बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

कराते महासंघको नेतृत्व फेर्न दवाव, हालिमुहाली नरोकिए खेलाडीले आन्दोलन गर्ने

दैनिक नेपाल २०७४ फागुन २७ गते ११:३२

प्रमुख प्रशिक्षक शोभित प्रसाइँ

ललितपुर, २७ फागुन । नेपाल कराते महासंघ प्रमुख प्रशिक्षक शोभित प्रसाइँले कराते महासंघको वर्तमान नेतृत्व परिवर्तन अनिर्वाय रहेको बताएका छन् ।

अस्तित्वमा दुईवटा कराते महासंघ रहेपछि नेतृत्व परिवर्तन गरेर खेलाडीको स्तर वृद्धि गर्नुपर्ने उनको भनाइ छ । दुईवटा महासंघ हुँदा खेलाडीहरूको भविश्यमाथि खेलवाड भएको प्रसाइँको गुनासो छ ।

सरोकारवालाहरूले दुईवटा महासंघलाई मर्जजर गरेर एउटै बनाउन पटक–पटक दवाव दिएका छन् । तर, सुनुवाइ भएको छैन । दुई वटा महासंघले भनेअनुसारका गतिविधि र प्रतियोगिता समेत गरेका छैनन् ।

दावा गुरुङ र पुरेन्द्र लांखेले कराते महासंघ तथा सितोरियो कराते संघलाई आफ्नो कब्जामा लिन खोजेपछि विवाद सुरु भएको हो । दुईवटा संस्थालाई राख्न नहुने प्रमुख प्रशिक्षक प्रसाइँको भनाइ छ ।

‘राजनीतिक आडमा संघ र महासंघ हत्याउने दाउमा दावा गुरुङ र पुरेन्द्र लांखे सक्रिय छन्’, प्रसाइँले भने, ‘खेलकुदमा राजनीति भित्र्याउने हो भने त्यसले नकारात्मक सन्देश जान्छ ।’

गुरुङ र लांखेले पद ओगटेपछि करातेको स्तर घट्दै गएको प्रमुख प्रशिक्षक प्रसाइँले आरोप लगाए । ‘उनीहरू काम नै नगरेर पदमा बसिरहनु चाहन्छन्’, उनले भने ।

२०५६ सालमा नेपालमा भएको आठौँ सागमा करातेले १४ वटा स्वर्ण पदक हासिल गरेर इतिहाँस रचेका थिए ।

गुरुङ र लांखे खेलाडी र करातेको हकहितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेका कारण कराते महासंघभित्र भाँडभैलो सुरु भएको आरोप छ । यही विवादका कारण कराते खेल राम्रोसँग हुन सकेको छैन ।

प्रमुख प्रशिक्षक प्रसाइँले खेलकुदको हकहित र संरक्षण गर्ने व्यक्ति कराते महासंघमा आवश्यक रहेको बताउँछन् । महासंघमा फेरि पनि गलत व्यक्ति हाबी भएमा वा आएमा देशभरिका खेलाडीले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कराते महासंघको संरक्षण आवश्यक छ’, प्रसाइँले भने, ‘गलत व्यक्तिलाई महासंघमा ल्याइयो भने देशभरिका खेलाड आन्दोलनमा उत्रने छौँ ।’

महासंघमा विवाद भएपछि खेलकुद परिषद र कराते महासंघले गर्न नसकेका प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले ललितपुरमा विभिन्न प्रतियोगिता गर्दै आएका छन् ।

महर्जनले बेलाबेला खेलकुद् परिषद् र कराते महासंघलाई नै च्यालेञ्ज दिएर ललितपुरमा कराते प्रतियोगिता गराउने गरेका हुन् । महर्जनले चापागाउँमा राष्ट्रिय कराते प्रतियोगिता समेत गराइ सकेका छन् ।

महर्जनले महासंघभित्रको विवाद मिलाउन विभिन्न प्रयास गरेका छन् । तर, समस्याको समाधान हुन नसकेको खेलाडीहरूको भनाइ छ । महर्जनले आयोजना गरेको प्रतियोगितामा तत्कालीन समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित