मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

राष्ट्रिय सभाको लागि सरकारले तीन जनाको नाम मनोनित गर्‍यो : मन्त्री बस्नेत

दैनिक नेपाल २०७४ फागुन १ गते १७:४२

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । तस्वीरः रिपोर्टर्स क्लव नेपाल ।

काठमाडौँ, १ फागुन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे ।

उनले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने, ‘राजिनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजिनामा दिएपछि मात्रै कामचलाउ हुन्छ ।’

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले थपे, ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत् रुपमा गरेका सिफारिशहरुलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ ।’

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौँ भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उनले विश्वास दिलाए । यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए । काँग्रेसले मुलुकलाई सही दिशातर्फ डोर्‍याउन जहिल्यैपनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित