मंगलबार, ९ माघ २०७४
DainikNepal.com
मंगलबार, ९ माघ २०७४

बिना मगरको जनयुद्धदेखि संसदसम्मको यात्राः जो सेनाको चंगुलबाट भाग्यले बाँचेकी थिइन

‘शिवपुरीमा हत्या गर्न लैजाँदा ट्रकबाट खसेर बाँचेकी हुँ’

दैनिक नेपाल २०७४ मंसिर २५ गते ११:३४

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगरलाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो । राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट देखेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित हुने कञ्चनपुरकी पहिलो छोरी बन्न पुगेकी छन् । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी हुँदै बिना मगरले केन्द्रीय संसदमा पुग्ने पहिलो कञ्चनपुरकी छोरीको रेकर्ड बनाएकी छन् ।

नेपालको पछिल्लो राजनीतिक र सामाजिक परिवर्तनमा सहभागी भएर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल भएको नाम हो बिना मगर । १० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने नारकीय हिरासत जीवन बिताएको तथा मृत्युको मुखबाट बचेर बिना मगर अहिले जन्मभूमिको सेवामा समर्पित भइरहेकी छन् । राष्ट्रिय राजनीतिमा स्थापित हुँदाहुँदै पनि जन्मभूमि कञ्चनपुरलाई दुःख, समस्या र पीडाबाट मुक्त गर्दै यस क्षेत्रको विकासको प्रत्यक्ष अनुभूति गराउन बिना मगर लगातार सक्रिय छिन् ।

२०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी बिना मगरले पुनर्वासको अरनिको वस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन सुरु गरिन् । उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरिन् । समाज बुझ्ने चेतनाको विकास हुँदै जाँदा बिना मगरमा विद्रोह उत्पन्न हुँदै गयो । जन्मभूमिको पछौटेपन, गरीबी, असमानता, विभेद र राज्यको विभेदकारी नीतिले बिना मगरमा विद्रोही सोच जन्मायो ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर बिना मगर २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी) को आन्दोलनमा सक्रिय भइन् । जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन सुरु गरिन् । सुरुमा बिना मगरको सहभागिता जनकलाकारका रुपमा सांस्कृतिक कार्यक्रममा देखिएको थियो । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा २०५६ सालमा बिना मगरले महिलाहरूको हक अधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिकामा योगदान गरिन् ।

राजनीति यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं प्रस्थान गरिन् । काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आवद्ध भएर भित्रि रूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले काम गरिन् । क्याम्पस जीवनमा जुझारू नेतृको रूपमा स्थापित हुँदै बिना मगर राजधानीमा पनि लोकप्रिय हुँदै गइन् । तत्कालीन रत्नराज्य क्याम्पसको स्ववियू सदस्य पदमा पाएको अत्यधिक मतले बिना मगर विद्यार्थीमाझ लोकप्रिय रहेको प्रमाणित भयो । विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाको लागि संघर्ष गरिरहँदा उनलाई २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

देशमा घनिभूत ढंगले माओवादी आन्दोलन अगाडि बढिरहेको र तत्कालीन सत्ताले संकटकाल घोषणा गरेको बेला समेत बिना मगर राज्यसत्ताको केन्द्र काठमाडौंमा माओवादी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेकी थिइन् । राज्यको ब्यापक धरपकड र दमनबीच बिना मगर २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुप-यो । जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा बिना मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुप¥यो । सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुवाउने, पाइपले पिट्ने लगायतका अमानवीय यातना दिइएको थियो । सेनाको ब्यारेकमा २७ महिनासम्म कहिल्यै पेट भरिने गरी खान दिइन्नथ्यो । शरीरभरि यातनाका घाउहरू पाकेका थिए । फोहोरले शरीरभरि जुम्रा परेको थियो । ६ महिनासम्म त नुहाउन पनि दिइएको थिएन । नियमित समयमा दिसापिसाबसम्म गर्न पाइँदैनथ्यो । कठ्ङ्ग्रिँदो चिसो रातमा पनि एकसरो लगाएको कपडामा चिसो भुइँमा सुत्नु पर्दथ्यो ।

तत्कालीन शाही सेनाको हिरासतमा रहँदा २७ महिनासम्म नै चौबिसैं घण्टा आँखामा कालोपट्टि बाँधी हात पछाडिपट्टि बाधेर राखिएको थियो । बिना मगरसँग हिरासतमा रहेका धेरै सहयोद्धाहरू अझैं पनि बेपत्ता नै रहेको र उनी सेनाको प्राविधिक कारणले मात्र बाँच्न सफल भएकी हुन् । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि बिना मगर संयोगवश ब्यारेकमै छुटेकी थिइन् । जसको प्रतिफल बिना मगर आज हामीमाझ जीवित छिन् ।

पुनः दोस्रो पटक पनि भैरवनाथ गणबाट बेपत्ता पार्ने मनसायले बिना मगर लगायतका बन्दीहरूलाई शिवपुरी ब्यारेकमा सारिएको थियो । तर, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको खोज र दबाबका कारण बेपत्ता पार्ने योजनालाई सेनाले स्थगित गरेर स्थान परिवर्तन गरी गोरखा ब्यारेक लगेको थियो । पछि मानवअधिकारवादी र परिवारको खोजबाट बिना मगर गोरखा ब्यारेकमा रहेको थाहा भयो । उतिबेला मुलुकमा २०६२/६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतमा दर्ता गरिएको थियो । त्यसपछि अदालतले गैरन्यायीक हिरासतबाट बिना मगरलाई रिहा गर्न आदेश दिएको थियो । सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई वेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर बिना मगर रिहाइ भएकी हुन् । आफूसँगै हिरासतमा रहेर हत्या गरिएका र बेपत्ता बनाइएका सहयोद्धाको सपना पूरा गर्ने संकल्प बिना मगरको छ ।

देश बृहत् शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पार्टीले बिना मगरको कार्यक्षेत्र काठमाडौं नै तोक्यो । उनले २०६४ सालमा पुनः अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्षको जिम्मेवारी पाइन् । प्राप्त जिम्मेवारीलाई कुशल ढंगले पूरा गरेका र प्रतिकूल परिस्थितिलाई अनुकूलतामा ढाल्न सक्ने क्षमता भएका कारण अखिल क्रान्तिकारीले २०६४ सालको स्ववियू निर्वाचनमा बिना मगरलाई सरस्वति क्याम्पस लैनचौर काठमाडौंमा सभापतिको उम्मेदवार बनायो । अनेक प्रतिकूलताबीच नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतका साथ पराजित गरेर बिना मगर स्ववियू सभापतिमा विजयी भइन् । राजनैतिक यात्राको निरन्तरतामै विद्यार्थी आन्दोलनबाट बिदा भइ पार्टी आन्दोलनमा प्रवेश गरेपछि बिना मगरले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाइन् ।

पार्टी राजनीतिमा प्रवेश गरेपछि बिना मगरले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गरिन् । बाल्यकालमा जन्मभूमिमा देखेको अभाव र समस्याले बिना मगरलाई कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास गर्ने सोच बनेको हो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार भएकी बिना मगर झिनो मतान्तरले पराजित भइन् । मतदाता र स्थानीय जनसमुदायले देखाएको विश्वास र समर्थनले बिना मगरलाई पराजित भएर पनि कञ्चनपुरका जनताको सेवामा निरन्तर समर्पित गराइरह्यो । जसले गर्दा बिना मगरले पराजित भएर पनि व्यक्तिगत र पार्टीगत पहलमा १ नम्बर निर्वाचन क्षेत्रमा विकासका थुप्रै काम गरिन् । दृढ संकल्प र निरन्तर सक्रियताले मंसिर २१ गते सम्पन्न निर्वाचनबाट बिना मगरलाई सानदार जीत मिलेको छ ।

निर्वाचन प्रचारकै क्रममा रहेका बेला मंसिर ३ गते पति प्रकाश दाहालको मृत्युले पतिशोकमा परेकी बिना मगर विक्षिप्त भएकी थिइन् । तर, आफूलाई सम्हाल्दै बिना मगर १ हप्तापछि पुनः चुनावी प्रचारप्रसारमा सहभागी भइन् । बिना मगरले पतिशोकका बेला धित मरुञ्जेल रुन पनि नपाइ चुनाव प्रचारमा होमिनुप¥यो । जन्मभूमिको सेवा गर्ने दृढ संकल्पले बिना मगरलाई चुनावी प्रचारमा होमिन सहयोग ग¥यो । बिना मगरलाई प्राप्त भएको मतले उनीप्रति अधिकांश मतदाताले भरोसा र अपेक्षा गरेको प्रमाणित छ । त्यो अपेक्षालाई पूरा गर्नुपर्ने र कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा तीब्र विकास गर्नुपर्ने चुुनौति बिना मगरका सामुन्ने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित