शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

मेयरकप क्रिकेटको फाइनलमा खलंगा र देहिमाडौँ भिड्ने

दैनिक नेपाल २०७४ माघ ९ गते १९:१६

बैतडी, ९ माघ । बैतडीमा जारी मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहिमाडौँ भिड्ने भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई ४ विकेटले स्तब्ध पार्दै देहिमाडौँ उपाधि नजिक पुगेको छ ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको खलंगाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रन बनायो । १६९ रनको विजय लक्ष्यका साथै मैदान उत्रेको ग्वाल्लेक १४ दशमलव ३ ओभरमा ५३ रनमा समेटियो ।

पिताम्वर जोशीको सर्वाधिक १४ रन बाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा ग्वाल्लेक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा ऋषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले पराजित गर्दै दशरथचन्द नगरपालिका–२ देहिमाडौँले फाइनल यात्रा सुरक्षित गरेको हो ।

टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे । १३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाडौँले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो ।

प्रतियोगिताको उपाधि भिडन्त बुधबार बिहान १० बजेदेखि सुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।

उपाधि विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरिजले पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष चन्दले बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित