शनिबार, ८ वैशाख २०७५
DainikNepal.com
शनिबार, ८ वैशाख २०७५

ओम हस्पिटलमा संवेदनशील शल्यक्रिया सफल

दैनिक नेपाल २०७४ पुष २३ गते १९:०२

काठमाडौँ, २३ पुस । चावहिलस्थित ओम हस्पिटलमा एक महिलाको चिकित्सा क्षेत्रमा संवदेशनील तथा चुनौतिपूर्ण मानिने इन्फ्रारेनल एन्युरिज्म विथ डिइसेक्सन (Infrarenal aneurysm with dissection) शल्यक्रिया सफलताका साथ गरिएको छ । कार्डियो भास्कुलर सर्जन डाक्टर कजनराज श्रेष्ठ नेतृत्वको टोलीले भोजपुर स्थायी घर भएकी ६० वर्षीया हिरामाया तामाङको सफल शल्यक्रिया गरेको आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लगातार एक महिनासम्म कम्मर तथा पछिल्लो दुई–तीनदिनदेखि पेट दुखेपछि तामाङ उपचारका लागि ओम हस्पिटलमा आएकी थिइन् । उपचारको क्रममा तामाङको किड्नी मुनिको मुख्य धमनी च्यातिएर ७ सेन्टिमिटर सम्म फुलेको पाइएको पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले जानकारी दिए । ‘फुलेको उक्त भाग फुटेको भए विरामीको तत्काल मृत्यु हुने थियो’, पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले बताए ।

श्रेष्ठको साथमा तामाङको शल्यक्रियामा प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठ र डाक्टर दिनेश गुरुङ संलग्न रहेका थिए । शल्यक्रियामा रक्तनली (Aorta)को बिग्रेको भाग ३० सेन्टिमिटर जति काटेर कृतिम नली राखिएको हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर कृष्णप्रसाद देवकोटाले जानकारी दिए । शल्यक्रियाका लागि एनेसथेसियातर्फ डाक्टर श्यामकृष्ण मर्हजनको नेतृत्वमा डाक्टर सुरेन्द्र श्रेष्ठ र डाक्टर सौभाग्यमान मल्ल संलग्न थिए ।

सफल शल्यक्रियापछि आइसीयूमा सारिएको बिरामीलाई डाक्टर प्रमेश सुन्दर श्रेष्ठ नेतृत्वको टिमले उपचार गरेको थियो । पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजालले चिकित्सा क्षेत्रका नयाँ चुनौति तथा उपलब्धीका बारेमा सञ्चार जगतसँग नियमित अन्तरक्रिया गरिने धारणा राखे । प्रबन्ध संचालक बाबु काजी कार्कीले धन्यवाद ज्ञापन गर्दै हस्पिटलको सेवा विस्तार गर्दै लैजाने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित