सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

इतिहास रच्न सफल नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत

दैनिक नेपाल २०७४ चैत ५ गते २०:५०

काठमाडौँ, ५ चैत । जिम्बावेमा एकदिवसीय विश्वकप छनौटमा राम्रो प्रदर्शनमार्फत एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका हुन् । कुल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहन सफल भएको थियो । नेपालले आईसीसीबाट २०२२ सम्मको लागि अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता पाएको छ ।

नेपालले समूह चरणमा लगातार तीन खेल हारेको थियो । तर समूह चरणको अन्तिम खेलमा हङकङ तथा प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । नेपालले २२ बर्षपछि पहिलोपटक एकदिवसीय मान्यता पाएको हो ।

नेपाली टोलीलाई स्वागत गर्न सयौँ खेल समर्थकहरु विमानस्थल पुगेका थिए । समर्थकहरुले क्रिकेट टोलीको प्रशंसा गर्दै नाराबाजी समेत गरे ।

अबको लक्ष्य एकदिवसीय विश्वकप : कप्तान पारस

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने रहेको बताएका छन् । पहिलो पटक नेपाललाई एकदिवसीय मान्यता दिलाउन सफल कप्तान खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अबको लक्ष्य विश्वकप खेल्दै टेष्ट राष्ट्रको मान्यता पाउन रहेको बताएका हुन् ।

सिमित स्रोत र साधनको सदुपयोग गर्दै नेपाली क्रिकेट टोली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि पाउन सकेको भन्दै खड्काले अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्ने बताए । अब देशलाई नै नयाँ जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले घरेलु क्रिकेटको संरचना र खेलाडीको हेरचाह पनि अर्को महत्वको विषय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित