बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

मीनासँगको डिभोर्सबारे मनोजको बल्ल आयो प्रतिक्रिया, यस्तो रहेछ भित्री कारण

दैनिक नेपाल २०७४ माघ ९ गते ८:३४

काठमाडौं, ९ माघ । हास्य अभिनेता मनोज गजुरेलले पत्नी मीना ढकालसँगको सम्बन्धलाई पहिलादेखिको पारिवारिक समस्या र पति–पत्नीचको असमझदारीले अन्त्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेर मनोजले दुई परिवारको सहमतिमा श्रीमती मीनासँग कानूनी रुपमा छुट्टिएको बताएका छन् । सोमबार राति फेसबुकमा स्टाटस् लेखेर गजुरेलले आफू र आफ्नी पत्नीका विषयमा भइरहेका टिकाटिप्पणी र चासोका विषयमा स्पष्ट पर्ने प्रयास गरेका हुन् ।

‘मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ’, मनोजले भनेका छन्, ‘हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढी समयदेखि बैवाहिक बन्धनमा बाँधिएका हौं । हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी)को जायजन्म भएको छ ।’

मनोजले भनेका छन्, ‘हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं ।’

‘त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं’, उनले भनेका छन्, ‘एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद् घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरू समक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।’

‘यो संवदनशील घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु’, मनोजले स्ट्याटसमा भनेका छन्, ‘अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।’

मीना ढकालले सम्बन्ध विच्छेदसँग दिएका अन्तर्वार्ता र प्रतिक्रियाहरूमा पनि यो दोषको भागिदार आफू पनि रहेको बताएकी थिइन् । त्यसमा अलिक धेरै जिम्मेवार मनोज गजुरेल रहेको मीनाको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित