शुक्रबार, ४ साउन २०७५
DainikNepal.com
शुक्रबार, ४ साउन २०७५

भ्रमणमा जानु अगाडि पूर्वराजाद्वारा यी दुई शीर्ष नेतासँग गोप्य परामर्श

दैनिक नेपाल २०७४ पुष २८ गते ८:१५

काठमाडौं, २८ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा निस्कनु अगाडि काठमाडौंमा केही राजनीतिक दलका नेताहरूसँग गोप्य छलफल गरेर गएको खुलासा भएको छ ।

नेपालगञ्जलाई केन्द्र बनाएर भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ । महाराजगञ्जस्थित शीतल निवासमा पूर्वराजा शाह र चन्दबीच डिनरसहितको भेटवार्ता भएको यियो ।

त्यसैगरी पूर्वराजा शाहले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग पनि अलल परामर्श गरेका छन् । राणा निकट स्रोतका अनुसार पूर्वराजाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जिज्ञासा राखेको बताइएको छ ।

राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जमा बोलाएर भेटेका हुन् ।

पूर्वराजा शाहले यी तीनजना नेताहरूसँग निर्वाचनको समीक्षा गरेको बताइएको छ । त्यति मात्रै होइन चन्द, राणा र थापालाई घुमाउरो भाषामा संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा छाडेको सजाय जनताले प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा दिएको चेतावनी दिएका थिए ।

मुलुकको राजनीति सहज रुपमा अगाडि बढ्यो भने अबको पाँच वर्ष बामपन्थीहरूको स्थायी सरकार बन्नेछ । त्यो अवधिमा मुलुकले आर्थिक विकासमा धेरै नै फड्को मार्ने अवस्था छ । पाँच वर्ष स्थायी सरकार चल्यो र मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्यो भने राजतन्त्र पुनर्बहालीको सम्भावना समाप्त हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह सचेत छन् । मुलुकको राजनीतिलाई सहज रुपमा अगाडि बढ्न नदिने हुन् कि भनेर प्रश्न उठ्न थालेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणका बेला नेत्रविक्रम चन्द ‘विप्लव’का नेता तथा कार्यकर्ता, रेशम चौधरी र आफ्ना शुभेच्छुकहरूलाई नियमित भेट गरेको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित