मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

‘जनतासँग सांसद’ कार्यक्रम सुरु गर्छुः एमालेका नवनिर्वाचित सांसद महत

दैनिक नेपाल २०७४ मंसिर २६ गते २२:५३

कावासोती, २६ मंसिर । चुनाव जितेकाहरुलाई फुलमाला अबिर लगाउन भ्याइनभ्याइ छ । नवलपुर क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट सांसद भएका तिलक महतले जनतासँग साक्षात्कार गर्न ‘जनतासँग सांसद’ कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

३९ हजार ५३ मत सहित प्रतिष्पर्धी भन्दा एक हजार ३३३ मत बढी ल्याएर सांसद बनेका महतले कम्तीमा बर्षमा एक वडामा दुई पटक ‘जनतासँग सांसद’ कार्यक्रम सञ्चालन गर्ने बताए । स्थानीय मुद्दा र आवश्यकतालाई सम्बोधन गर्न र जनतासँग सात्क्षाकार हुने भएकाले यो कार्यक्रम सुरु गर्ने उनले बताए ।

‘मैले स्थानीय प्रतिबद्धतामै उल्लेख गरेको छु स्थानीय जनतासँग म हुन्छु’ उनले भने, ‘जनताका काममा कसैले पनि ढिला सुस्ती गर्न हुँदैन त्यसले पनि म काममै हुन्छु ।’ युवाहरु विदेश होइन स्वदेशमै रोजगार सृजना गरि समृद्ध देश बनाउन कटिबद्ध भएर लाग्ने बताएका छन् । आर्थिक विकास र समृद्धिको आधार नवलपुर भएको दावीका साथ काममा लागेका उनी बताउँछन् । सुन्दर र समृद्ध नवलपुर निर्माणमा लागेका महत भन्छन्, ‘सडक, बिद्युत, पर्यटन, औद्योगिककरण, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासले नवलपुरलाई समृद्ध बनाउछु ।’

त्रिवेणीदेखि नवलपुर हुँदै डेढगाउँ पोखरा कोरला नाका सडक निर्माण गरि भारत र चीन जोड्ने राजमार्ग बनाउने उनले बताए । उनले थपे, ‘स्थानीय उत्पादन र रोजगारका लागि यो सडक पहिलो प्राथमितामा छ ।’ अहिले सम्मका पार्टी जीवनमा सफल मानिएका महत यस पटक नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि संयुक्त बाम गठबन्धनका तर्फबाट विजयी भएका हुन् ।

को हुन् महत ?

गुल्मी जिल्लाको मुसीकोटमा बुवा डिलबहादुर महत आमा नन्दकली महतबाट २०२१ साल जेठ १२ गते जन्मेका तिलक महतको परिवारमा हाल आमा नन्दकली, श्रीमती लक्ष्मी पौडेल र छोरी श्रद्धा महत छन् । महतले बाग्लुङ जिल्लाको भानु माध्यमिक विद्यालयमा प्रारम्भिक र माध्यमिक शिक्षा हासिल गरेका हुन् ।

विस २०३९ सालमा कावासोती बसाईसराई गरी आएका महतको परिवारले कावासोतीलाई आफ्नो कर्मथलो बनाउन थाल्यो । कम्युनिष्ट राजनीतितर्फ आकर्षित महत २०४५ मा कुमारवर्ती वाणिज्य क्याम्पसमा अध्ययन गर्न थालेपछि अनेरास्ववियुमा संगठित भई विद्यार्थीको नेतृत्व गर्दै राजनीतिमा होमिए । क्याम्पस कमिटिको अध्यक्ष हुदै निरकुंश पञ्चायत विरुद्धको आन्दोलनको मोर्चामा उनले नेतृत्वदायी भूमिका खेले ।

२०४६ सालको बुहदल घोषणासँगै खुल्ला राजनीतिक रुपमा उनले स्थानीय पार्टी र विद्यार्थीको मोर्चा एकै पटक सम्हाल्ने मौका पाए । कावासोती गाउँ कमिटिको सचिवको जिम्मेवारी सम्हालेका उनी २०४८ सालमा अनेरास्ववियुको अध्यक्ष भएर लगातार दुई कार्यकाल विद्यार्थीको जिल्लामा नेतृत्व गरे । २०४८ सालको निर्वाचनमा लुम्बिनी अञ्चलमा एक मात्र सिट जित्ने ठाउँ नवलपरासीको क्षेत्र नम्बर २ रह्यो । जसमा उनले विद्यार्थी मोर्चाको नेतृत्व गरेका थिए ।

२०४९ सालमा भएको स्थानीय निर्वाचनमा महतको गाउँ विकास समिति कावासोतीमा एमालेले अध्यक्ष उपाध्यक्ष सहितको टोली विजयी भयो । यसमा उनको पार्टी र विद्यार्थी दुवै मोर्चामा सक्रियता थियो ।

सरल र निष्ठावान महत विपक्षीहरुका बीचमा पनि लोकप्रिय युवा नेताको रुपमा आफ्नो छवि स्थापित गर्न सफल भएका छन् । विद्यार्थी राजनीतिबाट आएका हुनाले उनलाई जिल्लामा बौद्धिक र तार्किक नेताको रुपमा समेत व्याख्या गर्नेहरुको भीड रहेको छ । अनेरास्ववियुको केन्द्रीय सदस्यबाट विद्यार्थी राजनीतिलाई छोडेर पूर्ण रुपमा पार्टी राजनीतिमा लागेका उनी २०५५ सालमा एमालेको जिल्ला कमिटि सदस्य बने ।

जिल्ला कमिटि सदस्य हुदै पार्टीको कार्यालय सचिव बनेका महत झण्डै १० बर्ष भन्दा बढी कार्यालय सचिवमा काम गरे । उनले २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको जिल्लामा नेतृत्वदायी भूमिका खेले ।

२०६४ सालको संविधान सभाको निर्वाचनमा नवलपरासीको सबै क्षेत्रमा एमालेले विजय हासिल गर्न सकेन । ६ निर्वाचन क्षेत्र रहेको नवलपरासीमा शुन्य सिटमा एमाले पुगेपछि त्यसको बाघडोर सम्हाल्ने जिम्मा २०६५ सालमा कावासोतीमा भएको छैठौँ जिल्ला अधिवेशनले अध्यक्षमा निर्वाचित गर्दै उनलाई दियो । काम अगाडि बढाउँदै लगेका महत २०६८ सालमा बर्दघाटमा भएको सातौँ अधिवेशनबाट दोस्रो पटक जिल्ला अध्यक्षमा निर्वाचित भए ।

पार्टी अध्यक्ष भएको आफू नउठेर चुनाव जिताउने अठोट गरेका महतले ६ निर्वाचन क्षेत्र मध्ये ३ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेर एमालेको शिर उँचो गराए । उनले भने अनुसार नै जिल्लामा काम गरेको भन्दै कार्यकर्ता पंक्तिमा उनी अझ लोकप्रिय बने ।

२०७१ सालको नेकपा (एमाले)को नवौँ महाधिवेशनले केन्द्रीय कमिटिको वैकल्पिक सदस्यमा महतलाई निर्वाचित ग-यो । राज्यको पुनसंरचना लगाएतको बिषयमा उनले नवलपुर क्षेत्रको अगुवाई गरे । प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा रहँदा नवलपुरलाई छुट्टै जिल्ला बनाउन र जिल्लाको सदरमुकाम कावासोतीमा तोक्न उनले नै अगुवाई गरे । प्रदेश नम्बर ४ को त्रिवेणीदेखि दुम्किबास हुँदै डेढगाउँ पोखरा कोरलासम्म पुग्ने सडक निर्माण गरी उत्तरको चीन र दक्षिणको भारत जोड्ने अभियानमा उनी क्रियाशील छन् ।

युवाहरु विदेश होइन स्वदेशमै रोजगार सृजना गरि समृद्ध देश बनाउन उनी कटिबद्ध भएर लागेका छन् । आर्थिक विकास र समृद्धिको आधार नवलपुर भएको दावीका साथ काममा लागेका छन् उनी । सुन्दर र समृद्ध नवलपुर निर्माणमा लागेका तिलक महत सरल, निष्ठावान, सुशासनका हिमायति हुन् । सडक, विद्युत, पर्यटन, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासले नवलपुरलाई समृद्ध बनाउने सपना बोकेका एक विकासप्रेमी लोकप्रिय र एजेण्डा भएका नेताका रुपमा महत स्थापित छन् ।

प्रतिक्रिया
सम्बन्धित