शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

किसानमा लाग्ने ६१ प्रतिशत रोगहरु पशुबाट सर्ने

दैनिक नेपाल २०७४ माघ २५ गते १२:३५

– मिना बुढाथोकी
चितवन, २५ माघ । नेपालमा किसानहरुमा लाग्ने ६१ प्रतिशत रोगहरु पशुबाट सर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । पशु चिकित्सक तथा वातावरण विज्ञ र कृषि विज्ञहरुको संस्था वान हेल्थ नेपालले सार्वजनिक गरेको तथ्यांकमा यस्तो दावी गरिएको हो ।

नेपालमा पशुबाट मानिसमा सर्ने रोगहरुको अवस्था निकै नै भयानक रहेको वान हेल्थ नेपालका अध्यक्ष प्रदिप गिरीले बताए । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय रामपुरमा आयोजित कार्यक्रममा गर्भपतन, क्षयरोग, श्वासप्रश्वास, पिसाव सम्बन्धि, रेबिज, पाचनप्रणाली आदिसँग सम्बन्धित रोगहरु पशुकै कारणले किसानहरुमा बढि देखिने गरेको त्रिभुवन विश्वविद्यालय पशु चिकित्साशास्त्रका निर्देशक डाक्टर डिके सिंहले बताए ।

उनले नेपालका अधिकांश किसानहरु यस्ता समस्याबाट प्रत्यक्ष प्रभावित भएको बताए । यस समस्याका कारण किसानको स्वास्थ्यमा मात्र नभएर उत्पादनमा समेत प्रभाव पारेको विज्ञहरुको दाबी छ । कृषि तथा वन विश्वविद्यालय रामपुरका उपकुलपति आइपि ढकालले सरोकारवालाहरुलाई यसबारेमा थप अध्ययन गरेर समाधानका लागी लाग्न आग्रह गरे ।

वान हेल्थ नेपालले खाद्य सुरक्षा, पशुरोग, वातावरण, विज्ञान तथा मानव स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा काम गरिरहेका छ । सो अवसरमा एक विश्व, एक स्वास्थ्य र एक समाधान भन्ने नाराका साथ वान हेल्थ नेपालको चौँथो साधारण सभा समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित