सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

ओली र प्रचण्डले एकताको घोषणा गरे पुग्छ, कार्यकर्ता त चुनावैअघि नै एउटै भइसके

भगवती न्यौपाने २०७४ पुष २८ गते ११:३४

– भगवती न्यौपाने

सरकारको नेतृत्वमा त्यति धेरै छलफल गर्नुपर्ला जस्तो लाग्दैन । सबैको बुझाई केपी ओलीले नै सरकारको नेतृत्व गर्नुपर्दछ भन्ने रहेको छ ।

१) एमाले र माओवादीबीचको बैचारिक भिन्नता: 

कम्युनिष्ट आन्दोलनको सफलतासँग देशको उज्ज्वल भविष्य जोडिएको हुन्छ । त्यही कम्युनिष्ट आन्दोलन बिभाजित र विखण्डित हुँदा यथास्थितिवाद, सुधारवाद र नव उदारवादले नेपाली जनतालाई सुखको स्वास फेर्न दिएको थिएन । नेपालका सबै कम्युनिष्टहरुले जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद हुँदै अन्तिम लक्ष्य साम्यवाद पुग्नेसम्मको आफ्नो रणनीति बताउँछन् । सबैले मार्क्सवाद र लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेका पनि छन । नेकपा एमालेले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ भने माओवाद नभएर बिचारधारा हो भन्ने तर्क अगाडि सारेको छ तर माओवादीले बिचारधारा नभएर वाद नै हो भनेको छ ।

नेपालको माओवादीले मार्क्सवाद , लेनिनवाद र माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ । र, आज पनि दुई पार्टीबीचको मार्गदर्शक सिद्धान्तमा यही भिन्नता रहेको छ । कुरा मिल्न बाँकी जनताको बहुदलीय जनवादलाई माओवादीले स्वीकार गर्न र माओ बिचारधारा हो वाद होइन भन्ने एमालेलाई माओवाद हो भनेर स्वीकार नै हो । जहाँसम्मको यो बैचारिक भिन्नता हो माओवादी शान्ति प्रक्रियामा आउने बित्तिकै आफ्नो कार्यनीति परिवर्तन भएको प्रतिवेदन तय गर्दै एक्काइसौं सताब्दीको जनवाद पारित गरेको थियो । एक्काईसौं शताब्दीको जनवाद र जनताको बहुदलिय जनवादलाई एकै ठाउँमा राखेर अध्य्ययन गर्दा हुबहु उस्तै थियो, दुबैको सार बहुदलिय प्रतिस्पर्धा, कानुनको सर्वोच्चता, बिधिको शासन, आवधिक निर्वाचन, लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना लगायत नै छ । अरु कुनै विषयमा मतभेद देखिदैँन तर पनि नाम भने फरक भयो, किन ? यसको मुख्य कारण भनेको कमरेड प्रचण्ड अनि माओवादीलाई नेकपा एमालेको बिचारमा आफ्नो बिचार बिलय भएको नदेखाउन पर्ने थियो । जहाँसम्म माओवाद हो कि बिचार धारा भन्ने बहस छ माओले चिनियाँ सांस्कृतिक क्रान्ति सम्पन्न गर्दा छुट्टै सिद्धान्त तय गर्नु भएको थिएन, मार्क्सवादको प्रयोग मात्र गर्नु भएको थियो । प्रयोगको क्रममा क्रान्ति सम्पन्न गर्न केही नयाँ खालका कार्यक्रमहरु तय गर्नु भएको थियो तर नयाँ सिद्धान्त प्रतिवादन गर्नु भएको भने होइन । वाद हुन प्रयोगबाट सिद्ध भएको सिद्धान्त नै चाहिन्छ, यसबारे लामो बहस गरेर निश्कर्षमा पुग्न त्यति गाह्रो छैन ।

२) जनताको चाहनासँग जोडिएको कम्युनिष्ट पार्टीहरुको एकीकरणको सवाल: 

संसारका धेरै देशहरू जुन हामी भन्दा निकै कमजोर अवस्थाबाट गुज्रिएका थिए । बेलायत, सिङ्गापुर, स्वीजरल्याण्ड, मलेसिया, दक्षिण कोरिया, युएई (दुबई), चाइना लगायत यस्ता दर्जनौं देश छन् । सामुद्रिक टापुमा रहेको सिङ्गापुर र त्यहाँका जनता केही दशक अगाडि खान नपाएर टापुबाट समुन्द्रमा हामफालेर आत्महत्या गर्ने गर्थे । आज त्यस देशको विकासलाई हेर्दा आश्चर्यजनक लाग्छ । जापानले ६०–७० को दशकमा व्यवस्थापन र प्रविधिमा निकै ठूलो उपलब्धि हासिल गर्यो । जापानको शिक्षालाई हेर्दा विकसित देशहरूको संगठन Organization For Economic Operation And Development (आईसिडी) मा सबै भन्दा राम्रो मानिन्छ र सबै कुरामा धनी बन्न प्रतिस्पर्धा गरिरहेको छ । चाईनामा माओको नेतृत्वमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न हुनु भन्दा अगाडि मान्छेको मासु खाएर बाँच्ने अवस्था थियो । आज चीन औद्योगिक उत्पादनको हिसाबले विश्वको नाभीस्थल बन्न पुग्यो र आज चाइनाको प्रतिव्यक्ति आम्दानी ८९०० डलर छ जबकी नेपालीको ८०० मात्र छ ।

संसारका धेरै देशहरूलाई धनी बनाउन नेपालीहरुका पौरखी हातहरु पनि मिसिएका छन, धेरै देशमा पसिना मात्र होइन्, रगत नै समेत पोखिएको छ र मस्तिष्क समेत प्रयोग भएको छ । अरु देशमा गएर अग्ला अग्ला टावर बनाउने, अग्ला अग्ला भवन र सडक बनाउने उर्जा्शिल युवालाई नेपाल बनाउन प्रयोग गरिदैँन । अरु व्यवस्थामा त जनताको जीवनस्तरमा सुधार आएन निकै ठूलो उत्साहकाबीच आरती गर्दै भित्र्याएको गणतन्त्रको घामले पनि गरिवको घरको शित छेक्न सकेन । त्यसैले जनता गरिबीबाट मुक्त हुन चाहन्थे, विकास र सम्मृद्धि चाहन्थे । कुनै बुर्जुवा शक्तिले आर्थिक परिवर्तनको नेतृत्व गर्न सक्दैन भन्ने विषयमा विश्वस्त थिए र भन्ने गर्थे कम्युनिष्टहरू विभाजित भएर होइन मिलेर आउ ।

नेपालका कम्युनिष्टहरुलाई एउटा आरोप थियो – मिल्न होइन्, फुट्न मात्र जानेका छन् भन्ने । देशमा ७० प्रतिशतको हाराहारीमा रहेका कम्युनिष्ट बिभाजित हुँदा नव उदारवादी बुर्जुवा पार्टी नेपाली कांग्रेस धेरैपटक बलियो बन्न पुग्यो । जसका कारण देशले बर्बादी मात्रै व्यहोर्न पर्यो, राष्ट्रिय पुँजीको बिकास भएन र कुनै सदुपयोग हुन सकेन । भएका उद्योग र कलकारखानाहरु कौडीको मुल्यमा बेचियो । जलश्रोतको धनी भइकन पनि पिउने पानी, सिंचाइ र विद्युतमा हाहाकार हुँदै आयो । खेतीयोग्य जमिनको सही सदुपयोग हुन सकेन, जंगल र जडिबुटीको उचित प्रयोग हुन सकेन । सबै खालका खानीहरु छन्, देशमा उत्खनन गर्ने तत्परता भएन, पेट्रोलियम पदार्थ उत्खनन् र प्रशोधन गर्न सकिन्थ्यो, गरिएन । नेपालका बस्तीहरु अव्यवस्थित छन् र छरिएर रहेका छन । जसले गर्दा स्रोत साधन बितरणमा कठिनाई मात्र होइन्, निकै खर्चिलो हुने अवस्था छ । दक्ष जनशक्ति निर्माणमा कुनै ध्यान भएन । सबैभन्दा ठूलो सम्पत्ति ज्ञान र सीप हो सोहीकुरा आर्जन गर्न बैज्ञानिक शिक्षा नीति चाहिन्छ त्यसतर्फ बेमतलव गरियो । उल्टै वैदेशिक हस्तक्षेपमा आनन्द मान्ने, सत्ता टिकाउन जस्तोसुकै फोहोरी खेल खेल्न तयार हुने, देशको स्वार्थलाई वेवास्ता गरेर आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्ने, सत्तालाई कमाउने निकाय बनाउने, राष्ट्रघाती सन्धि सम्झौताहरु गर्ने र मुलुकलाई परनिर्भर बनाउने काम मात्र गरियो ।

यी सबै कुरालाई राम्रोसँग जानकारीमा राख्ने जनताले परिवर्तन कसरी र को बाट सम्भव छ भन्ने विषयमा गहिराईमा पुगेर विश्लेषण गरे । विगतमा सबैले नेतृत्व गरेको सरकारहरुलाई तुलना गरे । श्रृंखलाबद्ध घटनाक्रमहरु बाट एउटा निष्कर्षमा पुगे, त्यही निष्कर्ष नै वामपन्थीको नेतृत्वमा स्थिर सरकार भन्ने रह्यो । त्यसमा पनि प्रधानमन्त्री बन्ने केपी ओली नै हो भनेर वामपन्थी कार्यकर्ताले जनतासँग मत मागे र जनताले उत्साहका साथ मतदान पनि गरे । जनताले अहिले दिएको मत पार्टी एकीकरण, केपी ओलीको नेतृत्वमा ५ वर्षका लागि सरकार र त्यही सरकारको नेतृत्वमा आर्थिक समृद्धि भन्ने विश्वासले नै हो ।

एकीकरणको मर्मलाई पनि आत्मसात गर्दै कमरेड केपी ओली र कमरेड प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक कमिटी बनाउने र माथिदेखि तलसम्मका पार्टी संरचनाहरुमा ६० र ४० कै आधारमा टुंगोमा पुग्दा सहज होला भन्ने नै लाग्छ ।

नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण, सरकारको नेतृत्व र केहि बैचारिक सबाल आमजनताको अहिलेको चासोको विषय बनेको छ । यी विषय टुङ्याउन किन ढिला भैरहेको छ होला भन्ने जिज्ञासा उत्तिकै छ । एकता हुन नदिन देशी–विदेशी चलखेल निकै बढेको छ । यतिबेला दुबै पार्टीका नेताहरुले सचेतनापूर्वक अगाडि बढ्न जरुरी छ ।

जनता र कार्यकर्ताको मनोबिज्ञान बुझ्न जरुरी छ । बैचारिक कुरा गर्दा जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको छैन । नेपालका मात्र होइन्, विश्व कम्युनिष्ट आन्दोलनमा समेत यही बिचार अंगिकार गर्नुपर्ने देखिन्छ, यसमा हिजो कुन व्यक्ति र पार्टीले प्रतिपादन गरेको भनेर अल्मलिन जरुरी छैन । सही बिचारले सहि ठाउँमा पुर्याउँछ । नेकपा एमालेको आजको सफलता पनि जबज नै हो । विश्व कम्युनिष्ट आन्दोलनबाट पाठ सिकेर मार्क्सवादलाई सृजनशील ढंगले प्रयोग गर्ने सन्दर्भमा प्रतिवादन भएको उक्त सिद्धान्तकै कारण नेकपा एमाले दुबोझै मौलाएको छ ।

जहाँसम्म नेतृत्वको प्रश्न छ, एकीकरणको मर्मलाई पनि आत्मसात गर्दै कमरेड केपी ओली र कमरेड प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक कमिटी बनाउने र माथिदेखि तलसम्मका पार्टी संरचनाहरुमा ६० र ४० कै आधारमा टुंगोमा पुग्दा सहज होला भन्ने नै लाग्छ । त्यसैले केन्द्रमा कमरेड ओली र कमरेड प्रचण्डले एकता टुंग्याउने हो भने जिल्लातहमा त कार्यकर्ताहरु चुनावअघि नै एकता भइसकेका छन् । सरकारको नेतृत्व गर्ने सवालमा भने त्यति धेरै छलफल गर्नुपर्ला जस्तो लाग्दैन । सबैको बुझाई केपी ओलीले नै सरकारको नेतृत्व गर्नुपर्दछ भन्ने रहेको छ । र, यस ढंगले अगाडि बढ्दा नै देशले नयाँ गति र नयाँ उचाई लिने छ भन्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित