शुक्रबार, ७ वैशाख २०७५
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०७५

सल्यानका गर्भवतीले दुई महिनादेखि आईरन चक्की खान पाएनन्

दैनिक नेपाल २०७४ पुष २८ गते १५:०५

– मिना बुढाथोकी
सल्यान, २८ पुस । सल्यानको बागचौर नगरपालिका–४ का गर्भवती र सुत्केरी महिलाहरु आधारभूत औषधि सेवन बाट बन्चित भएका छन् । यहाँका महिलाहरुले बिगत डेढ महिनादेखि आईरन चक्कीको सेवन गर्न नपाएको गुनासो गरेका छन् ।

महिलाहरुलाई गर्भवती तथा सुत्केरी भएको बेला आईरनको कमी नहोस् भनेर आइरन चक्की प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क रुपमा सरकारले दिने गर्दछ । गर्भ रहेको ४ महिना देखी सुत्केरी भएको ४५ दिन सम्म आईरन चक्की खानु पर्छ । तर बागचौर नपा–४ मा विगत डेढ महिना देखी आईरन चक्कीका साथै अन्य औषधीको समेत अभाव भएको स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका रमादेवी वलीले बताईन् । उनले भनिन्, ‘मेरो टोलमा आईरन चक्की छैन्, गर्भवती तथा सुत्केरीहरु आईरन चक्की माग्न आउनु हुन्छ, सकिएको छ भनेर खाली पठाउछु ।’

यस्तै ग्रामीण भेगमा अत्याधिक मात्रामा प्रयोग हुदै आएको गर्भ निरोधको अस्थायी साधन पिल्सको पनि अभाव भएको उनले बताईन् ।
यस्तै आफ्नो टोल बानपा–५ मा पनि गर्भनिरोधको अस्थायी साधन पिल्सको अभाव भएको अर्की महिला स्वायमसेविका मैना वलीले बताईन् । उनले भनिन, ‘धेरै महिलाहरु गर्भनिरोधको अस्थायी साधन प्रयोगको लागी पिल्स माग्न आउनु हुन्छ, तर आफूसँग हुदैन्, त्यसै पठाउनु पर्छ ।’ उनले स्वास्थ्य चौकीमा नै औषधी नभएकाले आफूसँग आएका सेवाग्राहीलाई सेवा दिन नसकेको बताईन् । परिवार नियोजनको अस्थाई साधन पिल्स हरेक महिलाले महिनावारी भएको पाँचौ दिन देखि आफुलाई बच्चाको आवश्यकता नभएसम्म दैनिक रुपमा प्रयोग गर्नु पर्छ । परिवार नियोजनको यो साधन ग्रामीण भेगमा अत्याधिक प्रयोग हुने गर्दछ ।

बागचौर नगरपालिका–४ मा रहेको शिवरथ स्वास्थ्य चौकीका निमित्त ईन्चार्ज मिश्रा पुनले स्वास्थ्य चौकीमा औषधि नभएको स्वीकार गरिन् । अहिले स्वास्थ्यचौकीमा आईरन चक्की, पिल्सलगायतका अत्यावश्यक औषधि नभएको उनले बताईन् । उनले भनिन, ‘यहाँ औषधि नभएको लामो समय भयो, बिरामीहरु यहाँ आउनु हुन्छ, औषधि छैन भनेर पठाउछु ।’ औषधि मागको लागी नगरपालिका र अस्पतालमा माग फारम भरेर पठाएको करिब २ महिना हुन थाल्यो तर अहिले सम्म औषधी नपठाइएको उनले बताइन् ।

यता जिल्ला अस्पताल सल्यानका स्टोर किपर महादेब कसाईले जिल्लाबाट वितरण गरिने औषधि नगरपालिकामा पठाई सकेको बताए । ‘हामीले जिल्ला नगरपालिकामा आईरन चक्की, पिल्सलगायतका औषधि पठाई सकेका छौँ’ उनले भने । नगरपालिकाले अहिले सम्म औषधी स्वास्थय चौकी हरुमा पठाई सक्नु पर्ने हो उनले थपे ।

यसैबिच, बागचौर नगरपालिका स्वास्थ्य शाखा सह संयोजक एकराज केसीले बागचौर नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव नभएको बताए । ‘हामीले जिल्ला स्वास्थ्यले पठाएको औषधि सबै स्वास्थ्य संस्थाहरुमा पठाएका छौँ, औषधिको अभाव नहुनु पर्ने हो’, उनले भने । हरेक ठाउँहरुमा स्थानिय सरकार भए पछि नागरिकलाई सहज हुने सबैको अपेक्षा थियो । नागरिकले पनि आफ्ना हरेक आवश्यकता सहजै रुपमा सम्पन्न हुने र हरेक कामहरु छिटो छरितो हुने अपेक्षा गरका थिए । तर सल्यानमा स्थानीय सरकार भए पछि आफुहरुलाई समस्या भएको नागरिकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित