सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

स्वास्थ्यप्रति सचेत हुँदै छन् लमजुङका महिला

दैनिक नेपाल २०७४ माघ २० गते १७:११

 – बेलिना थापा

लमजुङ, २० माघ । मर्स्याङ्दी गाउँपालिका लामागाउँकी ५६ बर्षिय केशकुमारी गुरुङ लमजुङ सदरमुकाम बेँसीशहरमा सञ्चालन भएको पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविरमा आइन् । शिविर हुँदैछ भन्ने आफन्तले खबर गरेपछि उनी चेकजाँचका लागि सदरमुकाम झरेकी हुन् ।

शनिबार संचालित शिविरमा गुरुङले आफ्नो पेट दुख्ने, बारम्बार पिसाब लाग्ने र पिसाब पोल्ने समस्या बारे चिकित्सकलाई सुनाइन् । करिब ५ बर्षदेखि यस्ता समस्या झेल्दै आएकी उनले काठमाडौँमा गएर पनि चेकजाँच गरिन्, तर निको नभएपछि जिल्लामै शिविर आएकाले आएका बताइन् ।

गाउँपालिकाकै ठुलिबेसी गाउँबाट आएकी मनकुमारी अधिकारीलाई पनि ४ बर्षदेखी सेतो पानी बग्ने, ढाड दुख्ने समस्या छ । समय समयमा शिविर आउँदाको समयमा चेकजाँच गर्दै आएकी छिन् । तर, औषधीले पनि निको नभएपछि उनी पनि पुनः बेँसीशहरमा सञ्चालित शिविरमा आएकी हुन् । शिविरमा आउँदा थप जानकारी अनि आफ्ना समस्याको समाधान हुन्छ भन्ने आशाका साथ सेवा लिन आएको उनले बताइन् ।

यसरी आफ्ना समस्या लुकाउने होइन, सुनाउनु पर्छ तबमात्र स्वास्थ्यमा आएको खराबीलाई पत्ता लगाउन सकिन्छ भन्ने महिला थुप्रै छन् , लमजुङमा । कुनै समय चेकजाँचमा जान लजाउने महिलाहरु अहिले सहजै चेकजाँचमा आउछन् ।

सदरमुकामको भुपु सैनिक आवसिय माविमा सञ्चालित शिविरमा शिविरमा ग्रामीण भेगदेखी शहरबजारका महिलाहरु सहभागि थिए । शिविरमा सेवा लिन आएकी मालिङकी ६० बर्षीया कमला गुरुङले स्वास्थ्य जाँचका लागि गाउँदेखी आएको बताइन् । उनले गाउँमा स्वास्थ्य शिविर नपुगेको भन्दै सदरमुकाम नै आउने गरेको बताइन् । निशुल्क सेवा पाउदा खुशी लागेको उनले सुनाइन् । बेँसीशहर सेराकी ७० बर्षीया शेषमाया गुरुङले आफुलाई कुनै समस्या नदेखिए पनि शिविर आएको समयमा चेकजाँच गर्ने इच्छाका आएको बताइन् ।

जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड लमजुङको आयोजनामा संचालन भएको स्तन र पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुले सेवा लिएका छन् । शिविरमा ४२१ जना महिलाले सेवा लिएका छन् । जसमा चार सय २ जनाले पाठेघर र स्तनको चेकजाँच गराएका छन् भने १९ जनाले सामान्य चेकजाँच गराएका छन् ।

चेकजाँचका लागि १९ बर्ष देखी ७९ बर्ष सम्मका महिला आएका थिए । शिविरमा आएका मध्ये १२ जनाको संकास्पद अवस्था देखिएको जनाइएको छ । उनीहरुले रिर्पोट आउन भने समय लाग्नेछ । सेवा लिनेहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको छ ।

चेकजाँचका साथै पाठेघर र स्तन क्यान्सर हुने कारण, उपचार जस्ता विषयमा उनीहरुलाई प्रोजेक्टरमार्फत पनि परामर्श दिइएको संस्थाका सचिव ताराराज घलेले बताए । उनका अनुसार शिविरमा नेपाल क्यान्सर सहयोग समूहको ३ जना र नेपाल क्यान्सर हस्पिटल एण्ड रिचर्स सेन्टरका २२ जना मेडिकल टिमले सेवा दिएका थिए ।

शिविरको शनिबार एक समारोहका विच बेँसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोदन गर्दै अर्यालले स्वास्थ्य सेवा विस्तार विषयमा नगरपालिकाले पनि शोच बनाएको भन्दै ग्रामीण भेगका नागरिकले पनि स्वास्थ्य सेवा पाउनुपर्ने बताए । उनले बेँसीशहरमै शिविर संचालन गर्नु राम्रो हो भन्दै यस्ता खाले शिविरले स्वास्थ्य समस्यामा परेका नागरिक लाभान्वित हुने बताए ।

शिविर उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर लक्ष्मी अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनार, नेपाल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेसराज घिमिरे, नेपाल क्यान्सर सहयोग समूहका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठ, नेपाल अर्वुद्ध रोग निवारण संघ लमजुङका अध्यक्ष नवराज पहाडी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रम सहकारीका कार्यवाहक अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित