभूकम्पदेखि सुरू भएको समाजसेवाको यो यात्रा अहिले क्रिकेटको अन्तर्राष्ट्रिय रङ्गशालाको जग्गा खोज्नेसम्ममा जारी छ । यसबीच तीन नमूना बस्ती बनाइसकेका छन् यो जोडीले । उनीहरूले समाज सेवाकै लागि सीताराम कुञ्जना फाउण्डेशन नै खडा गरेका छन् ।

उहाँ सलमान खान होइन, म ऐश्वर्य राय पनि थिइनँ । सोझो मान्छे । हामी एउटा डमी सिरियल लौन सतायो भन्नेमा थियौं । उहाँ प्रडक्सन हेर्नुहुन्थ्यो । म कलाकार थिएँ ।

चर्चाका लागि नभएर नेपाली परिवेशलाई अझ प्रभावकारी र व्यवहारवादी बनाउने लक्ष्यमा समाजसेवामा लागेको कुञ्जना बताउँछिन् । १६ असार ०४१ मा ललितपुरको चापागाउँमा जन्मिएर झापाका सीताराम कट्टेलसँग विवाह बन्धनमा बाँधिएकी कुञ्जनाको संगत, प्रेम र एरेन्ज म्यारिज सीतारामँगै भयो । उनको डेटिङ नै सुटिङ स्पोट हुने गरेको थियो । ‘त्यसरी स्पेशल डेटिङमा गइएन’, उनी भन्छिन् ।

टिभीमा देखिन मन लाग्ने । ऐना हेरेर हिरोइन बन्छु भन्ने रहरे । स्कुलमा नाटक गर्ने सौखले उनलाई काँचको पर्दा हुँदै ठूलो पर्दासम्म पुरायो । ‘०५९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरी करिअर सुरू भयो ।’, उनी भन्छिन् ।

करिअरका दौरान सीतारामँग उनको भेट भएको थियो । तर, भेट हुनासाथ लभ इन फस्र्ट साइड भने उनीहरू दुवैमा भएको थिएन । विवाहकै चरणमा पुग्दासम्म भने प्रेम भएको थियो भन्ने हेक्काचाहीँ उनले राखेकी रहिछन् ।

‘मेरो प्रेम विवाह नै हो । उहाँ पनि ०५९ सालमा कला क्षेत्रमा प्रवेश गर्नुभएको रहेछ । मेरी बास्सै भन्दा अगाडि । ६० को अन्त्य र ६२ भन्दा अगाडि भेट भयो । मलाई लभ इन फस्ट साइड पनि भएन । देख्नासाथ त्यस्तो हुन उहाँ सलमान खान होइन, म ऐश्वर्य राय पनि थिइनँ । सोझो मान्छे । हामी एउटा डमी सिरियल लौन सतायो भन्नेमा थियौं । उहाँ प्रडक्सन हेर्नुहुन्थ्यो । म कलाकार थिएँ’, रोचक प्रसङ्ग सुनाउँदै उनी थप्छिन्,‘मान्छे भेट्नासाथ ठीक लाग्यो तर लभै भन्नेचाहिँ परेन । उहाँको पनि घरव्यवहार धान्नुपर्ने, मैले पनि धान्नुपर्ने हुन्थ्यो । साथी भयौं पहिले । उहाँ एकदम कर्मशील मान्छे । राम्रो साथी लाग्थ्यो । हामीलाई जिस्क्याइदिने । ल बाहुनी तेरा लागि ठीक छ भन्ने भयो । २/३ वर्षभित्र हामी प्रेममा बस्यौं ।’

विवाहपूर्व सीतारामँग उनको सबै कुरा सेयर भइसकेको रहेछ । समस्यामा पारस्परिक सहयोग गरेका थिए । विस्तारै विवाहको तयारीमा पनि जुटिरहेका आइडल जोडीको लगनगाँठो सामान्य हिसाबले नै जोडिएको थियो ।

मेरो ममी भूकम्पपीडित हुनुहुँदो रहेछ । ममीको ६ वटा करङ् भाँच्चिएको रहेछ । मैले छोरीलाई अँगालो मारें तर ममीलाई वास्ता गरेकी थिइनँ । माया उँधो बग्दो रहेछ भन्ने पछि मात्र महसुस गरेँ । मलाई झन् टेन्सन भयो । यहि भावनाले हामी समाजको काममा अग्रसर हुने हिम्मतसँग जोडियौं ।

‘उहाँले झापामा ज्योतिषीलाई देखाउनु भएछ । १४ मंसिरमा विवाह गर्नु राम्रो हो, भन्ने ज्योतिषीले भनेछन् । भाइले यो केटी मन पराएको रहेछ, खोलाको छेउमा घर छ भनेछन् ज्योतिषीले । म छक्क परें । हामी फोनमा कुरा गर्दा घरमा ममी हुनुहुन्थ्यो । विवाह गर्ने भए गर, नत्र तला थप्छु भन्नुभयो बुबाले’, उनी सम्झन्छिन्,‘त्यसपछि विवाह नगर्ने भने, अनि घरको तला थपियो । ममीसँग विवाहको कुरा गरें । बुबासँग ट्याकल गर्न कठिन भयो । घरमा गएर बस्ने, किचेनमा जाने खाना पकाउन सेयर गर्नेसम्मको काम पनि भयो । लभ प्लस एरेन्ज दुइटै भयो ।’

कलाकारिताको एउटा उचाई थपिँदै थियो । देशविदेशसम्म माग कम थिएन । तर, यो जोडीले समाजसेवाको विषयमा त्यस्तो खास केही सोचेको थिएन ।

‘समाजसेवा भन्ने चिज, सहयोग भन्ने चिज यो दिन गर्छु भन्ने हुँदैन । यो योजनाले होइन । डान्स गर्छु, जिम गर्छु भन्ने चिज होइन रहेछ । यो कुन बेला कसरी ठोक्किन्छ, ठोकिने गर्छ । भुइँचालो गएपछि ठोक्कियो’, जीवनको फरक धारमा मोडिँदाको घटनाक्रमको फ्ल्यासब्याकमा कुञ्जना पुगिन्,‘ भूकम्प जाँदा अमेरिकामा थियौं । हसाउन जाँदा मन रोएको पाएपछि हामीमा क्लिक भयो । हामी वातावरण दूत भएर अमेरिकामा जाँदा हामीलाई त्यस्तो लागेको थियो । हामी १६ लाख रूपैयाँ लिएर आएका थियौं । त्यो फन्डलाई हामीले भूकम्पपीडितका लागि लगाऔं भन्ने जानकारी गरायौं । दाल चामलको सहयोगमा लाग्दा, अहिले हामी यही काममा अभ्यस्त भयौं ।’

अझ उनीहरूले क्षतविक्षत गाउँ, गाउँभित्रका अनेक मानिसका भावनालाई यत्तिकै बुझेका होइनन् । ‘मेरो ममी भूकम्पपीडित हुनुहुँदो रहेछ । ममीको ६ वटा करङ् भाँच्चिएको रहेछ । मैले छोरीलाई अँगालो मारें तर ममीलाई वास्ता गरेकी थिइनँ । माया उँधो बग्दो रहेछ भन्ने पछि मात्र महसुस गरेँ । मलाई झन् टेन्सन भयो । यहि भावनाले हामी समाजको काममा अग्रसर हुने हिम्मतसँग जोडियौं ।’

प्रतिक्रिया
सम्बन्धित