सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

मन्त्री बन्न दुई सांसदले ‘बबण्डर’ मच्चाएपछि उपेन्द्र यादव ‘दिक्क’, निकाले नयाँ जुक्ति

दैनिक नेपाल २०७४ चैत ५ गते ८:२१

काठमाडौं, ५ चैत । वाम गठबन्धनको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक कलहले समस्या उत्पन्न भएको छ ।

मन्त्री बन्न दुईजना समानुपातिक सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको हो । संघीय फोरमभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधन र अन्य मुद्दाहरूका बारेमा छलफल गरेर मात्रै सरकारमा सहभागी हुने वा नहुनेबारे अर्को निर्णय गर्नेछन् ।

प्रधानमन्त्री ओलीले संघीय फोरमका लागि स्वास्थ्य र सहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री दिने जनाएको उच्च स्रोतको भनाइ छ । ती मन्त्रालय प्रधानमन्त्रीले खाली राखिदिएका छन् । तर, फोरमभित्रको आन्तरिक विवादले सरकारमा जानेबारेमा अनिश्चितता उत्पन्न भएको छ ।

अध्यक्ष यादवले आन्तरिक विवाद मिलाउन नयाँ कदम उठाएका छन् । यादवको नयाँ कदमले मन्त्री बन्न खुट्टा उचालेर बसेका समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठलाई ठूलो धक्का लागेको छ । नेतृ यादव र श्रेष्ठले आफूलाई मन्त्री नबनाउने हो भने संघीय फोरमले ठूलो दुर्घटना व्यहोर्नुपर्ने भनेर चेतावनी दिइसकेका छन् । संघीय फोरमभित्र प्रत्यक्षमा निर्वाचितलाई पहिलो प्राथमिकता दिनेपर्ने बहुमत नेता र सांसदको जोड छ ।

आइतबार तीनकुनेस्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारीहरूको बैठकमा पनि समानुपातिक सांसदद्वय यादव र श्रेष्ठले कुनै पनि आफूहरू मन्त्री बन्नुपर्ने भनेर अध्यक्ष यादवलाई दवाव दिएको एक पदाधिकारीले जानकारी दिए । ‘रेणु यादव र राजेन्द्र श्रेष्ठजीले मन्त्री बन्नका लागि अध्यक्षलाई ठूलो दवाव दिनुभएको छ’, बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै एक पदाधिकारीले भने, ‘निर्वाचन जितेर आएका सांसदहरूले मन्त्री बन्न लबिङ गरे पनि रेणु यादव र राजेन्द्र श्रेष्ठले जस्तो बबण्डर गरेका छैनन् ।’

नेतृ यादवले आफू महिला भएको, पूर्वमन्त्री र मधेसी भएकाले मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको ती पदाधिकारीले बताए । श्रेष्ठले आफू राजधानीबासी, पार्टीको सहध्यक्ष र जनजाति भएका कारण मन्त्री पाउनुपर्ने तर्क गर्ने गरेका छन् ।

राजपा नेपालभित्र क्षेत्रीयता, जातीयता र समावेशिताको सिद्धान्त अपनाउन नसक्दा हृदय त्रिपाठीसहितका नेताहरूले पार्टी छाडेर अलग भएको सन्दर्भ पनि संघीय फोरमको बैठकमा उठेको थियो । प्रदेश २ ले प्रदेश ५ लाई पेलान गरेपछि बाध्य भउर त्रिपाठीसहितका नेताहरूले पार्टी छाडेर एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेको प्रसंग उठेको स्रोतले जनाएको छ ।

अध्यक्ष यादव र नेतृ रेणु यादव सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्छन् । उनीहरू यादव समुदायका हुन् । राजेन्द्र श्रेष्ठका बारेमा अधिकांश सांसद र पार्टी नेतृत्व सकारात्मक छैन । श्रेष्ठले राजधानीमा संघीय फोरमको संगठन गर्न नसकेको आरोप छ । प्रतिनिधि सभा निर्वाचनमा संघीय फोरमले राजधानीबाट जम्मा दुई हजार मत पाएको चर्चा पनि तीनकुनेस्थित पार्टी मुख्यालयमा हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित