शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

चार वर्षयताको इन्काउन्टर श्रृंखला: ‘चरी’ देखि मनोज पुनसम्म

दैनिक नेपाल २०७४ फागुन ९ गते १२:२७

काठमाडौँ, ९ फागुन । बुधबार बिहान साढे २ बजे आएको भूकम्पको परकम्पको चर्चा सेलाउन नपाउँदै बिहानै एउटा सनसनीपूर्ण खबर आयो–गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए । मनोज पुन तिनै व्यक्ति हुन्, जसलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको थियो । कारण–उनले रुन्देहीका दुर्गा तिवारी, बुल पौडेल र निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको हत्याको जिम्मेवारी लिएका थिए ।

मलेसिया, भारत लगायतका देशमा लुकेर बसेका उनी बुधबार विहान रुपन्देहीमा देवदहमा प्रहरी इन्काउन्टरमा परे । उनी रुपन्देही कहिले, कुन नाकाबाट प्रवेश गरे भन्ने खुलेको छैन । पुन प्रहरी इन्काउन्टरमा मारिने चार वर्षयताका पाँचौ व्यक्ति हुन् ।

चार वर्षको अवधिमा कुख्यात डाँकादेखि भारतीय अन्डरवल्र्डसम्ममा पुहँच बनाएका गुन्डा नाइकेसम्म प्रहरी इन्काउन्टरमा परे । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गुन्डादेखि लिएर कारागारबाट भागेका डाँकासम्मलाई प्रहरीले इन्काउन्टर गरेको हो । स्तो प्रहरी इन्काउन्टरको श्रृंखला
दिनेश अधिकारी ‘चरी’
२०७१ साउन २१ गते धादिङ घर भएका गुण्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए । अपराध महाशाखाको टोलीले भीमढुंगामा गोली हानेर उनलाई मारेको थियो । उपत्यका विभिन्न अपराधिक घटमा उनको भूमिका हुने गरेको थियो ।

मोटरसाइकलमा भागिरहेको अवस्थामा चरीले फायरिङ गर्न थालेपछि प्रहरीले पनि गोली चलाएको दाबी गरिएको थियो । प्रहरीको ८ राउण्ड गोली लागेर चरी सडक किनारमा ढलेसँगै उनको अपराध यात्रामा पूर्णविराम लाग्यो ।

चरीले बालाजु र नयाँबजार क्षेत्रलाई अपराधको केन्द्र बनाएका थिए । उनीमाथि व्यापारीहरुबाट जबरजस्ती रकम असुली, ठेक्कापट्टामा हस्तक्षेप, गैंडाको खाग तस्करीलगायतमा संलग्न रहेको आरोप लागेको थियो ।

कुमार श्रेष्ठ ‘घैंटे’
२०७ भदौ ३ गते राजधानीका अर्का गुण्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिए । कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाको प्रहरी टोलीले उनीमाथि गोली हानेको थियो ।

कपुरधारास्थित व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र उनको समूहबीच भिडन्त हुँदा घैंटे गम्भीर घाइते भए । र, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
सर्च अभियानमा रहेका सादा पोशाकका प्रहरीले घैंटेसँग सोधपुछ गर्दा उनको समूहले गोली चलाएको प्रहरीको दाबी थियो । सोही क्रममा जवाफी फायरिङ हुँदा घैंटे मारिएको प्रहरीको दाबी थियो ।

चन्दा असुलीसहितका विभिन्न घटनामा संलग्न भएको आरोपमा घैंटेपनि प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । उनले भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत संकलन गरी आफैंले त्यो पैसा खाएको आरोप समेत लागेको थियो ।

घैटेलाई शरीरका विभिन्न ठाँउमा गरी ८ वटा गोली लागेको थियो । घैंटे इन्काउन्टरमा मारिएपछि केही कांग्रेस नेताले विरोधसमेत जनाएका थिए । त्यतिबेला महानगरीय अपराध महाशाखाको जिम्मेवारी डीआईजी सर्वेन्द्र खनालले लिएका थिए ।

जसवन्त राई
२०७३ साल असार ९ मा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलायो । कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्लोमा व्यापार गर्ने तथा होटल र रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो ।

काठमाडौंको बुद्धनगरबाट पक्राउ गर्ने खोज्दा प्रहरीमाथि रड प्रहार गरी भाग्न खोज्दा राईको खुट्टामा गोली हानिएको थियो । उनको घुँडा र तीघ्रामा गोली लाग्यो । र, उनलाई प्रहरीले सकुशल नियन्त्रणमा लिन सफल भयो ।

प्रवीण खत्री
ललितपुर कुसुन्तीका ३२ वर्षिय प्रवीण खत्री २३ साउन ०७४ प्रहरी इन्काउन्टरमा मारिए । प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कारबाही गरेको तर खत्रीले आफैंले कन्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ ।

खत्रिका बुबा प्रमोदले भने प्रहरी घरभित्रै प्रवेश गरेर उनीमाथि गोली हानेको दाबी गरेका थिए । आफन्तका अनुसार भाग्दै गर्दा प्रहरीले खत्रीको टाउकोमा गोली हानेको थियो । खत्रिले १० वर्षदेखि लागूऔषध सेवनका साथै कारोबार र हतियारको कारोबार गर्दै आएको प्रहरी दाबी छ ।

प्रहरीको गोली लागेर अस्पताल पुर्याइएका प्रविणलाई चिकित्सकहरुले मृत घोषणा गरे । उनको साथबाट दुई वटा अटोमेटिक पेस्तोल समेत बरामद भएको प्रहरीले दाबी गरेको थियो ।

टिके डाँका
काठमाडौंको डिल्लीबजार कारागारबाट ५ माघ ०७४ मा कुख्यात डाँका टिकाबहादुर थापा पनिप प्रहरी इन्काउटरमा परे तर, उनी घाइते मात्र भए । टिके नामले परिचित उनी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । उनी कारागारको काँडेतार काटेर भागेका थिए ।

भागेको ९ दिनपछि १३ माघमा टिके मुग्लिनतर्फ जाँदै गरेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी चितवनको टोली उनको खोजीमा परिचालित भयो ।

साँझ ५ बजे भरतपुर–१ रामनगरको ओमसाई पेट्रोलपम्प नजिक ना ४७ प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका टिके र प्रहरीबीच जम्काभेट भयो । ६ राउन्ड गोली लागेर गम्भीर घाइतेका उनको वीर अस्पतालमा उपचार भइरेहको छ ।

मनोज पुन
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस ०७३ मा गोली प्रहार गरेर हत्या गरेपछि चर्चामा आएका मनोजबहादुर बुढामगर उर्फ मनोज पुनको पनि बुधबार प्रहरी इन्काउन्टरमा इहलिला समाप्त भयो ।

तिवारीको हत्यालगत्तै फरार सूचीमा रहेका उनी भारतमा लुकेर बस्न थाले । भारतमै रहेको वेला उनले थप दुई हत्याकाण्ड मच्चाए । २१ पुस ०७४ मा उनले तिवारीको साथी बलु पौडेलको हत्या गरे । उनी देवदहका फर्निचर व्यवसायी थिए ।

२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीले जनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित