मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

एनआईसी एशिया म्यूचुअल फण्डको बिक्री खुल्ला

दैनिक नेपाल २०७४ पुष २८ गते १८:५४

काठमाडौँ, २८ पुस । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड (Mutual Fund)को माघ २ गतेदेखि बिक्री खुल्ला हुने भएको छ ।

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको यसप्रति आर्कषण बढ्दै गईरहेको छ । उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभांश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटलले विश्वस्त लिएको छ । साथै यस फण्डले आम्दानीको आधारमा इकाईधनीहरुलाई प्रत्येक बर्ष नगद लाभांश वितरण गर्नेछ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले यो योजनाका इकाईहरु आगामी माघ २ गते मंगलबारदेखि बिक्री खुल्ला गर्ने बताएको छ । उक्त फण्डको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिने बताइएको छ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ जनाइएको छ ।

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन् । उक्त इकाईहरु नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित