सोमबार, ७ साउन २०७५
DainikNepal.com
सोमबार, ७ साउन २०७५

किन हुन्छ महिलामा पिसाब चुहिने समस्या ?

दैनिक नेपाल २०७४ पुष २२ गते १२:४७

– डा. अर्जुन देव भट्ट

विश्व तथ्यांकअनुसार प्रौढ महिलामा पिसाब चुहिने समस्या ४० प्रतिशतसम्म देखापर्छ । नेपालमा यो समस्याको व्यापकता खासै अध्ययन भएको छैन । खुलेर या समस्या भन्न नरुचाउने महिलाको बहुमत भएकोले वास्तविक आँकडा पाउन पनि सजिलो छैन । यथार्थमा पिसाब चुहिने समस्या महिलाहरूमा मात्र होइन, पुरुषमा पनि विद्यमान हुन्छ । तर महिलाको दाँजोमा त्यो निकै कम देखापर्छ ।

महिलामा पिसाब धेरै अवस्थामा चुहिने गर्छ । त्यसमध्धे सामान्य मूत्र संक्रमणदेखि लामो समयसम्म जन्मिन नसकेको बच्चाको टाउकोले मूत्र प्रणालीको तल्लो भागमा थिचेर रक्त सञ्चारमा हानि पुर्‍याई पारेको प्वालबाट पिसाब चुहिराख्ने अवस्था सिर्जना गर्न सक्छ । यस्तो प्रकारले बनेको घाउलाई मूत्राशय योनि फिस्टुला भनिन्छ । तर यो लेखमा विभिन्न कारणवश महिलाको पेटभित्र चाप बढ्दा एक्कासी पिसाब चुहिने अवस्थाको शल्य उपचारबारे वर्णन गरिनेछ ।

खोक्दा, हाछ्युँ गर्दा, गह्रुङ्गो बोझ उठाउँदा, यौन सम्बन्ध राख्दा वा त्यस्तै अरू कारणले पेटभित्र एक्कासी चाप बढेको स्थितिमा त्यो चाप मूत्रथैलीभित्र प्रेषित हुन्छ । यस्तो अवस्थामा मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग एक्कासी खुलेको खण्डमा पिसाब रोक्न सकिँदैन । विभिन्न कारणवश पिसाब चुहिने समस्या भएका महिलामध्ये चाप सम्बद्धको संख्या ५० प्रतिशत हुन्छ । महिलामा पिसाब नलीको बीचको भागलाई झोलुङ्गे आकारको संरचनाले आधार दिएको हुन्छ । यो संरचनाको बनावटमा मलद्वार उठाउने मांसपेशी तथा विभिन्न मांसपेशीबाट निस्केको सुत तथा पट्टीले बनेको हुन्छ । तर विभिन्न कारणवश जस्तै– प्रसव क्रिया, नसाको कमजोरी, उमेर, योनि चनाको अवयवमा आएको फरकले झोलुङ्गे आधारलाई कमजोर बनाउँछ । फलस्वरूप त्यसले दिएको टेवाले मूत्रथैलीभित्र बढेको चापलाई धान्न सक्दैन, मूत्रनली खुल्छ र पलभरमै पिसाब चुहिन्छ । पेटभित्र एक्कासी चाप बढ्दा पिसाब संयम (नचुही) रहन कम्तीमा तीन प्रक्रिया तथा प्रणाली समर्थित हुन्छन् ।

सर्वप्रथम पेटभित्र एक्कासी बढेको चाप मूत्रनलीको सुरुको भागमा प्रेषित हुनासाथै मूत्रनलीको मुन्द्रा आकारको मांसपेशी निर्मित बाहिरी ढोका सुरक्षा दिने प्रतिक्रियाको सहयोगले तुरुन्तै खुम्चन्छ । फलस्वरूप अस्थायी रूपमै भए पनि पिसाब चुहिनुबाट रोक्छ । पेटभित्रको चाप मूत्रनलीको सुरुतिर सञ्चार हुँदैमा त्यसलाई सम्पूर्ण मूत्रनलीभित्र बढेको चापको कारण मान्न सकिन्न । किनकि मूत्रनलीभित्रको चाप खोकीको चाप प्रेषण हुनु अगावै बढिसक्छ । त्यसले के देखाउँछ भने महिलामा पिसाब नचुहिने भनेको सक्रिय स्नायु प्रणाली मेक्यानिजम यन्त्र क्रिया हो ।

पेटबाट प्रेषण भएको चापले मूत्रनलीको लचिलो अग्रभागलाई पछाडिको दह्रो भागतिर धकेलेर थिचिदिन्छ । तर मूत्रनलीको पछाडिको भागलाई दह्रो रहन प्रशस्त मात्रामा कटीको मांसपेशी र संयोजक तन्तुको आधार हुनुपर्छ । त्यसैले महिलामा पिसाब नचुहिनु भनेको मांसपेशीको सक्रिय स्थिति, कडापन र निष्क्रिय शारीरिक समायोजन कार्यको परिणाम हो ।
पिसाब चुहिने महिलाहरूमा मूत्रनली तथा त्यसलाई आधार दिने वरिपरिका मांसपेशीको सक्रियतामा कमी देखापर्छ । त्यसको अलावा ती मांसपेशी लुलो हुँदै जान्छन् । थप मूत्रनलीभित्रका झिल्ली जसले आपसमा टाँसिएर पिसाब नचुहिनुका निम्ति ३० प्रतिशत शक्ति प्रदान गर्छन्, त्यस्तो जोल्ठिने गुणको पनि अभाव हुँदै जान्छ । महिलामा चापसम्बद्ध पिसाब चुहिने अवस्थाको मुख्य कारण कटीको समतल भागको मांसपेशी, स्नायुहरू, संयोजक तन्तुजस्ता महत्त्वपूर्ण अङ्गमध्ये एक वा प्राय:जसो सबैको क्षति हुनु हो ।

महिलामा चाप सम्बद्धको अलावा एउटा अर्को यस्तो पिसाब चुहिने स्थिति हुन्छ, जसमा पिसाब नलागुन्जेलसम्म एक्कासी पेटभित्र चाप बढ्दैमा पिसाब चुहिन्न । तर जब महिला पिसाब फेर्ने अनुभव गर्छिन्, तब उठेर जाँदाजाँदै बीचैमा पिसाब चुहिने गर्छ । यस्तो अवस्थामा जति बल गर्दा पनि पिसाब रोक्नै सकिन्न । यो अविलम्ब मूत्र चुहिने कारण एक्कासी मूत्रथैलीको मांसपेशी खुम्चिनु र थैलीको घाँटी र मूत्रनली खुल्नु हो । यस्तो पिसाब चुहिने समस्या महिलामाझ १६ प्रतिशत देखापर्छ ।

माथि उल्लेखित दुबै थरीका पिसाब चुहिने समस्याको मिश्रण आफैमा अर्को प्रकारको समस्या हो, जो महिलामाझ ३४ प्रतिशत देखापर्छ । यस्तो पिसाब चुहिने समस्यामा योनिको खुकुलोपन र योनि वरिपरिको संरचनामा विकसित भएको शिथिलताबाट उत्पन्न हुने गर्छ ।

रोग पहिचान
पिसाब चुहिने समस्याको निर्णायक सूचना महिलाबाटै पाइन्छ । कहिलेदेखि ? के चुहिने पछिल्लो समय बढ्दै गएको छ ? चाप सम्बद्ध मूत्र चुवाहट कुन अवस्थामा देखापर्छ ? महिलालाई यो समस्यासँग जुध्न कति गाह्रो छ ? मूत्रथैली तथा जनेन्द्रिय अङ्ग आफ्नो ठाउँबाट कति तल झर्छन् ? के दिसा त्याग्नुमा समस्या छ ? पारिवारिक तथा सामाजिक कार्यमा सहभागी हुन कति बाधा छ ? इत्यादि । यस्ता विभिन्न प्रश्नको उत्तर बिरामीबाट बेलिबिस्तार सहित संकलन गर्नुपर्छ ।

शारीरिक जाँच गरेर चिकित्सकले मूत्रथैली तथा जनेन्द्रियका अङ्ग योनिको ढोकाबाट कति टाढा भित्र वा बाहिर छन्, त्यसको यकिन लिखित राख्नुपर्छ । झरेको अङ्गको परिमाण यकिन गर्न शल्य उपचारको निम्ति अनिवार्य हुन्छ । शल्य उपचारको उद्देश्य चापसम्बद्ध पिसाब चुहिने महिलामा झरेका अङ्गआफ्नो ठाउँमा राख्नु महत्त्वपूर्ण हुन्छ ।

पुरातन उपचारको कमजोरी

यो उपचार विधिको मुख्य लक्ष्य बिरामीको आचरणमा परिवर्तन गरी पिसाब चुहिने समस्यामा कति कमी ल्याउन सकिन्छ, त्यसको पहिचान गर्नु हो । त्यसको निम्ति खानपिन तथा तरल पदार्थको मात्रा नियन्त्रण गर्ने, तौल उचाइको अनुपातमा मेल खानेगरी राख्ने, कब्जियतसँग जुध्न रेसायुक्त खाना तथा फलफूल र हरियो सागसब्जी खाने, मलद्वार तथा योनिको मांसपेशीलाई शारीरिक कसरत गरेर कसिलो राख्न प्रयत्न गर्ने, मधुमेह, उच्च रक्तचाप तथा ढाड–कम्मर दु:ख्ने समस्या हुनेले शारीरिक कसरतसँगै विशेषज्ञको सल्लाहमा उपचार गर्ने, आचरण परिवर्तनको साथै औषधी प्रयोग गरेर पिसाब चुहिने समस्यालाई न्यूनीकरण गर्ने र छालामा प्वाल पारेर स्नायु तथा मांसपेशीलाई विद्युतीय शक्तिले उत्तेजित पारेर वा मूत्रनलीमा यन्त्र राखेर पिसाब चुहिनुबाट केही राहतको प्रयत्न गर्नुपर्छ । पुरातनवादी उपचारमा प्रयोग हुने जुक्ति तथा उपकरण सबै बिरामी–मैत्री हुन्नन् । उपलब्ध फाइदामा सन्तुष्ट हुने महिलाहरूको संख्या उच्च नभएकाले तुरुन्त देखिने फाइदा लिन शल्य उपचार अँगालिने गरिन्छ ।

शल्य उपचार विधि
शल्य उपचारबाट महिलाहरूको पिसाब चुहिने समस्याको समाधान खोज्ने प्रयत्न सन् १९०७ देखिनै हो । मूत्रनली र थैलीको घाँटी तल सरेर पिसाब चुहिने समस्या हुन्छ भन्ने त्यसबेलाको विश्वास अनुसार शल्य उपचार मूत्रथैलीको घाँटीलाई स्थिर ठाउँमा पुर्‍याएर सिलाउने कार्य गरियो । यस्तो शल्यक्रियाले निकै फाइदा महसुस गरायो । तर आशा गरेजति दीर्घकालीन लाभ हुन सकेन । त्यसैले शल्य उपचारको सुधार गर्दै लगियो । पछिल्लो समयको विश्वास अनुसार मूत्रनलीको बीचको भागलाई मांसपेशी र तन्तुको पट्टाले बनेको झोलुङ्गे आकारको संरचनाले अड्क्याएर राखेको हुन्छ । यो शारीरिक बनोटको विशेषतालाई ध्यानमा राखेर आजभोलि ‘टी.ओ.टी’ शल्य उपचार चापसम्बद्ध पिसाब चुहिने महिलामा उपयोग गरिन्छ । यो विधि अहिलेसम्मकै उत्तम विधि मानिन्छ ।

यस्तो शल्यक्रियापछि महिलाहरू दोस्रो वा तेस्रो दिन अस्पतालबाट बिदा हुन्छन् । दैनिक कार्यमा २ देखि ३ दिनपछि नै संलग्न हुन सक्छन् ।
– कान्तिपुरबाट

(डा. भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।)

प्रतिक्रिया
सम्बन्धित