शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

मिन र आईषाले उचाले रिकर्भ ब्यक्तिगत उपाधी

दैनिक नेपाल २०७४ पुष २४ गते ६:४४

काठमाडौं, २४ पुस । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुष तर्फ मिन गौचन र महिला तर्फ आईषा तामाङ्गले आईतबार उपाधी उचाल्न सफल भएका छन् ।

थासाङ्ग स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे । कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक पाए ।

महिला तर्फ सेनाकी आईषाले आफ्नै दिदी सेनकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्री रहिन् ।

दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर ब्यक्तिगत पुरुष तर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेष्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई पाखा लगाउंदै स्वर्ण जित्न सफल भए । सनातनले १४० अंक प्राप्त गर्दा प्रजितले ११९ अंक प्राप्त गरे ।

यस्तै पुरुष स्ट्याण्डर्ड ब्यक्तिगत ३० मिटर तर्फको प्रतिस्पर्धामा स्वयंभु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे । उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुले । दोश्रो स्थानमा रहेका वेष्ट आर्चरीका नविन विर बस्न्याटले रजत पदक पाए । उनले ४ अंक जोडे । नेपाली सेनाका डम्बर थापाले कास्य पाए ।

सोही विधाको महिला तर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले नेपाली सेनाकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापामगर रहिन् ।

पुरुष स्ट्याण्डर्ड ३० मिटर टिम तर्फको प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण हात पा-यो । सेनालाई स्वर्ण दिलाउन डम्बर थापा, तविन गुरुङ्ग र प्रेम वि.क.को टिमले ५ अंकको योगदान गरेका थिए ।

रजत पदकमा सिमित भएको वेष्ट आर्चरी क्लबका नविन विर बस्न्यात, जोर्डन विक्रम थापा र ग्रिष्मा गुरुङ्गको टोलीले एक अंक मात्र हासिल गर्दै दोश्रो स्थानमा चित्त बुझायो । अन्नपूर्ण आर्चरी क्लबका करुण बराल, शंकर थकाली र हिम कुमार रानामगरको टोलीले कास्य पायो ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, दक्षिण एशियाली खेलकुद महासंघका कोषाध्यक्ष निरञ्जन राजबंशी, राजधानी दैनिकका प्रमुख कार्यकारी आयुष शेरचन, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए । दुई दिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित