मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

साढे १ लाख नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

दैनिक नेपाल २०७४ माघ २४ गते २१:३३

– बेलिना थापा
लमजुङ, २४ माघ । लमजुङमा आगामी फागुन १२, १३ र १४ गते हात्तीपाइले अर्थात फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ ।

जन्मेको २ बर्षमाथिका नागरिकलाई हात्तिपाइलेविरुद्धको डाइईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउन लागेको हो । यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र १ हजार १५५ जना स्वयम्सेवक खटिने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

यसपटक जिल्लाका १ लाख ५८ हजार ८८४ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईँले जानकारी दिए । गतबर्ष १ लाख २० हजार ८०६ जनालाई औषधी खुवाइएको थियो । फागुन पहिलो दिन फागुन १२ गते प्रत्येक टोलरटोलको पायक पर्ने स्थानमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने साथै दोश्रो र तेश्रो दिन घरदैलो गरी औषधी खुवाउने कार्यक्रम तय गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उक्त औषधी दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो, मृगौला, फोक्सोका दीर्घरोगी साथै छारे रोग, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकालाई खुवाउन नहुने चिकित्कसहरुले बताएका छन् ।

यस्तै, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई राम्रोसँग स्वास्थ्य जाँच गरेरमात्रै खुवाउनुपर्ने उनीहरुको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधी पूर्ण रुपमा सुरक्षित भएकाले सामान्य रिंगाटा लागेमा आत्तिहाल्न नहुने स्वास्थ्यकर्मीले बताएको छ । हात्तीपाइले रोगको लक्षण देखिन लागेका ब्यक्तिमा सामान्य रिंगाटा लाग्ने समस्या देखिने र केही नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।

जनस्वास्थ्य कार्यालयले यसबारे कार्यक्रम तय गरी बुधबार आयोजित हात्तीपाइले रोग निवारण विरुद्धको जिल्लास्तरीय समन्वय समितिको बैठकमा पेश गरेको थियो । कार्यक्रम अन्तर्गत माघ २५ गते जिल्लास्तरीय योजना तर्जुमा तथा समीक्षा गोष्ठी, २६ गते स्वास्थ्यकर्मीका लागि गोष्ठी, माघ २७ देखि फागुन १ गतेसम्म स्वास्थ्यकर्मीका लागि अभिमूखिकरण, ३ गते जिल्लास्तरीय जनचेतना अभिबृद्धि अन्तरक्रिया कार्यक्रम, ४ गते पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम, ४ गते नै नगरपालिकास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, ४ गतेदेखि १४ गतेसम्म पत्रपत्रिका, एफएमरेडियो तथा टिभीबाट सूचना प्रसारण, ५ देखि ७ गतेसम्म वडास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, फागुन ७ देखि ९ गतेसम्म १ स्वयंसेवकका लागि १ दिन अभिमूखिकरण कार्यक्रम, ९ गतेदेखि १३ गतेसम्म माइकिङ, फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खाुवाई फागुन २० गतेसम्म प्रतिवेदन संकलन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको अध्यक्षतामा भएको जिल्लास्तरीय समन्वय समितिको बैठकमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेल, महिला तथा बालबालिका अधिकृत विष्णुमाया पौडेल, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईँ, लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर हिक्मत भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, एमाले प्रतिनिधि सुभाष पौडेल, कांग्रेस प्रतिनिधि नारायनबहादुर सुयेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक मनोजसिंह बोहोराले गरेका थिए ।

क्यूलेक्स जातिको लामखुट्टेले हात्तीपाइले रोग लागेका मान्छेलाई टोकेपछि उक्त लामखुट्टेले निरोगी मान्छेलाई टोकेमा हात्तीपाइले रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले रोग लागेका ब्यक्तिमा ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, पुरुषमा अण्डकोष वरपरका नसाहरु फूल्ने, दुख्ने, महिलामा यौनांग सुन्निने, खुट्टा सुन्निएर हात्तीपाइले/फाइलेरिया हुने, पिसाव धमिलो दूधदही जस्तो वाक्लो हुने लक्षण देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । यसवाट बच्न लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित