सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

जनयुद्ध दिवस कि ओलीको ‘टेष्ट’ ?

दैनिक नेपाल २०७४ माघ २४ गते १२:१२

– निर्मल भट्टराई

प्रधानमन्त्रीका उम्मेद्वार कमरेड केपी ओलीलाई प्रमुख अतिथि बनाएर “महान जनयुद्ध जिन्दावाद ! ” भन्ने नारा घन्काइयो भने त नेपाली राजनीतिमा एक अनौठो घटना हुनेछ, आश्चर्यजनक घटना हुनेछ ।

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलले २३ औं जनयुद्ध दिवस मनाउने भव्य तयारी गरिरहेको समाचार बाहिर आएको छ । त्यसो त माओवादी शान्ति प्रक्रियामा आए यता पनि उसले जनयुद्ध दिवस कुनै न कुनै रुपमा निरन्तर मनाउँदै आएको छ । यसपालि यसले थप चर्चा पाएको छ किनभने यसपालिको जनयुद्ध दिवसको पेरिसडाँडामा मनाइने केन्द्रीय कार्यक्रममा दुई हप्ताभित्रमा प्रधानमन्त्री निर्वाचित हुन लागेका एमालेका अध्यक्ष केपी ओलीलाई डाकिएको समाचार निरन्तर प्रसारित भइरहेछ । एउटा समाचारको अंश यस्तो छ—“उक्त कार्यक्रममा ओलीको उपस्थितिले एमालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमात्र प्रष्ट पार्ने छैन, पार्टी एकताको पनि सुनिश्चितता हुनेछ ।” तामझामका साथ २३ औं जनयुद्ध दिवस मनाउने तयारी गर्दैगर्दा केही विचारणीय पक्षलाई भने विर्सन मिल्दैन ।

क) जनयुद्ध दिवस कि जनयुद्ध स्मृति दिवस ?

सबैलाई थाहा छ—माओवादी विद्रोह चलिरहेको बखत जनयुद्ध दिवस मनाउनु स्वभाविक थियो । तर माओवादीले युद्ध छोडेर शान्ति प्रक्रियामा आइसकेपछि उनीहरुले सञ्चालन गरेको युद्ध एक ऐतिहासिक घटनामा सीमित भएको छ । ऐतिहासिक घटनाको स्मरण गरिन्छ, स्मृति दिवस मनाइन्छ । जनयुद्धको जननी मानिने चीनमा सेप्टम्बर ३ तारिकमा जापानी साम्राज्यवाद प्रतिरोधको सम्झना स्वरुप जनयुद्ध स्मृति दिवस मनाइन्छ । तर बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी शान्तिपूर्ण बहुदलीय संसदीय राजनीतिक शक्तिमा रुपान्तरित माओवादी केन्द्रले मनाउने गरेका जनयुद्ध दिवस समारोह हेर्दा यस्तो लाग्छ— उनीहरुले सञ्चालन गरेको युद्ध अझै जारी छ । यस्ता समारोहमा घन्काइने नारा “महान जनयुद्ध जिन्दावाद ! ” भन्ने नाराले आफ्नो सम्पूर्ण सान्दर्भिकता गुमाइसकेको छ । नेपाली बृहत् शब्दकोशमा “जिन्दावाद” शब्दको अर्थ यस प्रकार छ—“बाँचिरहोस् वा बाँचिरहुन्, अमर रहोस् वा अमर रहुन्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारुन् भन्ने आशयको नारा । कुनै व्यक्ति, संस्था वा प्रथा आदि धेरै कालसम्म बाँचिरहोस् वा टिकोस् भनी नारा लगाउँदा गरिने शब्दः जय, जयजय ।” त्यसकारण अब कुनै पनि सन्दर्भमा वा अर्थमा माओवादी केन्द्रले यो नारा घन्काउन मिल्दैन । देशभर २३ औं जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको वाइसियलको केन्द्रीय नेतृत्वलाई ज्ञातव्य रहोस्— युद्धकालमा युद्धमा सामेल पार्टीले शान्तिको जयजयकार गर्नु जति असान्दर्भिक हुन्छ, शान्तिकालमा शान्तिमा सामेल पार्टीले युद्धको जयजयकार गर्नु त्यति नै असान्दर्भिक हुन्छ । अझ प्रधानमन्त्रीका उम्मेद्वार कमरेड केपी ओलीलाई प्रमुख अतिथि बनाएर उक्त नारा घन्काइयो भने त नेपाली राजनीतिमा एक अनौठो घटना हुनेछ, आश्चर्यजनक घटना हुनेछ । अँ, कमरेड किरण वा विप्लवलाई प्रमुख अतिथि बनाएर अरु कसैले त्यसो गर्यो भने यसमा सान्दर्भिकता खोज्न सकिएला ।

ओली, प्रचण्डजस्ता राजनेतालाई विगतको विवादमा मुछ्नुभन्दा देशको आर्थिक समृद्धि, अग्रगति र समाजवादको यात्रा तय गर्ने सहज वातावरणको खोजी गर्नु पर्ने हो कि ?

 

ख) अब बन्ने नेपाल कम्युनिष्ट पार्टी (?)मा जनयुद्धको स्थान ?

छ, अवश्य छ । माओवादीद्वारा सञ्चालित दशबर्षे जनयुद्धको ऐतिहासिक स्थान छ । माओवादी जनयुद्धले जनजागरण ल्यायो, शहरीकरणलाई तीव्रता दियो, सबै प्रमुख लोकतान्त्रिक दलहरुलाई राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा उत्रर्ने वातावरण सिर्जना गर्यो । सबैलाई थाहा छ, हरेक युद्धले ल्याउने तीन मध्ये एक परिणाम —कब्जा, सम्झौता, आत्मसमर्पण—यो जनयुद्धले पनि प्राप्त गरेकै छ । माओवादी जनयुद्धले सम्झौताको माध्यमद्वारा ठूल्ठूला उपलब्धि हासिल गर्यो । विगतमा यसलाई हेर्ने भिन्नभिन्न दृष्टिकोण भएका एमाले र माओवादीको एकता भएर बन्ने नेपाल कम्युनिष्ट पार्टी (?)ले समयक्रममा यसका सवल पक्ष र कमजोरीहरुको विहङ्गम समीक्षा गर्ने नै छ । जनयुद्धको मात्र होइन, लोकतन्त्र, न्याय, समानता र स्वतन्त्रताको लागि भएका सबै बाम विद्रोहको बस्तुनिष्ट समीक्षा र सम्मान गरिनु पर्दछ । यसो गर्दामात्र हिजो कसैका लागि अत्यन्त गौरवको विषय र कसैको लागि अत्यन्त त्रासदीको विषय बनेको जनयुद्धलाई वर्तमान र भावी पुस्ताले गर्व गर्न लायक एक ऐतिहासिक घटनाको रुपमा ग्रहण गर्नेछन् ।

ग) माओवाद, जनयुद्ध र पार्टी एकता

नेपालको बाम आन्दोलनमा माओवाद र जनयुद्ध इतिहास भइसकेका छन् । जतिसुकै गौरवपूर्ण इतिहास भए पनि इतिहास इतिहास हो । यी दुवै विषय सेफ ल्याण्डिङ्ग भइसकेका छन् र देशमा नयाँ युगको शुरुवात भइसकेको छ । नयाँ युगको सफल नेतृत्व गर्न एमाले—माओवादी पार्टी एकता वर्तमान बनेर आएको छ । अहिले इतिहासको तामझामयुक्त ढोलक बजाउनुको सट्टा वर्तमानको मधुर एवं संगतियुक्त संगीतको जगेर्ना गर्नु वान्छनीय हुन्छ । र, ओली, प्रचण्डजस्ता राजनेतालाई विगतको विवादमा मुछ्नुभन्दा देशको आर्थिक समृद्धि, अग्रगति र समाजवादको यात्रा तय गर्ने सहज वातावरणको खोजी गर्नु पर्ने हो कि ?

(लेखक नेकपा एमालेका युवा नेता हुन्)

प्रतिक्रिया
सम्बन्धित