सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

इजरायलमा स्वस्थानी ब्रतकथा र महाशिवरात्री पर्वको तीब्र तयारी

दैनिक नेपाल २०७४ पुष २५ गते १६:१७

इजरायल । हिन्दू धर्मालम्बीहरुको श्री स्वस्थानी ब्रतकथा र महाशिवरात्री पर्वको अवसरमा ओम जनजागरण नेपाल अभियान इजरायलले इजरायलमा मनाउन लागेको कार्यक्रमको तयारी तीब्ररुपमा अघि बढाइएको छ ।

आउँदो फेब्रुअरी २ तारिख अर्थात माघ १९ गते शुक्रबारका दिन इजरायलको तेलअभिवमा विशेष पूजाआजा र प्रसाद ग्रहण सहित भब्यका साथ हुने श्री स्वस्थानी ब्रतकथा बिसर्जन तथा महाशिवरात्री पर्व कार्यक्रमको तयारी तीब्ररुपमा अघि बढाएको आयोजकले जनाएको हो ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त भागवत वाचक तथा राष्ट्रिय धर्मानुष्ठान विभाग प्रमुख (विश्वहिन्दू परिषद नेपाल) का प्रमुख गुरुआचार्य बिष्णुप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहने ओम जनजागरण नेपाल अभियान इजरायलका उपाध्यक्ष भक्तिप्रसाद सापकोटाले बताए ।

हिन्दू धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्री स्वस्थानी ब्रतकथा तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिन लागेको सो बृहत धार्मिक कार्यक्रममा गुरुआचार्य ज्ञवालीले प्रवचन समेत दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण भक्तालुजन लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइलार्ई उपस्थित भई आध्यात्मिक लाभका साथै श्री स्वस्थानी माताको प्रसाद ग्रहण गरिदिन हुन उपाध्यक्ष सापकोटाले आग्रह गरेका छन् ।

कार्यक्रमलाई विशेष रुपले सम्पन्न गर्न आवश्यक तयारी तीब्ररुपमा अघि बढाइएको ओम जनजागरण अभियान इजरायलकी सचिव दीया चापागाईंले बताइन् । उनले कार्यक्रम कसैका बिरुद्ध नभई बैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ श्री स्वस्थानी ब्रतकथा साङ्गे तथा महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा र प्रसाद ग्रहण कार्यक्रम राखिएको जानकारी दिइन् ।

कार्यक्रमको भोलिपल्ट अर्थात् शनिबार गुरुआचार्य ज्ञवालीसहितको टोलीलाई इजरायलको रमणीयस्थल मृतसागर (डेड सी) का साथै अन्य पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम समेत रहेकोे उपाध्यक्ष सापकोटाले बताए ।

‘राष्ट्र, राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म, संस्कार संरक्षणको अभियान’ भन्ने मूल नारासहित ओम जनजागरण अभियान नेपालले धर्म परिवर्तनमा रोक लगाउन माग गर्दै हिन्दूधर्मको संरक्षण र सम्बद्र्धन गर्न ओम जनजागरण नेपाल अभियानको स्थापना गरिएको सचिव चापागाईंले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित