शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

महाकाली नदी नियन्त्रणमा बजेट अभाव

दैनिक नेपाल २०७४ फागुन २८ गते ७:३८

दार्चुला, २८ फागुन । दार्चुला जिल्लाका अधिकांश कार्यालयले विकास बजेट खर्च गर्न नसकिरहेका बेला महाकाली नदी नियन्त्रण आयोजनालाई भने बर्सेनि बजेट अभाव हुँदै आएको छ ।

सरकारले महाकाली नदी नियन्त्रण आयोजनाका लागि पर्याप्त बजेट निकासा नगर्दा बजेट अभाव हुँदै आएको हो । आर्थिक वर्ष २०७०/७१ बाट निर्माण सुरु गरिएको आयोजनालाई हरेक वर्ष बजेट अभाव हुने गरेका कारण समयमै काम सम्पन्न हुन नसक्ने संकेत देखिएको छ ।

आयोजनाले तटबन्ध निर्माणमा हालसम्म डेढ अर्ब रकम बजेट खर्च गरेको छ । आव २०७०/७१ सालदेखि कुल ३ अर्ब ५ करोड ५७ लाख बजेट खर्चेर पाँच वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको थियो ।

२०७० सालको बाढीपछि पञ्चवर्षीय कार्ययोजना बनाएर लागू भएको पक्की तटबन्ध निर्माणको काम निर्धारित समयमा नसकिने आयोजनाले जनाएको छ ।

चालू आर्थिक वर्षमा प्राप्त कुल २९ करोड ५३ लाख बजेटमध्ये भौतिक निर्माणतर्फको सबै बजेट सकिएको छ । बजेट बढी चाहिने चालू आवको अन्तिमतिरका लागि १८ करोड बजेट माग गरिए पनि प्राप्त भएको छैन ।

चालू आवमा १७ करोड नेपाल सरकार र एडीबीबाट ११ करोड गरी सार्वजनिक निर्माणतर्फ २८ करोड बजेट विनियोजन भएकोमा सबै खर्च भइसकेको छ । एडीबीसँगको सम्झौता रकमबाट ४ करोड मात्रै प्राप्त भएको र बाँकी ७ करोड बजेट फुकुवा हुन बाँकी भएका कारण निर्माण व्यवसायीले काम गरेको रुपैयाँ पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित