शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

ओली सरकार: संसदमा दुई तिहाई, बाहिर हाइ हाइ

दैनिक नेपाल २०७४ फागुन २४ गते १६:५१

-निर्मल भट्टराई
ओली सरकार संसदमा विश्वासको मत लिने तयारीमा छ । एमाले र माओवादी केन्द्रको गठबन्धनलाई संघीय समाजवादी फोरम र राजपाले पनि समर्थन गरे भने प्रधानमन्त्री ओलीलाई सजिलै दुई तिहाई बहुमत प्राप्त हुनेछ । विश्वासको मत लिएपछि सरकारलाई कम्तीमा पाँच बर्ष कसैले हल्लाउन सक्दैन । ईतिहासमा यति बढी समर्थन र शक्ति भएको लोकतान्त्रिक सरकार कहिल्यै बनेको थिएन ।

बर्षौंबर्षको ओली-माओवादी “दुश्मनी”को शतप्रतिसत अन्त्य भएको छ भने मधेशवादी दलसंग कुनै बेला “कि तँ छैनस् कि म छैन”को स्तरमा पुगेको उनको सम्बन्ध आज सत्तामा सहकार्य गर्ने सुमधुर सम्बन्धमा परिणत भएको छ

२०१५ सालमा वि पि कोइरालाले दुई तिहाइ मत प्राप्त गरे पनि त्यति वेलाको जनताको राजनीतिक स्तर र भूराजनीतिक अवस्थाले गर्दा उनले दुई बर्ष पनि त्यो सत्ता टिकाउन सकेका थिएनन् । तर अहिलेको अवस्था विलकुल भिन्न छ । जनताको राजनीतिक स्तर र अन्तर्राष्ट्रिय परिस्थिति ओली सत्ताको पक्षमा छ । ओलीले नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टीको सांगठानिक सञ्जाल देशको कुना कन्दरासम्म फैलिएको छ । समस्त पार्टी नेता कार्यकर्तालाई एकताको सूत्रमा बाँध्ने जनताको बहुदलीय जनवादजस्तो शक्तिशाली सिद्धान्तको आलोकमा देश तथा पार्टी सञ्चालन गर्ने सुविधा उनलाई प्राप्त छ ।

बर्षौंबर्षको ओली-माओवादी “दुश्मनी”को शतप्रतिसत अन्त्य भएको छ भने मधेशवादी दलसंग कुनै बेला “कि तँ छैनस् कि म छैन”को स्तरमा पुगेको उनको सम्बन्ध आज सत्तामा सहकार्य गर्ने सुमधुर सम्बन्धमा परिणत भएको छ । स्थिरता, शान्ति र समृद्धिको अभिलाषा बोकेका नेपाली जनताले यो सरकारलाई मुक्त कण्ठले हाइ हाइ गरिरहेका छन् । श्रृङ्खलाबद्ध अस्थिर सरकारको ईतिहास बोकेको देशमा बहुमतको शक्तिशाली सरकार गठन हुँदा प्रकट भएको यो खुशियाली नितान्त स्वभाविक छ ।

प्रधानमन्त्री ओलीसंग यी पाँच कुरा भरपुर भएको सबैले अनुभूत गरेकै छन् । उनलाई प्राप्त यी पाँच तत्वको आगामी दिनमा कसरी प्रयोग हुन्छ, सबैको प्रतीक्षा यसैमा छ ।

जेरी डब्ल्यु गिलीको भनाईमा शक्ति पाँच तत्वमा आधारित हुन्छ । पहिलो हो व्यक्तिले प्राप्त गरेको औपचारिक अधिकार । ओलीलाई जनताले देशको सर्वोच्च कार्यकारी पदमा पुर्‍याएका छन् । दोश्रो, शक्ति ज्ञानमा आधारित हुन्छ । तपाईंसंग जति बढी ज्ञान भयो तपाईं त्यति नै शक्तिशाली बन्नुहुन्छ । तेश्रो, शक्ति व्यक्तिको व्यक्तित्वमा आधारित हुन्छ । अरुलाई सजिलै कन्भिन्स गर्न सक्ने बहुआयामिक व्यक्तित्वमा बढी शक्ति निहित हुन्छ । चौथो, शक्ति सूचनालाई नियन्त्रण गर्ने क्षमतामा आधारित हुन्छ किनभने आवश्यक निर्णय गर्न, लक्ष निर्धारण गर्न र सञ्चारको लागि सूचना आवश्यक हुन्छ । पाचौं, शक्ति श्रोत र साधन नियन्त्रण गर्ने व्यक्तिको क्षमतामा आधारित हुन्छ । प्रधानमन्त्री ओलीसंग यी पाँच कुरा भरपुर भएको सबैले अनुभूत गरेकै छन् । उनलाई प्राप्त यी पाँच तत्वको आगामी दिनमा कसरी प्रयोग हुन्छ, सबैको प्रतीक्षा यसैमा छ ।

ए डब्ल्यु टोजरको विचारमा एउटा वास्तविक र सुरक्षित नेता त्यो हो जोसंग नेतृत्व गर्ने ईच्छा छैन । टोजरको यो भनाईलाई आधार बनाएर ओलीलाई नियाल्दा उनी एक सुरक्षित र वास्तविक नेताको रुपमा दृष्टिगोचर हुन्छन् । उनले बारम्बार भनेका छन् —आफ्नो नाफाको जिन्दगीमा व्यक्तिगत रुपमा केही चाहिएको छैन । आफ्नो बाँकि जिन्दगी केवल राष्ट्रको निम्ति अर्पित गर्ने हो ।

तर नेपालको कम्युनिष्ट आन्दोलनमा नीतिभन्दा नेताको भूमिका निर्णायक हुँदै आएको छ । सत्ता र पार्टी सञ्चालनका आगामी विभिन्न मोडहरुमा ओली, प्रचण्ड र अरु नेताको भूमिका नै निर्णायक हुने निस्चित छ ।

भनिएको छ -एउटा राम्रो नेताले जनताको अनुहारमा आएको आरोह अवरोहको अध्ययन गर्न सिक्दछ । आफ्नो पार्टीका देशभरका नेता कार्यकर्ता र समर्थकसम्मको योग्यता, क्षमता र भावनाको इतिवृत्तान्त आफ्नो मानसपटलमा रेकर्ड गर्न सक्ने विलक्षण प्रतिभाका धनी प्रधानमन्त्री ओली उनीहरुको अनुहारमा आउने आरोह अवरोहको एक/एक हिसाब किताब राख्न सक्दछन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा समस्त नेपाली जनताको भावनाको केन्द्रिकृत अभिव्यक्ति दिन सफल भएको कहीं कतै छिपेको छैन ।

उपनिषद्मा भनिएको छ—व्यक्तिभन्दा माथि कोही छैन । झट्ट हेर्दा उपनिषद्को यो कथन ‘कम्युनिष्ट पार्टी नेता प्रधान होईन, नीति प्रधान हो’, भन्ने कमरेड पुष्पलालको भनाईसंग मेल खादैन । तर नेपालको कम्युनिष्ट आन्दोलनमा नीतिभन्दा नेताको भूमिका निर्णायक हुँदै आएको छ । सत्ता र पार्टी सञ्चालनका आगामी विभिन्न मोडहरुमा ओली, प्रचण्ड र अरु नेताको भूमिका नै निर्णायक हुने निस्चित छ ।
अग्नि पुराणमा भनिएको छ
नरत्वं दुर्लभं लोके विद्या तत्र सुदुर्लभा ।
कवित्वं दुर्लभं तत्र शक्तिस्तत्र च दुर्लभा ।
व्युत्पत्तिर्दुलभा तत्र विवेकस्तत्र दुर्लभः
सर्वशास्त्रमविद्घभ्दिर्मृग्यामाणं न सिद्घ्यति ।।

यति हुँदाहुँदै पनि ओली सरकार आलोचक र आलोचनामुक्त भने छैन । हुनु पनि हुँदैन । आगामी दिनमा आउन सक्ने सत्ता उन्मादको नियन्त्रणका लागि पार्टीभित्र र बाहिरबाट वस्तुपरक आलोचना आवश्यक छ ।

यसको अर्थ हो—संसारमा मानव जन्म प्राप्त गर्नु दुर्लभ छ र यदि मिल्यो भने पनि उसले विद्या प्राप्ति गर्न दुर्लभ छ । यदि विद्या पनि प्राप्त भयो भने व्यक्तिमा कवित्व हुनु झन दुर्लभ छ । कवित्व प्राप्त भएको मानिसले पनि शक्ति प्राप्त गर्न झन दुर्लभ छ । शक्ति प्राप्त भएको व्यक्तिले त्यसलाई निपुणतापूर्वक प्रयोग गर्ने कला झन दुर्लभ छ । मानव जीवनमा विवेक सबभन्दा दुर्लभ छ । अग्नि पुराणले इंगित गरेका अघिल्ला चारकुराले प्रधानमन्त्री ओली सुशोभित भईसकेका छन् । पुराणले मानव जीवन अति दुर्लभ भनी बताएको ‘विवेक’ को भने देश र पार्टीको सर्वोच्च कार्यकारी पदमा आसीन ओलीले देश र पार्टी सञ्चालनमा कसरी प्रदर्शन गर्छन्, सो हेर्न भने अझै केही समय धैर्यपूर्वक प्रतीक्षा गर्नु पर्ने हुन्छ ।

यति हुँदाहुँदै पनि ओली सरकार आलोचक र आलोचनामुक्त भने छैन । हुनु पनि हुँदैन । आगामी दिनमा आउन सक्ने सत्ता उन्मादको नियन्त्रणका लागि पार्टीभित्र र बाहिरबाट वस्तुपरक आलोचना आवश्यक छ । यस्ता वस्तुपरक आलोचनाहरुको यथोचित व्यवस्थापन र सम्बोधनका लागि अग्नि पुराणमा भनिएझैं विवेकको प्रयोग सिवाय अरु केही छैन ।

प्रतिक्रिया
सम्बन्धित