बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

घोडाघोडी नगरपालिकाका मेयर चौधरीलाई गोली हान्ने तीनजना पक्राउ

दैनिक नेपाल २०७४ फागुन २९ गते ९:५२

धनगढी, २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार र गोली प्रहार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मेयर चौधरीलाई गोली प्रहार गरेको अभियोगमा सुखड क्षेत्रबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकर्तालाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

घोडाघोडी नगरपालिकाका मेयर चौधरीले बोक्सी पीडित युवतीलाई मिलापत्र गराउन दवाव दिएको भन्दै नेकपाले कारबाहीको धम्की दिएको थियो ।

चौधरीलाई सोमबार राति सवा ८ बजे सुखडबजार नजिकै रहेको आफ्नै घरभित्र बसिरहेका अपरिचित समूहले काम छ भनेर घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

चौधरीको कम्मरमुनि गोली लागेको छ । टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेका छन् ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको थियो । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित