बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने

दैनिक नेपाल २०७४ फागुन २७ गते १३:०९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्वीर ।

वासिङ्टन, २७ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्ने भएका छन् ।

आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लागी कार्यक्रम तय भएको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ । ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ, उनले सो भ्रमणका क्रममा पेरुको राजधानी लिमामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउने छन् ।

त्यस अवसरमा उनले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कोलोम्बियामा पनि उनले त्यहाँका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो उनको पहिलो ल्याटिन अमेरिकी भ्रमण हो । यस भ्रमणका क्रममा उनले यहाँका विभिन्न देशहरुसँग द्विपक्षीय हितका साथै अरु पनि विविध कार्यक्रमहरुमा सहभागीता जनाउने बताइएको छ । यो भ्रमण राष्ट्रपति ट्रम्पले सबैजसो ल्याटिन अमेरिकी देशहरु काम नलाग्ने देश भनेर सार्वजनिक रुपमा आरोप लगाएको केही समयपछि हुन लागेको छ ।

गत जनवरी महिनामा उनले यी देशलाई काम नलाग्ने भन्दै ती देशलाई ‘चर्पीको कमोट’ को समेत संज्ञा दिएका थिए । यो अभिव्यक्तिपछि सार्वजनिक रुपमा नै उनको विरोध मात्र भएन विभिन्न देशमा त उनका विरुद्धमा विरोध प्रदर्शनहरु पनि भएका थिए । उनले यस्तै शब्द मेक्सिकोलाई पनि प्रयोग गरेका थिए । त्यसपछि उनले मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनेसम्मको पनि धम्की दिएका थिए ।

यसका साथै उनले अरु ल्याटिन अमेरिकी देशमा आयात हुने स्टील र अल्मुनाईमा पनि चर्काे मात्रामा कर लगाउने प्रस्ताव हालैमात्र गरेका थिए । त्यसैगरी पेरुसँग पनि यसअघिको अमेरिकी ओबामा प्रशासनले कटुतापूर्ण सम्बन्धमा सुधार ल्याउने काम गरेको भए पनि ट्रम्प राष्ट्रपति भएपछि पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ ।

यसका कारण उनको ल्याटिन अमेरिकी देशहरुसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । यस्तो अवस्थामा हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको कतिपय विश्लेषकहरुको भनाई छ । –रासस/सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित