शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

नेपाललाई अमेरिकाले भारतीय आँखाले हेर्छ भन्ने कुरा गलत हो: जोसेफ क्राउली (अन्तरवार्ता)

दैनिक नेपाल २०७४ पुष २७ गते १४:२१

जोसेफ क्राउली अमेरिकी सांसद हुन् । न्यूयोर्कको क्षेत्र नम्बर १४ लाई प्रतिनिधित्व गर्ने क्राउली अमेरिकी संसदमा डेमोक्रेटिक ककसका अध्यक्ष पनि हुन् । अन्तराष्ट्रिय मामिलामा दख्खल राख्ने सांसद क्राउलीसँग पत्रकार किरण मरहठ्ठाले, राष्ट्रपति ट्रम्पको शासन, नेपाललाई दिइएको टिपिएस सुविधा र नेपाल अमेरिका सम्बन्धबारे रोचक कुराकानी गरेका छन्, प्रस्तुत छ सो अन्तर्वाताको सम्पादित अंश ।

ह्वाइट हाउसमा ट्रम्पको अगमन भएपछि तपाइहरु त पुर्णतया रक्षात्मक अवस्थामा पुग्नु भयो नि ?
मलाइ लाग्छ तपाइको कुरा सत्य हो । हामी राष्ट्रपतिय निर्वाचनमा पराजीत भयौँ र सदनमा पनि अल्पमतमा छौँ । त्यसैले रिपब्लिकनहरुले कार्यकारि र व्यवस्थापिका दुबैमा पुर्ण कब्जा जमाएको स्थिति छ । त्यसैले हाम्रो असहमतिको बावजुद पनि आप्रवासन, कर र ओबामा केयरको बारेमा ह्वाइट हाउसबाट ज्यादै अनुपयुक्त कदमहरु धेरै चालिएका छन् । ओबामा प्रशासनको महत्वपुर्ण उपलब्धिहरुलाई निमिट्यान्न पार्ने प्रयासहरु भैरहेका छन् । त्यसले यहाँको आप्रवासी र मध्यम तथा निम्न आय भएका मानिसहरुलाइ ठुलो असर पार्नेछ ।

ट्रम्प प्रशासनको आरम्भका दिनहरुमा तपाइहरु निकै आक्रमक देखिनु हुन्थ्यो, तर आजकल जनताले तपाइहरुको आवाज मलिनो भएको टिप्पणी गर्दछन्, रसियाको संलग्नता माथि आशंका लगायतका विषयहरु आजपनि उत्तिकै पेचिला छन् ,गतबर्षदेखि नै उठिरहेका यी विषयहरुको अन्त्य कसरि होला ?
हामीले आफ्नो अवाज बुलन्द नै पारिरहेका छौँ । हेर्नुस, राष्ट्रपति ज्यादै अभद्र देखिए र उनि ट्वीटरमार्फत विभिन्न हंगामा मच्चाइ रहन्छन् । उनि अलिक गैर जिम्मेवार ढंगले शासन संचालन गरिरहेका छन् । रसियाको मामिलामा एफबीआइका निर्देशक कौमेलाई पदच्युत गरेर राष्ट्रपतिले थप शंका गर्ने ठाउँ दिएका छन् । यो अनुसन्धान जारी छ । हामी प्रमाणहरु पर्खिरहेका छौँ । यो बिषयको अन्त्य कसरि होला म भन्न सक्दिन तर यसले देशलाइ भने बर्वाद पारिरहेको छ । बिषय कहिले काहिँ भन्ने गरेजस्तो महाअभियोगसम्मै त नजाला तर म के कुरा चाहिँ भन्न चाहन्छु भने यी राष्ट्रपति अमेरिकालाई शासन गर्न योग्य भने होइनन् ।

हालै सदनले पारित गरेको करनीतिलाई तपाइहरुले त्यत्रो विरोध किन गर्नुपरेको ?
मलाइ लाग्छ हाम्रो विरोध जायज थियो । यो करनीति जनमैत्री छैन । यसले ८२ मिलियन मध्यम आय भएका परिवारहरुलाई ठुलो मार पार्नेछ । ७० प्रतिशत निम्न आय भएकाहरुलाई करबृदिको मारमा पार्नेछ । रिपब्लिकनहरुले यो करनीति गरिब तथा निम्नआय भएका अमेरिकनहरुलाई संकटमा पार्दै धनि तथा व्यवसायीक घरानाहरु पोस्ने उद्देश्यले ल्याएका हुन् । यसको परिणामहरु धेरै भयावह हुनेछन् ।

अमेरिका अहिले बाह्य भन्दा आन्तरिक मामिलामै बढि व्यस्त देखिन्छ र राष्ट्रपतिले पनि यसैलाइ प्रथामिकता दिएका छन्, यसको मतलब अमेरिकाले विश्व महाशक्तिको रुपमा आफ्नो भूमिका र दायित्वहरु कटौति गर्न खोजिरहेको हो ?
यदि बर्तमान राष्ट्रपतिले त्यो चाहेका हुन् भने अमेरिकाको लागी त्यो दुखद हुनेछ । इतिहासमा हामीले अमेरिका र एलाइ पावरको संलग्नतामा दोस्रो विश्वयुद्धताका यूरोप र एशियाका कयौँ मुद्धाहरुलाई समाधान गरेका छौँ । त्यसैकारण आजको विश्व शक्ति सन्तुलनलाई जन्म दिन हामी सफल भएका हौँ । तर ट्रम्पले यी कुराहरु बिर्सीएर अन्तरिक मामिला मात्र ध्यान दिएका छन् । यसले हाम्रो भलो गर्दैन । यहाँ एक थरि मानिसहरु अमेरिकाले संसारमा के भैरहेको भनेर चासो लिएर के पायो भन्ने तर्क गर्छन, राष्ट्रपति तिनै मानिसको मनोविज्ञानमाथी खेलिरहेका छन् ।

गत चुनावमा तपाइहरुले शहरी क्षेत्रमा जित्नुभयो तर ग्रामिण इलाकाहरुमा तपाइहरुको प्रभाव ज्यादै निराशाजनक देखियो , के आगामी बर्षको संसदिय चुनावमा डेमोक्र्याटको बहुमत आउला त ?
यो ज्यादै रोचक कुरा गर्नुभयो, मलाइ लाग्छ हामी बहुमत ल्याउने छौँ । राष्ट्रपति ट्रम्पले चुनावताका गरेका बाचाहरु धेरै पुरा गर्न सकेन्, त्यो हाम्रो लागी ठुलो अवसर हो । हामीले रोजगारी सिर्जना र गुणस्तरीय जिवनको बारेमा हाम्रो पार्टिले विगत देखि दिँदै आएका योगदानहरुको बारेमा थप प्रकाश पार्नेछौँ । हामीले राष्ट्रपति बिल क्लिन्टनले ह्वाइट हाउस छोड्दा देशको ढुकुटी कति धेरै नाफामा थियो भन्ने बारेमा फेरि सम्झाउने छौँ । बुसको पालामा तहसनहस भएको अर्थतन्त्रलाई कसरि ओबामाले ज्यान दिए र बेरोजगारी घटाए भन्ने कुरा बुझाउने छौँ । यी सबै सकारात्मक तथ्यहरुको विचमा हामीले रिपब्लिकनले बाचा गरे अनुरुप काम गर्न नसकेको तथ्यलाइ पनि छुटाउन हुदैन उनीहरु वर्तमान सरकारसँग खुसी छैनन्, तसर्थ जनताले यस पटक हामीलाइ विश्वास गर्नेछन् ।

मलाई विषयान्तरको अनुमति दिनुहोस, तपाइको पार्टि सधैँ आप्रवासीमैत्री पार्टि भनेर दावि गर्नुहुन्छ, तर तपाइहरु सरकारमा हुदाँ पनि आप्रवासननीतिमा व्यापक सुधार त केहि गर्नुभएन, यो भोटका लागी गरिएका बाचाहरु हुन भन्दा के फरक पर्ला ?
त्यो दाबि होइन बरु सत्य हो । हामी आप्रवासन मैत्री पार्टी हौँ । म स्वयं पनि आप्रवासि हुँ । हाम्रो पार्टीमा आप्रवासिको पहिलो या दोस्रो पुस्ताका नेताहरुको बाहुल्यता छ । हामी विविध भाषा, संस्कृतिको मूल्य र मान्यताहरुलाई महसुस गर्न सक्छौँ । हामी त्यहि आवाज बोलिरहेका छौँ । आप्रवासीहरुले यो देशलाई उत्कृष्ट बनाउन धेरै योगदान दिएका छन् । उनीहरुले समान अवसर उपभोग गरिरहेका छन् । बर्तमान राष्ट्रपतिले केहि आप्रबासननीति परिमार्जन गर्न खोजीरहेका छन् तर उनले ओबामाको कार्यकाल सम्झनु पर्छ । रोनाल्ड रेगनको पालामा रिपब्लिकन र डेमोक्र्याट पार्टीको सहमतिमा नयाँ करनीति र आप्रवासन सुधारनीति पारित गरियो । त्यसपछि जब बाराक ओबामाले बृहद सुधारको प्रयास गरे उनलाई सदनबाट सहयोग भएन । स्मरण रहोस आप्रवासन सुधार र नयाँकरनीति ओबामाको दोस्रो कार्यकालका एजेन्डाहरु थिए तर त्यहाँ उनलाइ काम गर्नै दिइएन । हामीले त्यो अवसर चाँही गुमाएका हौँ । तर पनि ओबामाले डाका, डापा, टिपिएस जस्ता कार्यक्रम मार्फत लाखौँ आप्रवासीको समस्या समाधान गरेका थिए । तर अहिलेको राष्ट्रपतिले के गरे ? उनि हात धोएर आप्रवासीको पछि लागिरहेका छन् ।

म अब तपाइको ध्यान टिपिएसतर्फ मोड्न चाहन्छु, जुन नेपालीको लागी सबैभन्दा सरोकारको विषय हो । आगामी जुनमा नेपाललाई दिइएको टिपिएस सुविधा समाप्त हुन्छ, के यो नविकरण होला ?
यो ज्यादै महत्वको कुरा गर्नुभयो, यो एकपटक फेरि आप्रवासीको बारेमा एैक्यवद्धता जनाउने बिषय हो जुन हामीले विगतमा गरेका थियौँ । विशेष गरि राजनीतिक र प्राकृतिक विपत्तिको शिकारमा परेकाहरुलाई यो अझ जरुरी छ । अहिले प्रशासनले अवस्था जटिल बनाइरहेको छ । हेनुर्स, निकारागुवा र हैटीको टिपिएस सुविधा निलम्बन गरिएको छ । तर मलाइ शंका छ र म निश्चयपुर्वक यो भन्न सक्दिन की नेपालको टिपिएसको भविश्य के हुनेछ । तर फेरि पनि यो कस्तो सरकार छ, राष्ट्रपति र उनको पार्टी आप्रवासीको समस्याप्रति कत्तिको गम्भीर छ भन्ने कुरामा भर पर्दछ । मलाई लाग्छ, डापा, डाका र नेपालको महाभूकम्प पश्चात राष्ट्रपति ओबामाले टिपिएस सुविधा दिएर गरेका मानविय कार्यको विरुद्धमा कोहि पनि जानु राम्रो होइन तर डापा र डाकालाइ खारेजीमा लगियो ।

तपाइ एक विधायकको हैसियतले नेपाली समुदायलाई केही विश्वास दिलाउन सक्नुहुन्छ ?
म विगतमा पनि टिपिएस सुविधाको लबिङ गर्ने मध्यमा पर्दछु । विगतमा मैले जे गरे नविकरणको लागी पनि त्यहि स्तरमा लाग्ने प्रतिबद्धता जनाउने छु । मैले २०१५ मा पनि नेपाललाई टिपिएस सुविधा दिनुपर्छ भनेर ६५ जना संसदको समुह बनाएर पहल गरेका हुँ । तर फेरि पनि यो राष्ट्रपतिको विवेकमा भरपर्ने कुरा हो । हामी सदनमा पनि निर्णायक अवस्थामा छैनौँ ।

अब म तपाइको ध्यान नेपालतर्फ मोड्न चाहन्छु जसले लामो राजनीतिक संक्रमणकाल भोगेर हालै चुनाव सम्पन्न गरेको छ , नेपाल अमेरिका सम्बन्धको हामीले ७१औँ बर्षगाँठ मनाइरहेका छौँ तर अझ पनि नेपाल अमेरिकाको प्राथमिकताको सूचीमा किन पर्न सकेन ?
मलाइ लाग्छ कि आजको विश्व रंगमंचमा नेपालले आफ्नो महत्व उचोँ बनाइरहेको छ । नेपालले पनि भारतले जस्तै परिपक्व लोकतन्त्रको अभ्यासमा लागिरहेको छ । त्यसभेगका अन्य मुलुकहरु जस्तै म्यानमार, बंगलादेश, पाकिस्तान र अफगान्स्तिानले पनि लोकतन्त्रको अभ्यास गरुन भन्ने कामना गरौँ । नेपालले भारत, चिन। रसिया जस्ता मुलुकसँग सौहाद्र सम्बन्ध राख्न सफल छ । हामी नेपालको लोकतान्त्रिक अभ्यासको सम्मान गर्दछौँ । अमेरिकाले नेपाललाई महत्व नदिएको जस्तो मलाइ लाग्दैन । नेपाल भविश्यमा पनि हाम्रो असल मित्रशक्तिको रुपमा रहिरहने छ ।

तपाइहरु चिन, भारत जस्ता विश्व महाशक्ति बन्दैगरेका मुलुकहरुसँग बढि इंगेज भएर नेपाललाई कम महत्व दिनुभएको हो कि ?
कहिले काहिँ हामी आफ्नो अन्तराष्ट्रिय क्षमताका कारण मारमा चाहिँ पर्ने रहेछौँ जस्तो कि आयरल्याण्डले पनि ब्रिटेन र अमेरिकाको सम्बन्धमा उस्तै मार खेपिरहेको छ ।

नेपालमा एक ज्यादै दुखद भनाइ के छ भने अमेरिका सँधै भारितय आखाँले नेपाललाई हेर्ने गर्र्छ, तपाइहरु किन त्यसो गर्नुहुन्छ ?
निश्चयनै हाम्रो भारत, पाकिस्तान, नेपालसँग सम्बन्ध छ । हामी त्यस क्षेत्रमा क्षेत्रीय मेलमिलाप र सद्भाव विकसित होस् भन्ने चाहन्छौँ । यो कुनै सजिलो काम होइन । मानिसहरु भन्छन् कि हामीले मध्यपुर्व वा संसारका अन्य समस्याहरुको हल गर्न सकिरहेका छैन तर यो बुझ्नु अति जरुरी छ कि यो समान्य काम होइन र यसको लागी समय चाहिन्छ । हामी हाम्रोतर्फबाट सबैभन्दा राम्रो के गर्न सकिन्छ गरिरहेका छौँ । नेपाल मामिलामा भारतीय आँखाले हेर्ने भन्ने कुरो पनि गलत हो ।

भिडियोः

प्रतिक्रिया
सम्बन्धित