शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

नेपाली क्रिकेटरलाई जनही ३ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

दैनिक नेपाल २०७४ फागुन ७ गते १७:५३

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ३/३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

क्रिकेट खेलाडीहरुको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिनेछ । आउँदो शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताए ।

यसका अतिरिक्त यसमा मदन भण्डारी स्पोर्टस एकेडेमीले एक/एक लाख रुपैयाँ थप्ने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एक/एक लाख थप गर्ने घोषणा गरे । यही फागुन २० गतेदेखि विश्वकपमा सहभागी हुन लागेको नेपाली क्रिकेटरहरु प्रधानमन्त्री ओलीको घोषणाले निकै हौसिएका छन् ।

सोमबार मात्रै जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।

घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।

यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित