शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

दैनिक नेपाल २०७४ पुष २८ गते १८:३४

फाइल फोटो ।

नुवाकोट, २८ पुस । चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।

वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ । तापक्रमको दर निरन्तर घट्दै हिँउ पग्लेर बनेको त्रिशूलीमा पानीको सतहमा आएको गिरावटले केन्द्रको विद्युत् उत्पादन घटेको केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

पानीको वहाव कम हुँदा केन्द्रका सातमध्ये हाल पाँच मात्र टर्वाइन सञ्चालनमा छन् । पुस शुरु भएसँगै बढेको चिसाले हिमताल तथा हिमाल पग्लने दर कम भएर त्रिशूलीमा पानीको मात्रा घटेकाले अघिल्लो साता केन्द्रको विद्युत् उत्पादन १८ मेगावाटमा ओर्लिएको थियो ।

हिमनदी त्रिशूलीको वहाव माघ–फागुनमा कम हुने र चैतको न्यानो मौसम लागेसँगै बृद्धि हुने गरेको छ । अघिल्लो वर्षमा माघको अन्तिमदेखि फागुन पहिलो साता पानीको वहाव कम भएर विद्युत् उत्पादन १४ मेगावाटसम्म गिरावट हुने गरेकामा यस वर्ष पुस अन्तिम सातामा नै अघिल्लो वर्षभन्दा कममा उत्पादन झरेको हो ।

नदीमा पानीको वहाव कम भएपछि त्रिशूली केन्द्रको पानीको निकासबाट विद्युत् उत्पादन गर्दै आएको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन क्षमता ११ मेगावाट मात्र छ । देवीघाट केन्द्रको पूर्ण क्षमता १४ मेगावाट हो ।

त्रिशूली केन्द्र प्रमुख भट्टका अनुसार अघिल्ला वर्षभन्दा यस वर्ष चिसो मौसम चाँडै आएको र तापक्रमसमेतमा निकै गिरावट भएकाले पानीको वहावमा भएको गिरावटले विद्युत् उत्पादन दर अझै घट्दै जाने देखिएको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रले वैशाखदेखि मंसिरसम्म उत्पादन क्षमतानुसार शतप्रतिशत विद्युत् उत्पादन दिँदै आएका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित