शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

सर्वाेच्चका कुनै इजलासमा परेनन् न्यायाधीश जबरा

दैनिक नेपाल २०७४ फागुन २९ गते ११:४५


काठमाडौँ, २९ फागुन । सर्वाेच्च अदालतमा मंगलबार तोकिएका कुनैपनि मुद्धाको इजलासमा न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम छैन ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार हुने विभिन्न मुद्दाको सुनुवाईका लागि इजलास तोके पनि न्यायाधीश जबरालाई कुनै पनि मुद्दाको सुनुवाईका लागि पेशी दिएका छैनन् ।

प्रधानन्यायाधीश पराजुलीले मंगलबार आफूसहित ११ इजलास तोकेका छन् । तर जबरालाई कुनै पनि मुद्दा तोकिएको छैन । पराजुलीले आफूलाई तेजबहादुर केसीसँग पूर्ण इजलाश तोकेका छन् ।

न्यायाधीश जबराले सोमबार अदालतको मानहानी सम्बन्धी कान्तिपुर र डा. गोविन्द केसी सम्बन्धी मुद्दामा आफू इजलासमा नबस्ने बताएका थिए । योसँगै आइतबारदेखि सुनुवाइ सुरु भएर ‘हेर्दाहेर्दै’ रहेको केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा अनिश्चित समयका लागि स्थगित भएको छ ।

नागरिकतामा भएको जन्ममिति अनुसार प्रधानन्यायाधीशको समयावधि गएको साउनमा नै सकिएकाले आफू उनले तोकेको इजलासमा नबस्ने भन्दै जबराले सोमबार सुनुवाई बहिष्कार गरेका थिए ।

न्यायाधीश जबरा कान्तिपुर तथा डा. केसी सम्बन्धी मुद्दामा सर्वोच्चले तोकेको सातजनाको वृहत इजलासमा थिए । तर उनले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नमान्ने भन्दै सुनुवाई बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित