मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

४० नपुग्दै महिनावारी बन्द भयो भने के असर पर्छ ? यस्ता छन बच्ने उपाय

दैनिक नेपाल २०७४ पुष २१ गते १५:४४

– डा. गणेश दंगाल

महिनाबारी वा मासिक धर्म स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । साधारणतया किशोरीहरूमा १४ वा १५ वर्षको उमेरमा मासिक धर्म सुरु हुन्छ । मासिक धर्म बढीमा ४५ वर्षको उमेरसम्म हुन्छ । रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू हुन्छन् । धेरैजसो यस्ता परिवर्तनहरू विशेष र सामान्य प्रकारका हुन्छन् । र महिलालाई यो अवस्थामा खासै असुविधा हुँदैन । तर कसै कसैलाई भने यी परिवर्तनहरू कष्टकर हुन्छन् । महिलामा महिनावारी अकस्मात बन्द हुन्छ भने कसैमा एक दुई वर्षभित्र बन्द हुन्छ ।

रजनोवृतिपछि महिलामा उत्साहको कमी हुने, शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरको विभिन्न भागमा पीडा हुने, बेचैनी हुने र डिप्रेसन हुनेजस्ता लक्षण देखा पर्न सक्छन । यी सबै लक्षणहरू डिम्ब ग्रन्थीहरूले काम नगर्ने भएकाले र महिला हर्मोनको कमीले हुने गर्छ । यीबाहेक तनाव हुने, मुटुको धड्कन बढ्ने, चिडचिड पसिना आउने, छाला चाउरी पर्ने । हड्डी कमजोर हुने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन । यदि ४० वर्षभन्दा कम उमेरमा रजानोवृत भएको खण्डमा यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ । कुनै महिलामा कुनै किसिमको रेडिएसन दिनु पर्दा केमोथेरापी गर्दा प्रयोग हुने औषधि प्रयोग भए वा कुनै किसिमको शल्यक्रिया गरिरहेको अवस्था वा बंशानुगत कारणले पनि समयपूर्व रजनोवृति हुन सक्छ । रजनोवृति चाँडै हुनुको कारण शरीरमा विकसित भइरहेको वा विद्यमान कुनै रोग पनि हुन सक्छ । धेरैजसो महिलामा रजनोवृति हुनुअघि नै असजिलो वा अप्ठेरोका लक्षण देखा पर्न थाल्छन् । रजनोवृति हुनुभन्दा एक वा दुई वर्ष पूर्व देखा पर्ने लक्षणले जीवन बढी कष्टकर भएको महसुस गराउँछ । जव महिलाको शरीरमा आवश्यक अर्मोनको स्तर खस्कन्छ त्यतिबेला देखि नै लक्षणहरू देखा पर्ने र विस्तारै हराएर जाने हुन सक्छ । कतिपय महिलामा आक्कलझुक्कल गर्मी महसुस भई पसिना आउने, मानसिक चिन्ता बढ्ने, निराशापन बढ्ने लक्षणहरू रजनोवृति भएको केही वर्षपछिसम्म देखा पर्न सक्छन् । रजनोवृतिपछि महिलामा हुने अन्य शारीरिक परिवर्तनहरू निम्नअनुसार हुन सक्छन् ।

१. मूत्रासय र मूत्र नलीमा हुने परिवर्तनको कारणले पिसाब छिटोछिटो लाग्ने, पौलने, नरोकिने र संंक्रमण हुने हुन सक्छ ।

२. यौनांगमा हुने परिवर्तनले यौनी सुक्खा हुने, यौन सम्पर्क कष्टकर हुने तथा संंक्रमण हुने आदि हुन सक्छ ।

३. तौल, उच्च रक्तचाप, कोरस्टोल आदि बढ्न हुनाले हृदयोगको खतरा हुन सक्छ ।

रजनोवृतिका लक्षणहरूबाट छुटकारा पाउनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

१. धूमपान तथा मद्यपान बन्द गर्ने ।

२. स्वस्थ आहार फाइवरयुक्त खानेकुरा, सागसब्जी तथा फलफूलसहित सन्तुलित खाना खाने ।

३. तौल घटाउने तथा नियमित व्यायाम गर्ने ।

४. यौनी सुक्खा भएमा नरमपन बनाउने क्रिम, जेली वा स्टाजन क्रिम प्रयोग गर्ने ।

५. मल्टिभिटामिन तथा क्याल्सियम चक्कीहरू पनि सेवन गर्न सकिन्छ ।

६. हर्मोन रिप्लेसमेन्ट थेरापी चिकित्सकको सल्लाहमा लिन सकिन्छ ।

नेपालमा रजनोवृतिसम्बन्धी अध्ययन तथा अनुसन्धान धेरै भएका छैनन् । धेरै नभएकाले विश्व स्वास्थ्य संगठनको सहयोगमा गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालको भित्री मधेस कपिलवस्तुका एक हजार महिलामा गरेको अनुसन्धान र नेपाल रजनोवृति समाजले काठमाडौंका दुई हजार महिलामा गरेको अनुसन्धानले धेरै महिलामा रजनोवृतिसम्बन्धी ज्ञान र चेतनाको कमी भएको पाइएको छ । धेरै कमलाई मात्र रजनोवृति एउटा समस्या पनि हुन सक्छ भन्ने जानकारी पाइयो । ४० देखि ४४ वर्ष उमेरसमूहका अधिकतम ५० प्रतिशत माथिलाई रजनोवृति भएको पाइयो । रजनोवृतिको औसत उमेर ४८ वर्ष भएको पाइयो ।

अध्ययनमा अधिकतम महिलामा ७० देखि ८० प्रतिशत शारीरिक, तथा मानसिक शिथिलता तथा यौनसम्बन्धी समस्या, मूत्र प्रणालीसम्बन्धी समस्या, मांसपेशी तथा जोर्नीमा हुने समस्या पाइयो । मांंसपेशी तथा जार्नीसम्बन्धी समस्या, यौन समस्या, स्वास्थ्य शिक्षा दिइनुपर्ने तथा स्वास्थ्य सेवा प्रदायकहरूलाई रजनोवृतिका समस्या भएका महिलालाई कम्प्रिहेन्सिभ उपचार तथा व्यवस्थापनसम्बन्धी थप तालिमहरू दिइनुपर्ने निष्कर्ष निकालेका छन् । – हेल्थ टुडे

(डा.दंगाल काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ हुन् । )

प्रतिक्रिया
सम्बन्धित