शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

भारत र चीन दुवैतिरबाट सूचना महामार्गमा जोडियो नेपाल

दैनिक नेपाल २०७४ पुष २८ गते १६:४५

काठमाडौँ, २८ पुस । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारबाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सूचना महामार्ग (Information Highway) भारत र चीन दुवैतिरबाट सम्भव भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले फाइबर लिंकको औपचारिक शुभारम्भ गरे । सो अवसरमा मन्त्री बस्नेतले देशव्यापी रुपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको बताउदै चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले लिंक निर्माण गर्ने दुई देशको निकै लामो समय पहिलेको योजना भए पनि भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपका कारण ढिलाई भएको स्मरण गर्दै मूख्य प्राथमिकतामा रहेको काठमाडौँ–केरुङ रुट सञ्चालनमा ल्याउन सफल भएकोमा उनले खुसी व्यक्त गरे ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदार बहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो लिंक नेपालका लागि महत्वपूर्ण भएको बताए ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एकसय बर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताउँदै हाल वायरलेस तर्फ फोरजी तथा वायरलाइन तर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आवद्धताले अहम् भूमिका निर्वाह गर्ने बताइन् । उनले सो लिंकमार्फत कम्पनीका सेवाहरुको उपलब्धता र विश्वसनियतामा अझै अभिवृद्धि हुने अपेक्षा गरिन् ।

चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताए । सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देश बीचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीहरुको बजार विस्तारमा सहयोग पु-याउने उनले बताए ।

सो अवसरमा ब्याकबोन ट्रान्समिसन निर्देशनालयका प्रबन्धक संगीता पहाडीले क्रसबोर्डर अप्टिकल फाइबर लिंक बारे प्रस्तुतिकरण गरिन् । इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यवहारिक रुपमा एक भन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआबद्धता हुनु पर्ने आवश्यकताको बोध भई सन् २००३ देखि नै पहल भएको थियो ।

यसरी शुरु भयो पहल

सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन सरकार र चिनियाँ सरकारबीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौँदेखि खासा झाम्सुङ सम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो । नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच झाङमु र तातोपानी बीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारी पत्र (MOU) मा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भयो ।

सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौं–तातोपानी रुट क्षतिग्रस्त भएपछि काठमाडौँ–रसुवागढी रुटका लागि आवश्यक एडीडीएस (All-Dielectric Self-Supporting) लिंक निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो ।

तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए । यही बीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त ग-यो ।

सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो । त्यसपछि सम्पूर्ण तयारी पछि परीक्षण कार्य गरेर शुक्रबारदेखि उक्त अप्टिकल फाइबर लिंक औपचारिक रुपमै व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित